विश्व खडेरी रोकथाम दिवस
By
Nepali Patro
जमिनको स्वास्थ्य हाम्रो खाद्य प्रणाली, जलवायु, जैविक विविधता, जल स्रोत र समाजको स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको हुन्छ। तर, हामी प्रायः जमिनसँगको यो सम्बन्ध बिर्सन्छौं जबसम्म हाम्रो मुनिको माटो सुख्खा, फुटेको र बाँझो हुँदैन।
हरेक वर्ष जुन १७ मा मनाइने विश्व खडेरी रोकथाम दिवस संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९४ मा जमिन क्षय’bout जनचेतना फैलाउन स्थापना गरेको हो। यो दिवस पहिलोपटक सन् १९९५ मा मनाइएको थियो।
मरुभूमिकरण र खडेरी भनेको के हो?
मरुभूमिकरण भन्नाले मरुभूमिको विस्तारलाई जनाउने होइन; यसको अर्थ हो उत्पादन क्षमतायुक्त जमिनको गुणस्तर क्रमशः बिग्रनु। यो वन फडानी, अत्यधिक चरन, अस्थिर कृषि अभ्यास, जलवायु परिवर्तन र प्रभावकारी पानी व्यवस्थापनको कमीका कारण हुन्छ। यसले जमिनलाई बिस्तारै बन्जर बनाउँछ, जसले बाली, वनस्पति र जीवन धान्न सक्दैन। जब माटोको माथिल्लो तह बगेर वा सुक्खा भएर जान्छ, सम्पूर्ण पारिस्थितिक तन्त्र कमजोर हुन्छ र समुदायहरू आफ्नै भूमिबाट विस्थापित हुन बाध्य हुन्छन्।
खडेरी भनेको लामो समयसम्म पर्याप्त वर्षा नपर्नु हो। यद्यपि खडेरी एक स्वाभाविक प्रक्रिया हो, जलवायु परिवर्तनले यसको आवृत्ति, अवधि र तीव्रता बढाइरहेको छ। यसले मरुभूमिकरणको असरलाई अझ गम्भीर बनाउँछ, जसले बाली सुकाउँछ, गाईवस्तु र वनस्पतिलाई मार्छ, र पानीको चरम अभाव निम्त्याउँछ।
यी दुई समस्या मिलेर विशेषगरी प्राकृतिक स्रोतहरूमा निर्भर समुदायहरूका लागि गम्भीर खतरा बन्न पुगेका छन्।
विश्व परिदृश्य
संयुक्त राष्ट्रसंघीय मरुभूमिकरणविरुद्धको सन्धि (UNCCD) अनुसार, विश्वका १०० भन्दा बढी देशहरू गम्भीर जमिन क्षरणको सामना गरिरहेका छन्। ३.२ अर्बभन्दा बढी मानिसहरू यसबाट प्रभावित छन् र यो संख्या अझै बढ्दो छ। विश्वको करिब ४० प्रतिशत जमिन पहिले नै बिग्रिसकेको छ, जसले खाद्य प्रणाली, अर्थतन्त्र र जनसंख्या प्रवाहमा असर पारिरहेको छ।
यदि अहिलेको प्रवृत्ति यस्तै रह्यो भने सन् २०५० सम्ममा थप ५ करोड मानिस मरुभूमिकरणका कारण विस्थापित हुन सक्ने अनुमान गरिएको छ।
यो दिन किन महत्वपूर्ण छ?
जलवायु संकट, पानीको अभाव र खाद्य असुरक्षाका सन्दर्भमा, स्वस्थ जमिन हाम्रो बलियो सुरक्षा कवच हो। तर जमिन पुनःस्थापना एकैदिनमा सम्भव हुँदैन। यसको लागि दीर्घकालीन सोच, समावेशी नीति, वैज्ञानिक अनुसन्धान र सबैभन्दा महत्वपूर्ण रूपमा सामुदायिक सहभागिता आवश्यक पर्छ।
यो दिवसले हामीलाई विभिन्न अवसरहरू प्रदान गर्छ जस्तै: स्थानीय र विश्वस्तरीय चेतना जगाउने, पुनःस्थापनाका लागि राजनीतिक इच्छाशक्ति र लगानी जुटाउने, सफल उदाहरण र परम्परागत ज्ञान साझा गर्ने, र किसान, महिला, युवा तथा आदिवासी समुदायहरूलाई जमिनका संरक्षकको रूपमा सशक्त बनाउने।
हामीले खडेरी र मरुभूमिकरण न्यूनीकरण गर्न के गर्न सक्छौँ?
खडेरी र जमिन क्षरण रोक्न सबै तहको सहकार्य आवश्यक पर्छ। केही प्रमुख उपायहरू यस्ता छन्:
- दिगो भूमिसंरक्षण अभ्यास: बाली परिवर्तन, कृषि बन (agroforestry), जैविक खेती र माटो संरक्षण प्रविधिहरूको प्रयोगले जमिनको स्वास्थ्य सुधार गर्न सकिन्छ।
- वनरोपण र वनसंरक्षण: रूख लगाउने र वन क्षेत्र जोगाउने कार्यले माटो कटाव रोक्छ, पानीको चक्र सन्तुलनमा राख्छ र कार्बन अवशोषणमा योगदान पुर्याउँछ।
- पानी व्यवस्थापन: ड्रिप (थोपा) सिँचाइ, वर्षा सङ्कलन, र सिमसार क्षेत्र पुनःस्थापनाले खडेरीको असर कम गर्न मद्दत गर्छ।
- नीति र शिक्षा: सरकारले जमिन पुनःस्थापनालाई जलवायु र विकास योजनामा समावेश गर्नु आवश्यक छ। साथै, वातावरणीय शिक्षा, कृषक तालिम र जनचेतना कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गरिनुपर्छ।
- सामुदायिक सहभागिता: समाधान स्थानीय स्तरबाट सुरु हुनुपर्छ। स्थानीय नेतृत्वमा आधारित पहलहरू दीगो र प्रभावकारी हुने सम्भावना बढी हुन्छ।
हाम्रो जिम्मेवारी
जमिन केवल किसान वा वातावरणकर्मीको मात्र विषय होइन। सहर, पहाड, जङ्गल वा तट क्षेत्र जहाँ भए पनि, हाम्रो जीवन स्वस्थ जमिन, शुद्ध पानी र सन्तुलित पारिस्थितिकी प्रणालीमा निर्भर गर्छ।
विश्व खडेरी रोकथाम दिवसले हामीलाई सोच्न मात्र होइन, काम गर्न पनि प्रेरित गर्छ। यो कुनै टाढाको समस्या होइन, यो अहिलेको समस्या हो। र यदि हामी सबैले हातेमालो गर्यौं भने, जमिनको पुनःस्थापना सम्भव छ र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गर्न सकिन्छ।