No Image
नेपाली पात्रो > चाडपर्व > विरुडा पञ्चमी र गौरा पर्व

विरुडा पञ्चमी र गौरा पर्व

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
अगस्ट 26, 2021

विरुडा पञ्चमी र गौरा पर्व: नेपालको पश्चिमी भू-भाग वा सुदूर पश्चिम प्रदेशमा रहेका अनगिन्ती चाडपर्वहरू मध्येको एक पर्व हो गौरा पर्व। यो पर्व भाद्र महिनाको पञ्चमी तिथि अर्थात् बिरुडा पञ्चमीको दिन वाट सुरु हुन्छ। विशेष गरी सुदूर-पश्चिमेली महिलाहरूले मनाउने महान् पर्व नै गौरा पर्व हो। पर्वतराज (हिमालय) को पुत्री अर्थात् देवी पार्वतीको अर्को नाम “गौरी” बाट गौरा पर्व को नाम रहन गएको भनिन्छ। बडा दसैँ पछि को महत्त्वपूर्ण पर्वको रूपमा गौरा पर्वको स्थान रहेको छ। 

विभिन्न स्थान हरूमा गौरा पर्व लाई गमरा, गोःरा, गवरा जस्ता नामले पनि सम्बोधन गरिएको पाईन्छ। देवी भागवतको षष्ठम स्कन्दको १३ र १७ औँ अध्यायमा भृगु वंशी महिलाहरूले गोरा/गौरा देवीको विधि विधान पूजा गरेको कथा पनि रहेको छ जसले यो पर्वको महिमालाई अझ प्रस्ट पारेको देखिन्छ। 

विरुडा पञ्चमीको दिन सुरु हुने गौरा पर्व ज्योतिष गणना अनुसार कुनै वर्ष शुक्ल पक्षमा त कुनै वर्ष कृष्ण पक्षमा पर्ने गर्छ। शुक्ल पक्षमा परेको गौरा लाई उजेली-गौरा र कृष्ण पक्षमा परेको गौरालाई अनेरी (अँधेरी) गौरा भनिन्छ। पहिलो पटक व्रत धारण गर्ने वा व्रत बस्ने विवाहित महिलाका लागि उजेली-गौरा शुभ मानिन्छ। गौरा पर्व वा गौरा पूजन र महिला हरूको हरितालिका तीज पर्व ले समाजमा स्त्री र पुरुषहरू बिचको सम्बन्ध लाई अझ प्रगाढ बनाउने कार्य गर्छ। 

हिमालय पुत्री पार्वतीले शिव पति पाउनका लागि व्रत बस्दा भगवान् शिवको आराधना गरेको र उक्त व्रतको प्रभावले शिवलाई पतिका रूपमा वरण गर्न पाएको हुँदा त्यसै समयदेखि यो पर्वको आरम्भ भएको हिमवत् खण्ड र अन्य पुराणमा समेत उल्लेख गरिएको पाईन्छ। यसरी लोक मान्यता अनुसार देवी पार्वतीले भगवान् शिवलाई प्राप्त गर्न निराहार नित्य आराधना र तपस्या बसेको पौराणिक घटनाबाट नै यो पर्व मनाउन सुरु गरिएको हो। 

गौरा पर्व विधि- विधानका साथ पाँच दिनसम्म मनाइन्छ। यस पर्वको तिथि क्रम चतुर्थी बाट सुरु भई विरुडा पञ्चमी, सूर्य षष्ठी, सप्तमीको दिन गौरा सप्तमी व्रत हुँदै दूर्वाष्टमी सम्म रहन्छ। 

गौरा पर्व अनुसार चतुर्थीको दिन नारीहरूले शुद्ध मनले शरीर समेत पवित्र भएर पाँच किसिमका गेडागुडी (मास, गहत, गुराँस, केराउ र गहुँ) मिसाएर तयार पारिएका विरुडा केलाउने गर्छन्। यसरी केलाएर तयार पारिएको बिरुडा वा पाँच किसिमका अन्नलाई भगवान् शिवको पञ्चाक्षर/पञ्चाक्षरी मन्त्रको प्रतीकका रूपमा पनि लिने गरिन्छ। बिरुडा तयार गर्ने क्रममा मंगल गान गाउने चलन पनि रहेको छ। यसरी तयार पारिएको विरुडा जगत् जननी जगदम्बा गौरामा चढाउन बनाइएको विशेष नैवेद्यको रूपमा मानिन्छ र यसलाई प्रसादको रूपमा श्रद्धापूर्वक ग्रहण गर्ने परम्परा रहेको छ। 

