No Image
नेपाली पात्रो > चाडपर्व > श्रीपञ्चमी – सरस्वती पूजा

श्रीपञ्चमी – सरस्वती पूजा

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
मार्च 21, 2017

श्रीपञ्चमी -सरस्वती पूजा — माघ शुक्लपक्षको पञ्चमी तिथिलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी भनिन्छ। ‘श्री’ भन्नाले विद्या, बुद्धि र वाणीकी अधिष्ठात्री देवी सरस्वतीलाई बुझिन्छ। श्रीपञ्चमीमा देवी सरस्वती पूजा –आराधना गर्ने विधान छ। वैदिक कालमा वसन्त ऋतुको मधुमास (आर्तव चैत्रमास) मा यो पर्व मनाउने गरेको प्रमाण पाइन्छ। कालान्तरमा वार्हस्पत्य संवत्सरको लौकिक पञ्चाङ्ग चलनमा आएपछि माघ शुक्ल पक्षको पञ्चमी तिथिमा श्रीपञ्चमी / सरस्वती पूजा मनाउन थालियो।

श्रीपञ्चमी तथा सरस्वती पूजा

वैदिक युगमा जब वृक्षहरूमा नयाँ पालुवा आउँथे, सुन्दर फूलहरू फुल्नुका साथै चारैतिर सुगन्ध आउन थाल्थ्यो, रंगीबिरंगी पुतलीहरू उड्न थाल्थे, गहुँ–जौलगायत बालीहरू लहलहाउँथे र कोइलीहरू गाउन थाल्थे, उसैबेला वसन्त ऋतुको आगमन हुन्थ्यो र ऋतुराजको स्वागतार्थ वसन्तोत्सव मनाइन्थ्यो। यही समयमा ब्रह्मवेत्ता ऋषिहरूले अग्न्याधान गरेको प्रसंग ‘ब्राह्मणो वसन्ते अग्नी आदधीत…’ इत्यादि वैदिक मन्त्रले उद्बोधन गरेको पाइन्छ। मधुमासको शुक्ल पञ्चमी तिथिमा आफ्ना अङ्गनासहित विष्णु र कामदेवको पूजा गर्ने गरिन्थ्यो। शास्त्रहरूमा उक्त पञ्चमीलाई ‘ऋषिपञ्चमी’ भनिएको छ। कालान्तरमा मधुमासको सट्टा शिशिर ऋतुमा पर्ने निरयण माघ शुक्ल पञ्चमीमा पर्व मनाउन थालिए पनि यसको नामचाहिँ वसन्तपञ्चमी नै रहन गयो। सर्वप्रथम भगवान् श्रीकृष्णले श्रीपञ्चमी मा सरस्वती पूजा गर्ने चलन बसाएको प्रसंग पुराणहरूमा पाइन्छ।

पुराणकै एक प्रसंगअनुसार ऋतुराज वसन्तलाई अन्य पाँचवटा ऋतुले आफ्ना भागबाट आठ–आठ दिनको समय उपहार दिएकाले संसारलाई हराभरा बनाई खुसी बाँड्न आफ्नो नियत समयभन्दा ४० दिनअगावै वसन्त ऋतुले पाइला टेक्ने विश्वास गरिन्छ। यसर्थ लोकव्यवहारमा श्रीपञ्चमीलाई वसन्तपञ्चमी भन्ने गरिन्छ।

देवी सरस्वतीको जन्म सृष्टिको प्रारम्भमा ब्रह्माजीको मुखबाट भएको थियो। उनै ब्रह्माजीका चार मुखबाट सम्पूर्ण ज्ञान–विज्ञानका स्रोत चार वेद प्रकट भएका हुन्। पौराणिक आख्यानअनुसार वनस्पति र पशुपक्षीको सृष्टि गरिसकेपछि भगवान् विष्णुको आज्ञाअनुसार संसार चलाउन ब्रह्माजीले विशेष जीवको सृष्टि गर्नुपर्ने भयो। मनुष्य योनि रचना गर्न ब्रह्माजीलाई निकै सकस परेको थियो। सुरुको प्रयासले सन्तोषजनक परिणाम नदिएपछि निराश हुँदै कमण्डलुको जल हातमा लिएर छर्किएपछि श्रीपञ्चमी कै दिनमा दिव्य चतुर्भुज स्वरूपमा देवी सरस्वतीको आविर्भाव भएको हो।

