विजया एकादशी
By प्रा.डा. देवमणि भट्टराई in
चाडपर्व .
फाल्गुण कृष्णपक्षको एकादशीलाई विजया एकादशी भनिन्छ। यो एकादशीको व्रतका प्रभावले भगवान श्रीरामचन्द्रले समुद्र पार गरी लंकाको राजा रावणमाथि विजय प्राप्त गर्नुभएको थियो। बकदाल्भ्य ऋषिको उपदेशअनुसार सर्वप्रथम श्री रामचन्द्रले यो व्रतको उपवास गर्नुभएको थियो।
फाल्गुनस्य सिते पक्षे विजयैकादशी भवेत्।
तस्या व्रते कृते रामः विजयस्ते भविष्यति ।।
विजया एकादशी प्रसंग
युधिष्ठिरको जिज्ञासालाई शान्त पार्दै भगवान् श्रीकृष्णले यो व्रतको महिमा वर्णन गर्नुभएको थियो। त्रेता युगमा सत्यलोक पुगेका देवर्षि नारद र ब्रह्माजीको संवाद चल्दैगरेका बखत रामचन्द्रले पृथ्वीमा १४ वर्ष वनवास बिताउनुभयो। यही बीचमा रावणद्वारा सीताको हरण भयो। वृद्ध जटायुले सीतालाई रावणले आकाशमार्गबाट लंकातर्फ लगेको जानकारी दिए। हनुमानजीले समुद्र पार गरी सीता लंकाको अशोक वाटिकामा रहेको निधो ल्याएपछि लंकामा चढाइ गर्ने सामथ्र्य जुटाउने विषयमा छलफल चल्यो। लक्ष्मणले दैवी शक्तिको सहायताले मात्र समुद्र पार गरी लंकामा आक्रमण गर्न सहज हुने बताउनुभयो। यसपछि मर्यादापुरुषोत्तम श्रीरामचन्द्र भ्राता लक्ष्मणका साथ मुनिको आश्रममा पुगेर मुनिलाई प्रणाम गरेपछि मुनिले श्रीरामलाई साक्षात् विष्णुरूपमा देख्नुभयो। श्रीरामचन्द्रले मुनिलाई आफ्नो उद्देश्य बताउनुभएपछि मुनिले यो एकादशीको व्रत लिन उपदेश दिँदै व्रतको विधिसमेत बताइदिनुभयो।
यो व्रत लिँदा व्रतीले दशमीका दिन प्रातः कालमा विधिपूर्वक कलशस्थापना गरेर भगवान् नारायणलाई प्राणप्रतिष्ठापूर्वक स्थापना गरेर पूजन गर्नुपर्दछ। दिनभरि एकभक्त भई व्रत बसेर हविष्यान्न भोजन र सन्ध्याकालमा पनि पूजा, आरती गर्नुपर्दछ। एकादशीको बिहानै संकल्पपूर्वक स्नान गरी नारायणको विशेष पूजा तथा भजन–कीर्तन गरी रातभर जाग्राम बस्नुपर्दछ। यस एकादशीमा नारायणलाई अनार, नरिवल लगायत विशेष भोज्य वस्तुहरू अर्पण गर्नुपर्दछ।
यसरी एकादशीमा विशेष पूजा गर्ने र द्वादशीका दिन नित्यकर्म सकेपछि नारायणको विशेष पूजा गर्ने र नारायणको पूजित प्रतिमा तथा घडालाई नदी वा तलाउको जलमा राखेर पूजा गरी विजय–कामनासाथ संकल्प गरी ब्राह्मणलाई दान दिनुपर्दछ। यसरी विजया एकादशीको व्रत बस्नाले समुद्र पार गरी लंकामाथि विजय प्राप्त गर्न सकिनेछ भनी रामचन्द्रलाई मुनिले आश्वस्त पार्नुभयो।
अनेन विधिना रामः यूथपैः सह संगतः।
कुरु व्रतं प्रयत्नेन विजयस्ते भविष्यति।।
मुनिको आज्ञाबमोजिम श्रीरामचन्द्रले पनि विधिपूर्वक विजया एकादशीको व्रत सम्पन्न गर्नुभयो र लंकातर्फ युद्धका लागि प्रस्थान गर्नुभयो। वानर सेनाका साथ श्रीरामचन्द्र लंका प्रवेश गरी रावणलाई परास्त गरी सीतालाई लिएर अयोध्या फर्कनुभयो।
विजया एकादशीको व्रत गर्नाले मानिसले यस लोकमा जय/विजय प्राप्त गर्दछ भने परलोमा अक्षय सुख प्राप्त गर्दछ। यस एकादशीको महात्यमात्र पनि पापनाशक र पुण्यवर्द्धक रहेको छ भने एकादशीको पावन कथा जसले सुन्छ र सुनाउँछ भने त्यस्तो व्यक्तिले वाजपेय यज्ञ गरेतुल्य फल प्राप्त गर्दछन्।
विजयायाश्च महात्यं सर्वकिकिल्विषनासनम् ।
पठनाच्छ्रवणात्तस्य वाजपेयफलं लभेत्।
मार्च 2, 2019 2 वर्षहरु
like
मार्च 2, 2019 2 वर्षहरु
thik cha
मार्च 15, 2019 2 वर्षहरु
hindu darma ko jai hos
मार्च 26, 2019 2 वर्षहरु
Hamro hindu dharma ho
अप्रील 4, 2019 2 वर्षहरु
bijya dasamiko suvakamna
फ्रेवुअरी 15, 2020 1 वर्ष
vijya dasamiko ho
फ्रेवुअरी 18, 2020 1 वर्ष
Nepali ko chadh ho yo maannu parxa hai sathi haru
फ्रेवुअरी 19, 2020 1 वर्ष
Hamro Nepal Hamro saan
फ्रेवुअरी 20, 2020 1 वर्ष
Hare Krishna
मार्च 1, 2020 12 महिनाहरु
मलाई म: हिन्दू धर्म को हो भन्दा गँर्व लाग्छ ।