No Image
नेपाली पात्रो > चाडपर्व > रोपाइँ जात्रा -सिनाज्या जात्रा -चोपाइ जात्रा

रोपाइँ जात्रा -सिनाज्या जात्रा -चोपाइ जात्रा

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
अगस्ट 23, 2021

“रोपाइँ जात्रा”, नेपाल भाषा वा नेवारी समुदायको “सिना ज्या जात्रा” र नेपालको मध्य पश्चिम र सुदूर पश्चिममा त्यसमा पनि खास गरेर जुम्ला जिल्लाको “चोपाइ जात्रा” आज देशै भरि मनाइँदै छ। विशेष गरि नेवा: समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा अहिले देशैभर का विभिन्न स्थानमा सबैको उत्सव बनेको छ। रोपाइँ जात्रा नेपाल भाषामा “सिना ज्या” को नामले परिचित छ। हरेक वर्ष भाद्र कृष्णपक्ष द्वितीया तिथिको दिनलाई मूल दिन मानेर जात्राको दिन सुरु हुने यो जात्रा एक साता सम्म चल्छ र कृष्ण जन्माष्टमीको दिन विसर्जन गर्ने परम्परा रहिआएको छ। धेरै जसो स्थानमा गाईजात्राको भोलिपल्ट, अर्थात् आजको दिन रोपाइँ जात्रालाई विशेष रूपमा मनाउने चलन रहेको छ। 

रोपाइँ जात्रा वि.सं १९७२ मा राणा शासनको समय इलामका तत्कालीन बडा-हाकिम र कर्णेल समेत रहेका गजराजसिंह थापाले सुरु गरेका थिए भन्ने गरिन्छ। उनैलाई नेपाली चिया उद्योगका संस्थापकको रूपमा पनि चिनिने गरिन्छ। नेपालमा  अहिले नेपाल भाषा लगायत अन्य सांस्कृतिक समाजको समेत अगुवाइमा यो जात्रा देशका विभिन्न स्थानमा आ-आफ्नो तरिकाले फरक दिनहरूमा मनाउने गरिन्छ। 

रोपाइँ जात्रा कृषि प्रधान देश नेपालको नेपाली समाजले मनाउने एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। प्रत्येक वर्ष भदौ महिनामा निकालिने रोपाई जात्रा किसानको जात्राको रूपमा समेत चिनिने गरिन्छ। नेपालमा रहेका विभिन्न जातजातिका संस्कृतिहरूको झ-झल्को दिने प्रस्तुतिहरूले यस जात्राको दिन वातावरण पनि सङ्गीतमय बनेको हुन्छ। जात्राको अवसरमा विभिन्न लोक भाका सहित सहर बजारहरूमा तिहारका देउसी-भैलो झैँ घरघरमा गीत गाउने चलन समेत रहेको पाइन्छ । 

बाली राम्रो उब्जनी हुने विश्वास र अघिल्लो वर्ष मृत्यु भएका आफ्ना परिवारजनका सदस्यको सम्झना गरी मनाइने यो पर्व पछिल्लो समय देशैभर मनाउने गरिएको छ। असारे रोपाइँको झ-झल्को दिने गरी अघि –अघि गोरु, अनि हली र बाउसे तथा पछि–पछि रोपाहारले धान रोपाई गरे झैँ गर्ने लगायत का हास्य व्यंगात्मक कार्यक्रमहरू यो जात्राको मुख्य आकर्षण  रहेको हुन्छ। यस जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपाई गरेको हेर्न पाइन्छ। त्यसै गरी, नेपालको मौलिक बाजा पञ्चै बाजाको तालमा बाउसे र रोपाहारहरूले रोपाइँको अभिनय गर्दै यो पर्व मनाउने चलन रहेको छ।

नेवार संस्कृतिबाट सुरु भएको रोपाइँ जात्रा असारको महिनाको धान रोपाइँ पछि रोपाई सकिएको खुसीयालीमा मनाइन्छ। रोपाइँको बेला धान रोपे झैँ गर्ने, नाच्ने अनि गाउने यस जात्रामा खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्ने गरिन्छ। दैनिक जीवनको क्रममा भोग्नु परेको चिन्ता, असन्तोष अनि पीडाहरूलाई हँस्यौली र ठट्यौलीका रूपमा पोख्न पाइने यस रोपाइँ जात्राले हरेकको जीवनलाई सहज बनाउन मदद पुग्ने जन-विश्वास रहेको छ।  

देशैभर रोपाइँको थकान अनि तनाव भुल्न मनाइने यो उत्सव, फरक फरक ठाउँमा फरक फरक तरिका र नामले मनाइने गरेको पाइएको छ। रोपाइँ जात्रा कर्णाली प्रदेश तिर “चोपाइ जात्रा” को नामले पनि चिनिन्छ। त्यहाँको स्थानीय भाषामा “चोपाइ” भनेको “चोप्नु” हुन आउँछ। धेरै ठाउँहरूमा आजको दिन धान-खेतको मालिकलाई उसको खेत भित्र हिलोमा चोप्नु वा डुबाउनुपर्छ भन्ने मान्यता रहेको हुनाले यो जात्राको नाम चोपाई जात्रा भएको हो। कर्णालीका जिल्लाहरूको चलन अनुसार चोपाइ जात्रा मात्र नभएर एक प्रथा पनि हो। 