आज बिरुडा पञ्चमीको दिन बिहानै उठी नुहाई धुवाई गरेर विरुडा (पञ्च अन्न वा क्वाँटीको रूपमा पनि चिनिने) लाई स्थानीय कुवा (न्वालो), वा पँधेरोको पानीले भिजाइन्छ। तामा वा पित्तलको भाडा सफा गरी त्यसलाई गाइको गोबरले शुद्ध पारी गोबर, अक्षता र दुबोले शृङ्गार पटार गरी त्यस मा बिरुडा भिजाउने प्रचलन रहेको छ। यसरी राखिएको बिरुडालाई देवी गौरीको प्रसादको रूपमा लिइन्छ। गौरा पूजाको क्रममा यसरी राखिएको बिरुडालाई प्रसाद र अक्षताका रूपमा प्रयोग गर्ने गरिन्छ। यसरी पञ्चमीको दिन भिजाएको बिरुडा षष्ठी तिथिका दिन धुने चलन रहेको छ। 

गौरा पर्व अनुसार सप्तमीका दिन चेली-बेटीहरूले खेतबाट धान, दुबो, तिल, बल, र अपामार्ग गरी पाँच थरीका बोट जरैदेखि उखेलेर गौरा देवीको प्रतिमा बनाउँछन्। सन्जा भनिने यो गौरीको प्रतिमालाई बेत बाँसबाट बनेको डालोमा राखी घर लैजाने गरिन्छ। यसरी सप्तमी तिथिका दिन गौरा देवीको प्रतिमा बनाएर महिलाहरूले यो पर्व मनाउने गर्छन्। 

गौरा सप्तमी व्रतका दिन महिलाहरू दिनभर व्रत बस्ने गर्छन्। यो दिन गौरा देवीको प्रतिमा (सञ्जा) खेतबाट बाजा गाजाको साथ घरमा भित्राए पश्चात् सञ्जा र घरमा राखेको प्रतिमूर्ति पुतला दुवैलाई एउटै गौरामा विलय गर्दै ब्राह्मणको उपस्थितिमा गौरा देवीको विशेष प्रतिमा बनाइन्छ। यही दिन गौरा देवी र  देबाधि देव शिव लाई  लगनगाँठो सम्बन्ध स्थापना गर्दै वैदिक रीति पूर्वक पूजापाठ गरिन्छ। भगवान् शिव को प्रतिमूर्ति भने काठ वा ढुङ्गा बाट बनेको हुन्छ।

जनै पूर्णिमाको दिन गौरा स्थापना गर्ने घरको विशेष ठाउँ लिपपोत गर्ने, शुद्ध माटो ल्याउने, प्रतिप्रदाको दिन घर शुद्ध पारी लिपपोत गर्ने, द्वितीया र तृतीयाको दिन व्रतालु महिलाले कपडा आदि धुने नुहाउने र चतुर्थीको दिन बिरुडा राख्न को लागि गेडागुडी केलाउने जस्ता काम गर्ने गरिन्छ। तिनै केलाइएका गेडागुडी आज “विरुडा पञ्चमी” को दिन भिजाएर गौरा पर्वको विधिवत् सुरुवात गरिन्छ। 

महिलाहरूले सप्तमी व्रत बसेर बेलुकाको समयमा सिन्दूर, पोते, डोरी, गुन्यु, चोलो, फरिया, धागो पोते (दुबधागो) आदिले गौरा देवीको सिँगार तथा पूजा अर्चना गरे पश्चात् ब्राह्मणलाई दान गरेर मात्र खाना खान्छन्। यो दिन व्रतधारी महिलाले घाँटीमा दुबधागो लगाउनै पर्ने मान्यता रहेको छ। दुबधागो भने रातो, पहेँलो, कालो, हरियो, सेतो गरी पाँच वटा रङ्गको धागोबाट बनेको हुन्छ। पुरुषहरूले जनै लगाए झैँ महिलाहरूले घाँटीमा रङ्गिन पोतेको रूपमा धागो-पोते अर्थात् दुबधागो लगाउँछन्।  महिलाहरूले दुबधागो लगाउने कार्य पनि गोरा पर्वको एक प्रमुख उद्देश्य रहन्छ र पुरुषले जनै पुर्णिमामा जनै फेरे झैँ महिलाले यस पर्वमा दुबधागो फेर्ने गर्दछन्। 

कृष्ण जन्माष्टमी वा दूर्वाष्टमी व्रतका दिन गौरा मनाइने घरमा महिलाहरूले गौराको गीत गाउँदै धूमधामका साथ गौरा पर्व मनाउने चलन रहेको छ। यही दिन बेलुकी, गौरादेवीको प्रतिमालाई घरको एक जना व्रतधारी महिलाले आफ्नो शिर मा राखेर अगाडि-अगाडि र अर्की व्रतधारी महिलाले शिव शङ्कर महेश्वरको प्रतिमूर्तिलाई शिरमा राखी नाचगान गर्ने गरिन्छ। दूर्वाष्टमीको दिन लाई पश्चिमेली हरूले स्थानीय भाषामा  कतैकतै अठेबाली पनि भन्ने गर्छन्। 

