उभौली पर्व

उभौली पर्व

By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
अप्रील 6, 2021

उभौली पर्वको परिचय 

उभौली पर्व, प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू, अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो, जस्को अर्को नाम “साकेला पर्व” पनि हो। आजको दिनदेखि यस पर्व, वा उभौली पर्व लाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै एक सातासम्म मनाउने गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि एक महिना भर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ।

किराँत समुदायले धुमधाम सँग मनाउने उभौली पर्वलाई, पृथ्वीमा “कृषियुग” सुरु भएदेखि नै मनाउदै आइएको एक पर्वको रुपमा मनाउने गर्ने गरिन्छ। र, यस पर्वको पहिलो दिन “चण्डी नाच” नाच्ने चलन छ, जुन नाच द्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ। 

यसरी  “चण्डी नाच” नाचिने पर्व भएकोले, यस पर्वको पहिलो दिनलाई “चण्डी पूर्णिमा” भनेर पनि चिनिन्छ र यो चाड बैशाखको “बुद्ध पुर्णिमा” को दिनमा पर्दछ। तर, किराँत समुदायहरूले धेरै समय अगाडी देखि मनाउँदै आएको यस चाड कुन समय वा कहिले देखि मनाउन शुरु भएको हो भन्ने बिषयमा कुनै सटिक प्रमाण अझै फेला परेको भने छैन।  

सांस्कृतिक महत्व र विभिन्न नामहरु 

किराँत समुदायले यस दिनलाई “सुम्निमा” अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मान्ने गर्दछन् यसै कारण यो पर्व सांस्कृतिक दृष्टिले समेत पनि अत्यन्तै महत्वपूर्ण रहेको छ। किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बू, लगायतका जातिहरूले यस उभौली पर्व / चाडलाई महान चाडका रुपमा मनाउने गर्दछन्। 

उभौली पर्वलाई किराँत समुदायका जातीहरुले ठाउँ बिशेष र आफ्नो बोल्ने भाषा अनुसार फरक-फरक नामले बोलाउने र चिन्ने गर्दछन्। यस समुदायको लिम्बूहरूले “चासोक” वा “यक्वा तङनाम”, राई र चाम्लिङजातीले “साकेला”, सुनुवारहरुले “फोलष्यादर” वा “ष्याँदरपिदार”, बान्तावाहरूले “साकेवा” वा “साकेन्वा”, र दुमीले “तोसी” वा “तोसु” इत्यादी नामहरुले ले उभौली पर्वलाई सम्बोधन गर्ने गरेको पाइन्छ। यसै गरि यस पर्वलाई याक्खाहरूले “युच्याङ” र थामी जातिले “भुम्या” नामले सम्बोधन गर्ने गरेको पनि पाईन्छ।  

नेपालमा किराँतहरुको वासस्थान 

नेपालमा किराँत जातिहरु विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका छन्, समान्यत  नेपालको पूर्वी भाग खोटाङ, भोजपुर, उदयपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलाम, पाँचथर लगायतका जिल्लाहरूमा किराँत हरुको वसोबास रहेको पाईन्छ। 

पछिल्लो समयमा  देशको राजधानी लगायत नखिपोट,  टुँडिखेल, जावलाखेल, वानेश्वरलगायत ठाउँमा समेतका उनीहरुको उपस्थिति रहेको छ भने विभिन्न उद्देश्यले किराँतहरुको बसोबास बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारत लगायतका देशहरुमा समेत उल्लेख्य मात्रामा रहेका छ। उभौलो पर्वको अबसरमा राजधानी, काठमाडौँमा बसोबास गर्ने किराँतहरु ललितपुरको हात्तीवनस्थित “साकेला थान” मा जम्मा भई पूजाआजा गर्ने गर्दछन्। त्यसै गरि किराँतहरूको बसोबास रहेको नेपाल बाहिर बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारत लगायतका देशमा समेत पनि यो चाडलाई भव्यताका साथ मनाउने गरिएको छ।  

उभौली पर्वका क्रियाकलापहरु र प्रकृति सँगको सम्बन्ध  

उभौली पर्वको अवसरमा, आजको दिन किराँती परम्परा अनुसार भूमि-पूजन गर्ने पुरानो चलन रही आएको। यो पर्व पुर्ण रुपमा मौसम र प्रकृति सँग सम्बन्ध राख्ने पर्वको रुपमा बुझ्न का साथै देख्न सकिन्छ। दक्षिनायनको झन्डै मद्द्य तिर, बैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भए पच्यात चिसो भू-भागतर्फ पनि तातो हुदैँ जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिस लगायत तिनका गोठहरु पनि मास्तिर सर्न थाल्ने चलन कतिपय स्थानमा अझै पनि चलन-चल्ती मा रहेको देख्न सकिन्छ। 