चोपाइ, बिहे भएको घरमा पहिलो वर्षको रोपाइँमा दुलाहा र दुलहीलाई मूल खेत घुमाउने उत्सवको रूपमा पनि प्रचलित छ। नेपालको मध्य र सुदूर पश्चिम तिर रोपाइँ गर्दा खेतको गरामा जुलुङ्गो वा पुल्ती राख्ने चलन छ। यस्तो पुल्तीलाई कुनै ठाउँ “कोठा” त, कतै “भकारी” र कतै “पोको” भन्ने गरेको पनि सुनिन्छ। नेवारीमा “ख्याँच्या” भनिने यस पुल्तीले ती स्थानहरूमा रोपाइँ जात्राको दौरान ठुलो महत्त्व बोकेको हुन्छ। विशेष गरी पुल्ती भने रोपाइँ गर्नेका छोरी वा चेलीहरूले राख्ने प्रचलन रहेको छ। जुम्लामा रोपाइँ गर्ने खेतमा पुल्ती राखे पछि विवाहित नव वर-वधू तथा नवजात शिशुलाई पनि पुल्तीको परिक्रमा गराइने गरिन्छ। 

पुल्तीको परिक्रमा पछि तिनलाई अक्षता, दुबो पहिराई खेत बाहिर पठाइन्छ। र, पुल्ती राख्ने चेलीले दुवै हातमा धानको बिउ लिई नगरा/नगडा को तालमा पुल्ती वरिपरि नाचेर चोपाइको लागि नव-विवाहित दुलाहाको बुवा वा नवजात शिशुको बुवालाई आमन्त्रण गर्ने गर्छन्। यसरी चोपाइको आमन्त्रण गर्ने बेलामा भने असारे गीत गाउने गरिन्छ। यसरी चोपाइको निमन्त्रण पश्चात् गाउँका तन्नेरीहरूले दुलहाको बुवा वा नवजात शिशुको बुवालाई हिलोमा डुबाउने/ चोपाउने गर्छन्। यसरी रोपाइँ जात्रा नेपालका सबै पश्चिमी जिल्लाहरू लगायत विभिन्न स्थानमा मनाइन्छ तर मनाउने तरिका भने केही फरक रहेको पाइन्छ।

रोपाइँ जात्राको क्रममा भाद्र कृष्ण तृतीयाको दिन लोग्ने मानिस आइमाईको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गर्दै, घोडचढीले त्यस जात्रामा रौनकता थप्ने, र परम्परागत कृषि जीवनको झ-झल्को दिने कार्यहरू गर्दै काठमाडौँको पशुपति क्षेत्र वरिपरि रहेका भकुंटोल, जय वागेश्वरी र तिल गङ्गाबाट जात्रा निकालिने चलन छ। त्यसै गरी बौद्ध स्तुपाको वरिपरि पनि विभिन्न समुदायले आफ्ना दिवंगगत व्यक्ति हरुको सम्झनामा यो जात्रा मनाउने गर्छन्।  

सुरुवाती समयमा नेवार समुदायले निकै धुमाधामका साथ मनाउने गरेको रोपाइँ जात्रा पछिल्लो समय उक्त समुदाय लगायत अन्य समुदायले पनि मनाउने र हरेक समुदायको बाक्लो उपस्थिति पनि हुने गरेको छ। पञ्चेबाजाको तालमा सङ्गीतमय रोपाइँ जात्रा देशका विभिन्न ठाउँहरूमा मनाइने गरिन्छ। लोप हुन लागेको पञ्चेबाजाको तालमा असारे गीत गाएर बिच सडक देखि बजारमा रोपाहारले बिउ रोप्ने, बाउसेले सम्म्याउने जस्ता कार्यका साथ गोरु दौडाएको दृश्य पनि यो जात्रा को प्रमुख आकर्षण हो। 

अनेकतामा एकताको रूपमा नेपालका हरेक समुदायको चाडपर्व, अनि जात्रा हरू रहेका छन्। नेपाल सांस्कृतिक रूपमा निकै धनी देश भएको र हरेक समुदायको चाडपर्व अर्का समुदायले समेत मनाउने यस देशमा एक अर्काको चाडबाड, रहन-सहन, भाषा, भेष-भूषा  आदि को जगेर्ना गर्दै, भावी पुस्ताको लागि हाम्रा अनगिन्ती चाड पर्वहरूको संवर्द्धन गर्नु पर्ने आजको आवश्यकता हो।  

रोपाई जात्रा – चोपाई जात्रा वा सिना ज्या जात्राको अवसरमा हरेक नेपालीलाई नेपाली पात्रोको तर्फ बाट धेरै धेरै शुभ-कामना।


Comments

    Hari

    nepal

    bharti

    tailor


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!