तत् पश्चात् सबै व्रतधारी महिलाहरू गोलाकार अवस्थामा लाम लागेर स्थानीय लोक भाकाहरूमा देउडा गीत गाउने र नाच्ने गर्दछन्। शिरमा प्रतिमा राखी नाच्ने गाउने कार्य व्रतधारी महिला सबैले क्रमै सँग गर्ने र कसैले कसैले भने विधि पुर्‍याउन टाउकोले छुने मात्र पनि गर्छन्।

यसरी प्रतिमा सहितको नाच गान पछि अन्तिम विधिका रूपमा गौरा पूजनमा क्रममा चढाइका फल-फूल, अक्षता इत्यादि ठुलो कपडामा राख्ने र आकाशतिर पाँच पटक र चारै दिशामा समेत हुर्‍याउने गरिन्छ। यसरी प्रसाद हुर्‍याउने प्रक्रियालाई फल फट्काउने भनिन्छ। फल फट्काउने बेला उपस्थित सबै व्रतधारी महिलाहरूले फल वा प्रसाद पाउने आशामा पछ्यौरा, रुमाल, पोल्टो आदि थाप्छन्। यसरी फल फट्काउने क्रममा राम्रो फल प्राप्त भएको खण्डमा वर्ष भरि शुभ हुने मान्यता पनि रहेको हुँदा सबैले प्रसाद पाउने आशा राखेका हुन्छन्। 

नव दुलही र बाल बच्चा नभएका प्रथम पटकका उपासक वा व्रतीको हातमा राम्रो फल परेको खण्डमा मनोकामना पुरा हुने र पुत्र लाभ लगायत अरु मनोकामना समेत पुरा हुने शुभ लक्षणका रूपमा समेत लिइने पुरानो मान्यता रही आएको छ। यसरी पञ्चमी देखि अष्टमीको दिनसम्म गौरा पर्व मनाएर त्यसको भोलि पल्ट वा साइत अनुसार फरक दिनमा गौरा पर्व वा गौरा विसर्जन गर्ने गरिन्छ। 

गौरा विर्सजन:

गौरा पर्वको अनुष्ठान पूरा भए पश्चात् आ–आफ्नो कुल अनुसार विसर्जन गर्न तिथिको तय गरी प्रायः तीन वा पाँच दिनमा गौरा विसर्जन मिति तय गरिन्छ। विसर्जनको क्रममा पुरुषले बाजा बजाउँदै र महिलाले गौरा-महेश्वरका गीत (फाग) गाउँदै प्रत्येक घरबाट बिदाइ गर्ने र नजिकैको जल वा जलाशययुक्त ठाउँ, दुबोयुक्त चौर वा पिपलको वृक्ष भएको ठाउँमा लगी गौरा विसर्जन गर्ने गरिन्छ।  

गौरा पर्वको अवसरमा महिलाहरूले आफ्ना पतिको दीर्घायु, सु-स्वास्थ्य एवं चिर स्थायी सम्बन्धका लागि कामना गर्ने गर्छन्। यस पर्वको अवसरमा देउडा पनि गाउने प्रचलन रहेको छ। पर्वको अवसरमा गाइने फाग वा गीतहरू भने पौराणिक देवीदेवता, महाभारत, रामायण, कृष्ण लीला जस्ता कथाहरूको आधारमा बनेका हुन्छन्। यसरी यी फाग हरुले रमाइलो गर्ने मात्र नभई इतिहास सम्झाउने काम समेत गरेको पाइन्छ ।

नेपालको पश्चिमी भूभाग लगायत गौरा पर्व भारतको उत्तराञ्चल र उत्तर प्रदेशमा पनि गौराकै नाममा मनाइन्छ। उता दक्षिण भारतमा भने यस पर्वलाई गणपति पर्वको नाममा विविध धार्मिक पूजाआजाको साथ विभिन्न आध्यात्मिक कार्यक्रमहरू गर्दै मनाइन्छ। गौरा पर्व, अनि देउडा संस्कृति सुदूरपश्चिम प्रदेशको मात्रै नभई नेपाल राष्ट्रकै पहिचान भएकोले यसको संवर्द्धन गर्नु देशको हरेक नागरिक र क्षेत्र को कर्तव्य हो। विरुडा पञ्चमी/गौरा पर्वको उपलक्षमा सबै नेपालीलाई नेपाली पात्रोको धेरै धेरै शुभ- कामना। 

 


Comments

    gopi lama

    to getba news of calendar

    महेन्द्र प्र. खतिवडा ।

    आ-आफ्ना , हरेक संस्कृति का संवाहक हरु नै , वास्तवमा सामाजिक व्यवहार संस्थापक का प्रतिक हरुहुँन !!1

    Rajendra bist

    happy gaura purb

    Sajan Maharjan
    पूर्णानन्द अाेझा

    नेपाली पात्राेले हाम्रा चाडपर्वकाे सांस्कृतिक महत्व खाेजमूलक तथा जानकारीमूलक तरिकाले पस्किने गरकाेमा बराल गुरु लगायत सबैमा धन्यवाद छ र गाैरापर्व एवं कृष्णजन्माष्टमीकाे संयुक्त शुभकामना ।


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!