No Image
नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > विश्व शिक्षा तथा साक्षरता दिवस

विश्व शिक्षा तथा साक्षरता दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .
सेप्टेम्बर 13, 2021

विश्व शिक्षा तथा साक्षरता दिवस

शिक्षा धनम् सर्वधनम् प्रधानम्।। 

यस श्लोकको अर्थ हुन्छ, विद्या नै सबैभन्दा ठुलो धन हो। वि. स. २०३९ सालदेखि “शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन नपरोस्” भन्ने आदर्श नारा को साथ हरेक वर्ष फागुन १२ गते शिक्षा दिवस मनाउने गरिन्थ्यो। तर, २०६२/६३ को जन आन्दोलन पश्चात् देशमा गणतन्त्रको घोषणा भएसँगै अन्तरास्ट्रिय साक्षरता दिवस कै दिन पारेर “विश्व शिक्षा तथा साक्षरता दिवस” मनाउन थालिएको हो। विश्व शिक्षा तथा साक्षरता दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखको दिन मनाउने गरिन्छ। नेपालमा गणतन्त्र आगमन अगावै भने तत्कालीन राजा वीरेन्द्र द्वारा विक्रम सम्वत २०३९ साल फागुन १२ गतेको दिन प्राथमिक तहको शिक्षा निःशुल्क घोषणा गरेको दिन देखी शिक्षा दिवस मनाउने चलन सुरु गरेका थिए। 

 सामान्य अर्थमा साक्षरता को मतलब अक्षर वा लिपी चिन्न सक्नु, लेखपढ गर्न जान्नु लगायत गणनाका कार्य गर्न सक्नु भन्ने अर्थ लाग्छ। नेपालमा वि. स. १९१० मा दरबार हाई स्कुलको स्थापना भएता पनि शिक्षा र साक्षरताको विकास भने २००७ सालको प्रजातान्त्रिक व्यवस्थाको सुरुवात पच्यात भएको मानिन्छ। किनकि बि.स. २००७ पछि मात्र देशमा शिक्षाको सङ्ख्यात्मक अनि गुणात्मक वृद्धि र विकासका साथै आधुनिकीकरणले पनि गति लिएको थियो। 

युनेस्कोले “दैनिक जीवनमा आइपर्ने लेखाई पढाई र गणित सम्बन्धित कार्य गर्न सक्ने हुनु” भनी साक्षरताको परिभाषा दिएको छ। अहिलेको दिनहरूमा साक्षरता पढाई, लेखाई र गणितमा मात्र सीमित भने छैन। यो त व्यक्तिको अधिकार र दायित्व जस्ता कुरा सँग जोडेर पनि हेर्ने गरिन्छ। 

वि.स २०६८ सालको एघारौँ राष्ट्रिय जनगणना अनुसार नेपालको साक्षरता दर (५ वर्ष र सोभन्दा माथिको जनसङ्ख्या) ६५.९ प्रतिशत रहेको छ। करिब १० वर्ष अगाडि साक्षरता दर ५४ प्रतिशत मात्रै थियो। यस्तै गरी पुरुष साक्षरता दर ७५.१ प्रतिशत र महिला साक्षरता दर ५७.४ प्रतिशत पुगेको छ। काठमाडौँ प्रदेश ८६.३ प्रतिशत साक्षरता दर सहित पहिलो स्थानमा रहेको छ भने ४७ दशमलव ८ प्रतिशत सँगै हुम्ला भने अन्तिम स्थानमा पर्न गएको छ। अहिलेका दिनहरूमा “साक्षर नेपाल” को नारा सहित साक्षरता प्रतिशत वृद्धि गर्ने विभिन्न नीति र कार्यक्रमहरू सघन रूपमा सञ्चालन हुँदै आइरहेका पनि छन्।

