शान्ति सेना दिवस

शान्ति सेना दिवस

By Nepali Patro
मे 20, 2025

हरेक वर्ष मे २९ तारिखमा, विश्वभरका मानिसहरूले संयुक्त राष्ट्र संघको झण्डामुनि कठिन र जोखिमपूर्ण क्षेत्रमा शान्ति स्थापना गर्न खटिएका महिला र पुरुषहरूलाई सम्मान गर्छन्। यस दिवसमा शान्ति सेनाका सदस्यहरूको साहस, प्रतिबद्धता र उनीहरूले खोजिरहेको दिगो शान्तिको सपना सम्झने अवसर हो।

सन् १९४८ मा पहिलो संयुक्त राष्ट्र संघीय शान्ति स्थापनाको मिसन सुरु भएदेखि हालसम्म १२० भन्दा बढी देशका शान्ति सेनाका सदस्यहरूले संसारभर विभिन्न अभियानमा सहभागिता जनाएका छन्। उनीहरूको मुख्य काम भनेको सर्वसाधारणको सुरक्षा गर्नु, राजनीतिक प्रक्रिया कायम राख्न मद्दत गर्नु, निशस्त्रीकरणलाई सहयोग पुर्‍याउनु, शरणार्थीहरूको सुरक्षित पुनःस्थापनाको समर्थन गर्नु र दिगो शान्तिको वातावरण बनाउनु हो।

मे २९ कै दिन किन?

सन् १९४८ को यही दिन युनाइटेड नेसन्स त्रुस सुपर्विजन अर्गनाइजेशन (UNTSO) को स्थापना गरिएको थियो, जुन पहिलो शान्ति स्थापनाको अभियान थियो। यो दिन शान्तिको सेवामा ज्यान गुमाउने शान्ति सेनाका सदस्यहरूको सम्मान गर्ने र सम्झने अवसर पनि हो। हरेक वर्ष संयुक्त राष्ट्र संघको मुख्यालयमा विशेष समारोह आयोजना गरिन्छ जहाँ सेवा कालमा वीरगति प्राप्त गरेका शान्ति सेनाका सदस्यहरूलाई डाग ह्यामर्स्कोल्ड पदक प्रदान गरिन्छ।

शान्तिका सेनाहरु 

संयुक्त राष्ट्र संघीय शान्ति सेनाका सदस्यहरूलाई प्रायः “ब्लु हेल्मेट” भनेर चिनिन्छ। उनीहरू फरक-फरक देश, संस्कृति र पृष्ठभूमिबाट आएका हुन्छन्, तर सबैलाई एउटै आदर्शले बाँधेको हुन्छ; शान्ति सम्भव छ। 

शान्ति सेनाका सदस्यहरू मात्र सैनिक होइनन्; उनीहरू प्रहरी अधिकारी, स्वास्थ्यकर्मी, इन्जिनियर, मानवअधिकारकर्मी र समुदाय विकासकर्ता पनि हुन्। उनीहरूले युद्धविरामको निगरानी गर्छन्, सर्वसाधारणको सुरक्षा गर्छन्, निर्वाचनमा सहयोग गर्छन्, शरणार्थीहरूलाई घर फर्कन सघाउँछन् र द्वन्द्वले नष्ट गरेका समुदायहरूलाई पुनःनिर्माण गर्न मद्दत गर्छन्।

समयसँगै शान्ति स्थापनाका कामहरू पनि जटिल बन्दै गएका छन्। आजका शान्ति सेनाले आतंकवाद, संगठित अपराध र मानवअधिकार उल्लंघनजस्ता गम्भीर चुनौतीहरू सामना गर्दै जोखिमपूर्ण क्षेत्रमा आफ्नो साहस र दृढता देखाइरहेका छन्।

हाम्रा वीरहरुलाई सलाम

आज विश्वभर अफ्रिका, मध्यपूर्व, युरोप र एसियामा ११ वटा शान्ति स्थापनाका अभियानमा करिब ७०,००० भन्दा बढी सैनिक, प्रहरी र नागरिक कर्मचारीहरू खटिएका छन्। उनीहरूको कामले शान्ति मात्र होइन, कानूनी शासनलाई बलियो बनाउने, मानवअधिकार प्रवर्द्धन गर्ने र लोकतान्त्रिक प्रक्रियालाई समर्थन गर्ने दिशामा समेत योगदान पुर्‍याइरहेको छ।

हरेक सेनाको एउटै कथा हुन्छ, परिवार र मातृभूमिबाट टाढा रहेर अपार साहस र समर्पणका साथ शान्तिको सेवामा जीवन अर्पण गर्ने व्यक्तिहरूका कथा।

नेपालीमा पोडकास्ट सुन्नका लागि:

Related Posts

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