यसरि यस पर्वले मानिसहरु पुराना दिनहरुमा चिसो यामको सुरुवात संगै वासस्थान तल तिर सर्ने र तातो मौसम सुरु हुदा माथि लाग्ने जीवन शैलीको प्रतिनिधित्व तथा सम्झना गराउने गर्दछ। यसरी मौसम अनुसार तल (उधो) वा माथि (उभो) बास्थान सर्ने चलन थोरै नै भएपनि नेपालका केही भागहरुमा अझै पनि यथावत नै रहेको पाइन्छ। 

नेपालको समतल भाग तराई वा मधेशतिर गर्मी बढ्दै जादा माथिल्ला पहाडी र हिमाली भूभागहरुमा समेत मौसम तातिदै जान्छ। यसरी गर्मि बढ्दै जादा चराचुरुङ्गी, पशुपक्षी, कीराफट्याङ्ग्रा लगायत माछाहरू समेत पनि उभो अर्थात् लेकतिर बसाईं सर्छन भन्ने जन विश्वासका रहेको छ। र, यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदाय द्वारा मनाइने यस पर्व “उभो” सब्दबाट प्रेरित भएर “उभौली” को नामले चिनिने तथा मनाइने गरिएको हो। 

नेपालका किराँती समुदायले मनाउने पर्वहरु मद्ये “उभौली” र “उधौली पर्व”, यी दुवै पर्वहरु कृषि, पशुपालन र उनीहरूको जीवन पध्दतिहरू सँग सम्बन्ध राख्ने पर्वको रुपमा रहेका छन्। आज, वैशाख शुक्ल पूर्णिमा “उभौली पर्व” हो भने त्यसै गरि मंसिर शुक्ल पूर्णिमाको दिन भने “उधौली पर्व” मनाउने गरिन्छ। 

किराँती परम्परा अनुसार प्रकृतिमा उभौली सुरु भएपछि घामको तापले पृथ्वी तात्तिने र बीउविजन लगाउने कार्य गर्दा ति छिट्टो उम्रिने भएकाले यो समय/ यामलाई, उक्त समय अनुसारको बालीहरू लगाउने यामको रुपमा लिने गरिन्छ। र, उभौलीमा लगाइएको बाली उधौलीमा घर भित्र्याइने चलन पनि रही आएको देख्न सकिन्छ। किराँत समुदायका विभिन्न जातिहरूले एक वर्षलाई दुई भाग अर्थात् उभौली र उधौलीमा छुटयाउने गर्ने गर्दछन्। 

उभौली पर्व प्रकृतिको पूजा 

बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतहरूले उभौली भन्दछन् भने बाली तयार भएपछि बाली घर भित्राइने यामलाई उधौली भन्ने गर्दछन्। यी दुवै याममा, किराँत समुदायले प्रकृतिको पूजा-आजा गरी यी पर्वहरू मनाउने गर्दछन्। 

उनीहरुले उभौली पर्वमा पूजा-आजा गर्नु को मुख्य अभिप्राय पछाडी, आफ्नो साथसाथै सबैको अन्नबाली सप्रियोस्, सबैको बालीनाली राम्रो होवोस्, सम्पूर्ण पृथ्वीमा कहीँ कतै पनि खाद्यान्नको कमी इत्यादी कहिल्यै नहोस्, सम्पूर्ण पृथ्वीवासीहरूमा समेत सुख-शान्ति-सुस्वास्थ्य सधैँ रही रहोस्, दैवीप्रकोपका साथै प्राकृतिक विपत्तिहरू समेत नआऊन् भन्ने जस्ता शुभ-भावहरू नै महत्व को रुपमा रहेका हुन्छन्।

हाम्रो जस्तो कृषि प्रधान देश, त्यस् माथि पनि प्रकृतिको अनुपम सुन्दरता बोकेको नेपाल प्राकृतिक रूपमा अत्यन्तै धनि देश होईन भनेर नकार्ने व्यक्ति वा कुनै कारण देखाउने मान्छे बिरलै पाईएला पनि। धेरै वर्ष वा भनौ हजारौ-हजार वर्ष देखि नै हाम्रा पूर्खाहरूले मानिस प्रकृतिसँग कसरी तालमेल मिलाउदै यस जगतमा जिउन पर्छ भनेर सिकाउने कार्य हरेक नया पुस्तालाई हस्तान्तरण गर्दै आएका थिए कुरामा दुई मत छदै छैन। 

