इन्दिरा एकादशी

इन्दिरा एकादशी

By Nepali Patro
सेप्टेम्बर 16, 2025

वर्षभरि आउने २४ एकादशीमध्ये आश्विन कृष्ण पक्षमा पर्ने इन्दिरा एकादशीलाई पितृ उद्धार एकादशी पनि भनिन्छ। यो एकादशी सोह्रश्राद्ध (पितृपक्ष) को अवधिमा पर्ने भएकाले पितृहरूको मोक्षका लागि अत्यन्त फलदायी मानिन्छ। यस दिन व्रत गरी विष्णु भगवानको पूजा गरेमा नरकमा रहेका पितृहरूलाई वैकुण्ठ प्राप्ति हुने धार्मिक विश्वास छ।

पद्म पुराण अनुसार इन्दिरा एकादशीले सम्पूर्ण पापको नाश गरी मोक्ष प्रदान गर्दछ। श्रीकृष्णले युधिष्ठिरलाई यो व्रतको माहात्म्य सुनाउँदै भन्नुभएको छ कि जसले यो एकादशीको श्रद्धापूर्वक व्रत बस्दछ, उसका पितृहरू नरकमा भए तापनि स्वर्गमा जान पाउँछन्।

व्रत विधि

इन्दिरा एकादशी व्रत दशमी तिथिबाट सुरु हुन्छ। यस दिन बिहानै ब्रह्ममुहूर्तमा उठेर नदी, इनार वा जलाशयमा स्नान गरी सूर्यलाई अर्घ्य दिई शुद्ध वस्त्र धारण गरिन्छ। त्यसपछि नित्य पूजा गरेर पितृहरूको श्रद्धापूर्वक श्राद्ध गरिन्छ र एकपटक भोजन गरिन्छ। भोलिपल्ट, एकादशीको दिन पनि बिहानै स्नान गरी व्रतको सङ्कल्प गरिन्छ र पद्मनाभ भगवानलाई धूप, दीप, गन्ध, पुष्प र नैवेद्य अर्पण गरी पूजा गरिन्छ। अपराह्नमा पितृहरूको पुनः श्राद्ध गरी ब्राह्मणलाई फलाहार गराई दक्षिणा दिइन्छ, र बाँकी अन्नगोल गाईलाई खुवाइन्छ। बेलुकी एकादशी माहात्म्य वाचन वा श्रवण गरिन्छ र रातभर जाग्राम गर्दै विष्णु भजन गाइन्छ। अन्तमा, द्वादशीका दिन बिहान स्नान गरी ब्राह्मणलाई भोजन गराएर आफू पनि मौन रही भोजन गरी व्रत सम्पन्न गरिन्छ।

राजा इन्द्रसेनको कथा

प्राचीनकालमा महिषमती नामको राज्यमा धर्मात्मा राजा इन्द्रसेनले शासन गरे। उनी विष्णुभक्त थिए र प्रजालाई धर्ममार्गमा चलाउने कर्तव्यनिष्ठ राजा रहे। उनी धनी, सम्पन्न र प्रजा–प्रिय थिए। एक दिन जब राजा इन्द्रसेन दरबारमा छलफलमा थिए, आकाशमार्ग हुँदै नारद मुनि त्यहाँ आइपुगे। राजाले विनम्रतापूर्वक मुनिलाई स्वागत गरेर कुशल प्रश्न गरे। त्यसपछि नारद मुनिले राजा इन्द्रसेनसँग विशेष सन्देश ल्याएको बताए।

नारद मुनिका अनुसार, उनी ब्रह्मलोकबाट यमलोक गएका बेला यमराजले आदरपूर्वक स्वागत गरेका थिए। त्यहीँ उनले राजा इन्द्रसेनका दिवंगत पितालाई दुःखी अवस्थामा देखेका थिए। सोधपुछ गर्दा थाहा पाए कि उनले पूर्वजन्ममा एकादशीको व्रत तोडेका थिए, जसको फलस्वरूप उनी यमलोकमा दुःख भोगिरहेका थिए। नारद मुनिले राजा इन्द्रसेनलाई पिताको सन्देश सुनाए: “हे पुत्र! यदि तिमीले आश्विन कृष्ण पक्षको इन्दिरा एकादशीको व्रत मेरो नाममा गर्यौ भने, म पापमुक्त भएर स्वर्ग जान सक्छु।”

यो कुरा सुनेपछि राजा अत्यन्त दुःखी भए र तुरुन्तै व्रत बस्ने सङ्कल्प गरे। नारद मुनिले उनलाई सम्पूर्ण व्रत विधि विस्तारमा बताए। राजा इन्द्रसेनले दशमीदेखि द्वादशीसम्म विधिपूर्वक व्रत बसे। व्रत सम्पन्न भएपछि आकाशबाट फूल वर्षा भयो र उनका पिताले वैकुण्ठ प्राप्त गरे। अन्ततः राजा इन्द्रसेनले पनि दीर्घकालसम्म निष्कण्टक शासन गरे र छोरालाई राज्य सुम्पेर स्वर्ग गएका थिए।

 

स्रोत: वैदिक संस्कार र हाम्रा चाडपर्वहरू  – गोविन्दचन्द्र सुबेदी

Related Posts

ग्याल्पो लोसार

फ्रेवुअरी 27, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

महाशिवरात्रि

फ्रेवुअरी 26, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

विजया एकादशी

फ्रेवुअरी 11, 2018
By प्रा.डा. देवमणि भट्टराई

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