सेतो वर्ण भएकी, सेतै वस्त्रमा सजिएकी, श्वेतपद्मासनमा बसेकी हातमा वीणा, पुस्तक र स्फटिक–माला धारण गरेकी राजहंसमा आरूढ भगवती अभय मुद्रामा मन्द मुस्कानका साथ दिव्य ज्ञानको आलोक छर्दै ब्रह्माजीका सम्मुख प्रकट हुनुभयो। यसरी प्रकट भएपछि ब्रह्माजीका आज्ञाअनुसार जब भगवतीले वीणा बजाउनुभयो अनि संसारमा शब्द र वाणीको प्रादुर्भाव भयो। सम्पूर्ण प्राणी बोल्न लागे। चरा र कीटपतंग कलरव गाउन लागे। पानीमा कलकल र हावामा सरसर आवाज आउन थाल्यो। भगवतीका वीणाको झंकारले संगीतको सारेगम उत्पत्ति भयो। र, सरस्वतीको प्राकट्यपश्चात् ब्रह्माजीको योनिज सृष्टिक्रमले पूर्णता प्राप्त गर्यो।

सम्पूर्ण चराचर जगतको सृष्टि, स्थिति र लयमा ईश्वरीय प्रकृति र पुरुष गुण समानरूपमा क्रियाशील रहन्छन्। त्रिदेव ब्रह्मा, विष्णु र महेशका साथमा आद्या भगवती महासरस्वती, महालक्ष्मी र महाकालीको समान भूमिका देख्न सकिन्छ। ब्रह्माजीको सृष्टि अभियानलाई पूर्णता प्रदान गर्न विद्याकी देवी भगवतीको आविर्भाव भएको हो। सृष्टिको उपक्रम अघि बढेपछि ब्रह्माजीले सरस्वतीलाई ‘वाग्देवी’ भनी सम्बोधन गर्नुभयो। समस्त प्राणीहरूको जिह्वामा निवास गर्नुहुने माता सरस्वती वाणीरूपमा प्रकट हुनुहुन्छ। यसर्थ भगवतीलाई वाग्देवी वा वागीश्वरी भन्ने गरिन्छ। उसो त भगवतीका भारती, सरस्वती, शारदा, जगन्माता, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्राह्मी, ब्रह्मचारिणी, भुवनेश्वरी आदि हजारौं नाम रहेका छन्। र, ती सबै नाममा भगवतीका अलौकिक गुणानुवाद अन्तर्निहित छन्।

आद्या शक्ति भगवतीले सरस्वती रूपमा परं चेतना, बुद्धि, प्रज्ञा र सम्पूर्ण मनोवृत्तिहरूको संरक्षण गर्नुहुन्छ। यसर्थ विद्यार्थीलाई आवश्यक तीक्ष्ण बुद्धि, तीव्र स्मरण र शीघ्र स्फुरण जस्ता मेधावी गुण महासरस्वतीकै अनुकम्पाबाट प्राप्त हुन्छ। भगवतीको सेवा गर्नाले मनमस्तिष्कमा गढेर रहेको अज्ञानरूपी अन्धकार र भ्रमरूपी कुहिरो हट्तछ र ज्ञानदीपको आलोक चारैतिर फैलिन्छ। भगवतीका अभय मुद्रा र मन्द मुस्कानले संसारलाई सदैव ज्ञान–विज्ञान र प्रेरणा प्रदान गर्दछन्।

विद्याहीन व्यक्तिलाई भाग्यले पनि साथ दिँदैन। अतः जीवनका हरेक पक्षमा विद्या आवश्यक पर्छ। विद्यालाई मूल रूपमा अपरा र परा भेदमा वर्गीकरण गर्न सकिन्छ। मानव जीवनपर्यन्त यस लोकमा भौतिक वस्तुको साधनाका निमित्त प्राप्त गरिने विद्या नै अपरा विद्या हो। यो विद्या अध्यात्म र ब्रह्मविद्याभन्दा भिन्न हो। मानिसको शरीरसँगै यो विद्या पनि नासवान हुन्छ। अर्को परा विद्या भनेको अध्यात्मवाद अर्थात् ब्रह्मविद्या हो। यो भौतिक शिक्षाभन्दा भिन्न हुन्छ। यो विद्या यस लोकबाहेक परलोकमा समेत जीवसँगै रहन्छ। यस लोकको उपभोग गरी परलोकलाई उज्ज्वल बनाउने पुरुषार्थ सरस्वतीका भक्त कठोर साधक र योगीजनले मात्र गर्न सक्दछन्।

प्रत्येक कला, प्रविधि, सीप र चिन्तनलाई साधना गर्ने विविध उपाय र पूजाविधान रहेका छन्। निरन्तर अध्ययन गर्ने (अध्यवसायी) र साधना गर्ने साधकजनले आफ्नो साधनाका माध्यमले सरस्वतीको सेवा गरेका हुन्छन्। पूर्वीय सभ्यताका व्यास, वाल्मीकि, याज्ञवल्क्य, पाणिनि, कालीदास शंकराचार्य, गोरक्षनाथ, तुलसीदास आदि सिद्धहरूले सरस्वतीको वरदान प्राप्त गरी अलौकिक कार्य गरेको इतिहास पाउन सकिन्छ।