यस पृथ्वीमा वसोवास गर्ने मानव लगायत सम्पूर्ण खोला, नाला, हावा, पानी, रुख देखि किरा-फट्याङ्ग्रा, पशु-पन्छी सबै एक अर्काका परिपूरक हुन् भन्ने कुरा पनि पुर्खाहरू बाट पछिल्लो पुस्ताहरूलाई हस्तान्तरण गर्दै उनीहरुले जीवन बाच्ने र बिताउने विसुद्ध नियम सिकाएर गएका छन्। यस समुदायले प्रकृतिमा रहेका हरेक तत्व जस्तै भूमी, जल, अग्नी, आकाश, वायु, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गर्ने गर्दछन्।

यस पूजा-आजाको मूल सन्देश भनेको यी सबै तत्वहरू प्रति आभारी रहेर बाच्नु र सधै तिनीहरू सँग कृतज्ञ रहनु नै हो। उक्त सिकाई हरूबाट यस जगतका हरेक प्राणीले “प्रकृतिबाट विच्छेद भएर बाच्ने होइन, तर प्रकृतिसँग एकाकार भएर बाँच्नुपर्छ” भन्ने महत्वपुर्ण सन्देस समेत दिएको छ।  

थोरैनै भए पनि अहिलेको वर्तमान समयका व्यक्तिहरु भौतिक सुख, भौतिक वैभवहरूमा धेरै समय आफै हराएर कहिँ कतै नपुगेको भान हुन् थालेकाले होला वा माथि उल्लेखित संदेशहरूको मूल कारण / तत्व बुझेर भौतिक संसारको भागा-भाग बाट थाकेर फेरि उही पुरानै अद्यात्मिक विचार र प्रकृतिमै फर्कन थालेको सन्दर्भहरू उदाहरनिय छन्। 

पुराना पुस्ताले दिएका प्रकृतिवादले अहिलेका नया पुस्तालाई प्रकृतिसँगै एकाकार हुन प्रेरित गरिरहेको छ र प्रकृतिसँग आ-आफ्नो जीवनको लय मिलाउन सकेको खण्डमा जीवन सार्थक हुने मूल संदेश समेत पनि दिएको छ।

उभौली पर्व मनाउने तौर-तरिका 

किराँत समुदायको चाम्लिङ, सुनुवार, बान्तावा, लिम्बू, याक्खा लगायतका  जातिहरूको यो पर्वको पहिलो दिन सबैले आ -आफ्नो घर आगन लिपपोत गरेर शुद्ध बनाउने गर्छन। र, सबभन्दा महत्वपुर्ण पूजाका  रुपमा आफ्ना पुर्खाहरूले मानिआएको तीन चुल्हो ढुङ्गाको विधिपूर्वक पूजा-आजा गर्ने गर्दछन्। 

त्यसैगरी गाउँ, समाज, टोलमा धेरै पहिलेदेखि नै थपना गरी राखिएको साकेला थान, भूमेथान इत्यादी थान हरुमा भूमि तथा नागनगेनीको पूजाआजा गरिन्छ भने उक्त थान नभएको खण्ड वा ठाउँमा कटुसको हाँगालाई भुइँमा गाडेर थान स्थापना गरी भूमि र नागनगेनीको पूजाआजा गर्ने गरिन्छ।

पूजा आराधना गर्ने कार्य पुजारी “नागिरे-धाँमी” ले गर्ने गर्छन भने, यस्ता व्यक्ति पनि उपलब्ध नभएको खण्डमा पूजाको विधि बिधान सम्बन्धी ज्ञान भएका व्यक्तिले पूजा गर्ने गर्दछन् । यस पूजाको अवसरमा पूजाको लागी कुखुरा, सुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, फूल, पाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँडा लगायत विभिन्न सामग्रीहरुको आवश्यक पर्दछ। 

यस पूजा सम्पन्न गरेपछि सोहि थानको वरिपरि उपस्थित सबै सामूहिक रुपमा परम्परागत बाजा, ढोल, झ्याम्टा, इत्यादीको साथै अर्ना भैँसीको सिङ बजाएर नाच्ने चलन रहेको छ । यसरी पहिलो दिन पूजा स्थलमा नाचे पछि यस पर्व भरि त्यसपछिका दिनहरूमा अन्य स्थानमा जम्मा भई नाचेर रमाइलो गर्दै उभौली पर्व मनाइन्छ ।