शिक्षा र साक्षरताको कुरा गर्दा मानव इतिहासमा विश्वकै पुरानो परम्पराको रूपमा मौखिक साक्षरता लाई लिन सकिन्छ। मानव सभ्यतामा लेखन र लेखनकला विकास हुनु पूर्व एक पुस्ताबाट अर्को पुस्तामा गीत देखि उखान टुक्का र कथा इत्यादि सबै मौखिक रूपमा नै हस्तान्तरण हुने गर्थ्यो। वेद, पुराण जस्ता प्राचीन ग्रन्थहरू मौखिक परम्परा बाटै लेख्य परम्परामा तिर विकास हुँदै आएका हुन्।   

लेखन कलाको प्रयोग गर्दै प्राप्त हुने औपचारिक शिक्षाबाट आउने ज्ञान र व्यवहारलाई भने प्राज्ञिक साक्षरता भन्ने गरिन्छ। इतिहास, कला र साहित्य अनि विज्ञान तथा सञ्चार जस्ता आजको समय चक्र सम्मको विकास गर्ने शिक्षालाई प्राज्ञिक साक्षरता भित्र राख्ने गरिन्छ। यिनै ज्ञान विज्ञानको विकास अनि वैज्ञानिक आविष्कारहरू बाट नै हाम्रो विश्व समाज अहिलेको प्रविधि युक्त स्थिति सम्म आइपुगेको हो। 

अहिलेको विश्वमा विज्ञान र प्रविधिको विकासले गर्दा हरेक नागरिक डिजिटल साक्षर हुनु पर्ने आवश्यकता पनि महसुस भई सकेको छ। अहिलेको समयमा हरेक क्षेत्र अनि हरेक मानव डिजिटल युगमा प्रवेश गर्नको लागि कम्प्युटरको ज्ञान, इन्टरनेट र मोबाइल आदिको अध्ययन देखि प्रयोग सम्मका ज्ञान बटुल्दै देशलाई डिजिटल युगमा प्रवेश गराउनु पर्ने आवस्यकता देखिई सकेको छ। पछिल्लो समय मानव जीवनका हरेक क्षेत्र समेत डिजिटलाइज्ड हुँदै गएको अवस्थामा डिजिटल साक्षरता र मिडिया साक्षरता ले पनि एउटा महत्त्वपूर्ण स्थान ओगट्दै गइरहेको देखिन्छ।     

यता मानव विकासको क्रममा कानुनी साक्षरताको पनि आवश्यकता देखिएको छ। कानुनी साक्षरता, डिजिटल साक्षरता जस्तै एउटा नयाँ अवधारणा हो। सबैले संविधानको धारा देखि नियम कानुन जस्ता कानुनी जानकारी राखेको अवश्य पनि उपयुक्त नै हो। कानुनी ज्ञानको आभावमा जालझेल हुन सक्ने अवस्था रहने हुँदा हरेक नागरिकले आफ्नो कर्तव्य र अधिकार अनि आफ्नो दायित्वहरूको ’boutमा जानकारी राख्नु पर्छ। यसरी आफ्नो हक देखि आधिकार सम्मका जानकारी राख्नु लाई नै कानुनी साक्षरता भनिएको हो।   

देश हाँक्ने प्रक्रिया अन्तर्गत रहन्छ राजनीति। र, त्यस सम्बन्धी ज्ञान राख्नु लाई नै राजनीतिक साक्षरता भन्न सकिन्छ। राजनीतिले देश अनि समाजलाई सञ्चालन गर्दछ। डोर्‍याउने गर्छ। यसै कारण पनि देश अनि समाजमा रहेका हरेक नागरिक राजनीति सँग जोडिएका हुन्छन्। प्रत्यक्ष वा परोक्ष। राज्यको नीति मात्र नभई हरेक राजनीतिक दलका नीति र भावी कार्यक्रम, घोषणा पत्र देखि उनीहरूका व्यवहार एव कार्यशैली आदिको सबै जानकारी राख्नु पनि अति महत्त्वपूर्ण रहन्छ।  