संस्कार, सभ्यता र संस्कृतिकै स्रोत महासरस्वती हुनुहुन्छ। यसर्थ यस पवित्र दिवसमा विद्यारम्भ, विद्याको अभ्यास र सभ्य संस्कृतिको प्रवर्धन जस्ता कार्य गर्ने गरिन्छ। आज घरघरमा, टोलटोलमा र विद्यालयहरूमा सरस्वतीको भव्य उत्सव मनाइन्छ। बौद्ध धर्मालवम्बीहरूले आजै मन्जुश्रीका नामले पूजा गर्दछन्। विभिन्न कला र प्रविधिका विद्यार्थीहरूले आफ्ना उपकरणको पूजा गरी सरस्वतीको सम्मान गर्ने गर्दछन्। आज उपत्यकामा रहेका विभिन्न सरस्वती मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लाग्दछ। सरस्वतीको प्रार्थना गर्ने विभिन्न सिद्ध स्तोत्र, मन्त्रहरू रहेका छन्। ती मध्ये केही यहाँ उल्लेख गरिन्छ–

सरस्वती-स्तोत्रम्

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥1॥
शुक्लाम् ब्रह्मविचार सार परमाम् आद्यां जगद्व्यापिनीम्।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌॥
हस्ते स्फटिकमालिकाम् विदधतीम् पद्मासने संस्थिताम्‌।
वन्दे ताम् परमेश्वरीम् भगवतीम् बुद्धिप्रदाम् शारदाम्‌॥2॥

रवि–रुद्र–पितामह–विष्णु–नुतं ।
हरि–चन्दन–कुंकुम–पंक–युतम्।।

मुनिवृन्द–गणेन्द्र–समान–युतं।
तव नौमि सरस्वति पाद–युगम्।।१।।

शशि–शुद्ध–सुधा–हिम–धाम–युतं।
शरदम्बर–बिम्ब–समान–करम्।।

बहु–रत्न–मनोहर–कान्ति–युतं।
तव नौमि सरस्वति पाद–युगम्।।२।।

कनकाब्ज–विभूषित–भूति–भवं।
भव–भाव–विभाषित–भिन्न–पदम्।।

प्रभु–चित्त–समाहित–साधु–पदं।
तव नौमि सरस्वति पाद–युगम्।।३।।

भवसागर–मज्जन–भीति–नुतं।
प्रतिपादित–सन्तति–कारमिदम्।।

विमलादिक–शुद्ध–विशुद्ध–पदं,
तव नौमि सरस्वति पाद–युगम्।।४।।

मतिहीन–जनाश्रय–पारमिदं।
सकलागम–भाषित–भिन्न–पदम्।

परिपूरित–विश्वमनेक–भवं।
तव नौमि सरस्वति पाद–युगम्।।५।।

परिपूर्ण–मनोरथ–धामनिधिं।
परमार्थ–विचार–विवेक–निधिम्।।

सुर–योषित–सेवित–पाद–तलं।
तव नौमि सरस्वति पाद–युगम्।।६।।

सुरमौलि–मणि–द्युति–शुभ्रकरं।
विषयादि–महाभय–वर्णहरम्।।

निजकान्ति–विलेपित–चन्द्र–शिवं।
तव नौमि सरस्वति पाद–युगम्।।७।।

गुणनैक–कुलस्थिति–भीतिपदं।
गुण–गौरव–गर्वित–सत्यपदम्।।

कमलोदर–कोमल–पादतलं।
तव नौमि सरस्वति पाद–युगम्।।८।।

त्रिसन्ध्यं यो जपेन्नित्यं जले वापि स्थले स्थितः।
पाठमात्राद्–भवेत् प्राज्ञो ब्रह्मनिष्ठः पुनः पुनः।।

यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।


Comments

    Ramkaran paswan

    सरस्वती पुजाको उप्लक्षमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना ।

    Bhawana Grg

    saraswati pujako sabaima Hardik shuvakamana

    Rabindra ram

    Kam garne

    sameer lama

    saraswati mata ki jai jai jai

    Sunny kumar

    nepali

    Himal pal

    Saraswati puja ko sabailai suva kamana

    mohan Shrestha

    ramro lagyo

    मनाेज कुमार मण्डल

    सरस्वती माता कि
    जय

    जिबन पाण्डेय

    jay सरस्वती माता जि

    prakash Dhungel

    शन्देश तथा जानकारि दियेकोमा धन्यवाद ।

    Bhimlal pandey

    sarswoti mataki jay

    om Raj pokhar

    khai pani xina


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!