उभौली पर्वको यस अवसरमा विभिन्न स्थानमा नाच्ने क्रममा नाचको चाल र हाउभाउहरुको माध्यमबाट ढोल वा झ्याम्टाको तालमा जीव, जनावर, चराचुरुङ्गीको नक्कल गर्ने लगायत खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली काटेको र त्यसलाई उठाएको जस्ता कृषि कार्यहरु हाउभाउहरुको माध्यमबाट प्रस्तुति र प्रदर्शन गर्ने गरिन्छ । 

यसका साथै ‘सिली टिप्ने’ नामबाट चिनिने नाचमा, कपासबाट धागो कातेको, काठको तानमा कपडा बुनेको, सिङ्गार-पटार गरेको जस्ता कार्यलाई पनि अभिनयका माध्यमबाट नाचमा प्रस्तुत गर्ने गरिन्छ। यसरी सिली टिप्ने वा नाच्ने तरिका स्थान र जाति अनुसार फरक हुने पनि गर्दछ। यसरी सिली टिप्ने नाच, कुनै स्थान मा छिटो वा कुनै स्थानमा बिस्तारै गरिन्छ भने यस नाच नाच्दा वा भनौ सिली टिप्दा अभिनय वा हाउभाउ मार्फत, पितृ र प्रकृतिसँग मेल खाने गीतहरू गाइने गरिन्छ जसले यस जतिको मौलिक विशेषता बोकेको हुन्छ। 

उभौली पर्वको अवसरमा नाचिने नाचहरूमा जातीय पहिचान झल्किने पहिरन लगाउने गरिन्छ। पुरुषहरुले कालो कोट, खाँडीको कपडा, अल्लोको धागोबाट बनेको दौरा-सुरुवाल, टोपी, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, कम्मरमा खुकुरी, हातमा चौरीको पुच्छर, लगायत सिन्कौली सेउली हल्लाउँदै, ढोल, झ्याम्टा बजाउँदै तिनकै तालमा नाच प्रस्तुत गर्ने गर्छन्।

यसै गरि महिलाहरु भने चौबन्दी चोलो, फरिया, पटुका, बिनायो, मुर्चुङ्गा, बुकिफूल, र कम्मरमा हँसिया सहित परम्परागत गरगहनाले सजिएर सिन्कौली सेउली हल्लाउँदै ढोल, झ्याम्टा आदी बजाउँदै तिनको तालमा नाच्ने गर्दछन्। यस नाच नाच्ने क्रममा महिला, पुरुष, बालक, वृद्धवृद्धा सबै जम्मा भएर गोलाकार स्वरुपमा नाच्ने गर्छन।

अन्त्यमा 

किराँत समुदायहरूले “सुम्निमा” र “पारुहाङ”ले सम्पूर्ण सृष्टि जगतको  रक्षा गर्छन् भन्ने विश्वास गर्ने गर्छन, त्यसै कारण यस उभौली पर्व सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गरून् भन्ने कामनाका साथ मनाउने गरिन्छ। अन्नबाली लगाउने समयमा मनाइने यस उभौली चाड बालीनालीमा रोगव्याधि नलागोस्, बाढी-पहिरोजस्ता प्राकृतिक प्रकोपबाट हानी-नोक्सानी नहोस भन्ने कामनाका साथ मनाउने चलन रहेको छ। 

यस पर्वको अवसरमा बालिनालीका रक्षक तत्वहरू जस्तै प्रकृति, हावा-पानी, देवी-देवता र पृथ्वी/भुमि को पूजा गर्ने गरिन्छ। यस पर्वमा साकेला नाच नाच्दै, शुद्ध तन, मनले ढोल, झ्याम्टा, धनुकाँडको अदुवा, मर्चा आदिले सृष्टिकर्ता र प्रकृतिको पूजा गरेपछि बालिनाली राम्रो हुनुका साथै सबैको कल्याण हुन्छ भन्ने मान्यता रही आएको छ ।

यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Comments

    रमेश राई

    उभाैउलि धानेपुरने हाे त हजुर

    Harka bahadur rai

    sabai rai jatiharuko bolne bhasha pharak bhayako huda kunai eauta raiko bhashalai samuhik banauda ramro hunthyo hola.

    अज्ञात
    Krishna kumar das

    krishna kumar das

    Ramit .s.k

    nepal

    . ramit .sk

    nepali

    Bijaya Rai

    hamro patro ramro lagxa

    mina rai

    ati ramro rai samuday ko ubhaoli Chandi ko bare ma bataonu bhayko ma nepali patro lai aabhar baykta gardaxu mina

    अज्ञात

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!