यसरी हेर्दा मानवीय विकासको हरेक क्षेत्रमा किसिम किसिमका साक्षरताको उपस्थिति र महत्त्व देख्न सकिन्छ।  हरेक विषयको केही आधारभूत जानकारी राख्न सक्नु नै साक्षर हुनु हो। त्यसैले मानिसले उन्नतिका खुट्किला चढ्नका निम्ति माथि भनिए झैँ हरेक किसिमका विषयमा साक्षर हुनु पर्ने देख्न सकिन्छ। 

विद्या नै सबैभन्दा ठुलो धन हो र विद्यालाई अन्य कुनै पनि धनसँग तुलना गर्नै मिल्दैन। त्यसैले पनि भन्ने गरिन्छ बालीनालीको लागि एक वर्ष, फलफूलको लागि दश र मानिस शिक्षित र साक्षर बनाउन कम्तीमा पनि सय वर्षको योजना बनाउनु पर्दछ।  हरेक क्षेत्र बाट साक्षरता बढाउने कार्य गर्न सकिन्छ। कानुनी साक्षरता बढाउन कानुनी निकाय र कानुन व्यवसायीहरूले आधारभूत कानुनी साक्षरता शिक्षा प्रदान गर्न सक्छन्। त्यस्तै गरी हरेक विद्यालय अनि शिक्षण सङ्घ संग्स्थाले बाल-बालिकालाई विद्यालय ल्याउँदै साक्षरता बढाउने देखि सामाजिक विसङ्गतिका विरुद्ध सचेतना वृद्धि गर्ने जस्ता महत्त्वपूर्ण कार्य गर्न सक्छन्। यता हरेक अभिभावकले पनि आफ्ना बाल-बच्चाहरूलाई विद्यालय पठाउँदै शिक्षा र साक्षरता वृद्धि गर्ने कार्यमा राज्यलाई सघाउनु पर्दछ।  

उद्योगहरूले पनि आफ्ना कामदारलाई अनिवार्य साक्षर बनाउने कार्य गर्दै साक्षरता प्रतिशत बढाउने कार्यमा योगदान पुर्याऊन सक्छन्। हरेक व्यक्तिले आफ्नो घर देखि समाज ’roundका निरक्षरलाई साक्षर बनाउने काममा अमूल्य भूमिका खेल्न सक्छन्। यसरी साक्षरता अभियानलाई प्रभावकारी बनाउन विश्वभरका देश र हरेक सरोकारवाला हरुले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। 

विश्व शिक्षा तथा साक्षरता दिवस, विश्वभरका देश तथा सरोकारवालाहरुलाई साक्षरता अभियान प्रभावकारी बनाउन जोड दिने दिवसको रूपमा चिन्न सकिन्छ। शिक्षा र साक्षरताका अवरोधलाई तोड्ने उपाय हरुको छलफल देखि तिनलाई अझ बढी प्रभावकारी बनाउने कार्य गर्नु नै यो दिवसको मुख्य उद्देश्य हो।

कुनै पनि राष्ट्रिय दिवस वा अन्तरास्ट्रिय दिवस एक दिनको नारा नभई, हरेक दिनको अभियान हुनु पर्छ। कुनै एक संस्था, निकाय वा व्यक्तिको मात्र नभई सम्पूर्ण समाजको नै अभियान हुनुपर्छ। नारा सुन्दर बनाएर मात्र नहुने हुँदा उच्च लक्ष्य राख्दै त्यस अनुसार काम पनि त गर्नु पर्छ, हैन र?।। शिक्षाबाट वञ्चित रहेका हरेक समूहलाई शिक्षा र साक्षरताको पहुँच बढाउने कार्य बाट नै यो लक्ष प्राप्त गर्न सकिन्छ। शिक्षा जस्तो अतुलनीय धन हरेक नागरिकको पहुँचमा पुर्‍याउनु अत्यन्त जरुरी रहेको छ। मानव जीवन सार्थक पार्न शिक्षा र साक्षरता सँगै जीवनपर्यन्त सिकाइ समेत पनि जरुरी हुन्छ।  पढ्दै जाऊ, सिक्दै जाऊ सबैलाई शिक्षित अनि साक्षर बनाऊ। नेपाली पात्रो।    


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!