रामानुजाचार्य जयन्ती
By
Nepali Patro
रामानुजाचार्य जयन्ती प्रत्येक वर्ष मनाइने एक महत्वपूर्ण उत्सव हो, जसले प्रसिद्ध दक्षिण भारतीय दार्शनिक तथा धर्मगुरु श्री रामानुजाचार्यको जन्मदिनलाई सम्मान गर्छ। उहाँ भक्ति आन्दोलन र श्रीवैष्णव दर्शनको प्रवर्धनमा महत्वपूर्ण भूमिका निभाउने व्यक्तित्व हुनुहुन्थ्यो। दृक पञ्चाङ्ग अनुसार, श्री रामानुजाचार्य जयन्ती वैशाख महिनाको शुक्ल पक्षको पंचमी तिथि मा पर्दछ।
ऐतिहासिक पृष्ठभूमि
श्री रामानुजाचार्यको जन्म सन् १०१७ मा तमिलनाडुको श्रीपेरुम्बुदूरमा भएको थियो। उहाँको बाल्यकालीन नाम लक्ष्मण थियो, र उहाँलाई इलया पेरुमाल पनि भनिन्थ्यो। वैष्णव धर्म दर्शनका प्रमुख व्याख्याता मध्ये एक मानिने रामानुजाचार्यले आफ्नो जीवन भगवान् विष्णुको भक्ति र सेवामा समर्पित गर्नुभयो। सन् ११३७ मा उहाँको महापरिनिर्वाण श्रीरंगममा भएको थियो।
रामानुजाचार्यको दर्शन
श्री रामानुजाचार्यको प्रमुख योगदान विशिष्टाद्वैत वेदान्त दर्शनको प्रतिपादन हो। यो दर्शन अद्वैत वेदान्त भन्दा भिन्न छ, जसले परम सत्यलाई एक अद्वितीय अस्तित्वका रूपमा हेर्छ। रामानुजाचार्यले भने कि ब्रह्माण्ड, जीवात्मा (व्यक्तिगत आत्मा) र परमात्मा (भगवान्) परस्पर भिन्न भए पनि एकआपसमा गहिरो रूपमा सम्बन्धित छन्।
उहाँका अनुसार, सबै जीवहरू भगवान्को अंश हुन्, तर तिनीहरूको अलग अस्तित्व रहन्छ। मोक्ष (मुक्ति) प्राप्त गर्न भगवान् विष्णुप्रति शुद्ध भक्ति आवश्यक छ। उहाँका शिक्षाले भक्ति आन्दोलनलाई मजबुत बनायो, जसले भक्ति, निष्काम सेवा र नैतिक जीवनलाई आत्मिक मुक्तिको मार्गका रूपमा स्वीकार गर्छ।
रामानुजाचार्यका प्रमुख कृतिहरू
श्री रामानुजाचार्यले हिन्दू दर्शनलाई सरल र सर्वसुलभ बनाउने विभिन्न महत्वपूर्ण ग्रन्थहरू लेख्नुभयो। वेदार्थ सङ्ग्रहले वेदहरूको अर्थलाई स्पष्ट पार्दै मानिसहरूलाई गहिरो ज्ञान दिन्छ। श्री भाष्य ब्रह्मसूत्रमाथि लेखिएको विस्तृत व्याख्या हो, जसले विशिष्टाद्वैत वेदान्तलाई आधार प्रदान गर्छ। भगवद् गीता भाष्यमा भक्ति (श्रद्धा र प्रेम) लाई आध्यात्मिक उन्नतिको प्रमुख साधनका रूपमा वर्णन गरिएको छ। गद्यत्रय (शरणागति गद्य, श्रीरंग गद्य, वैकुण्ठ गद्य) ले परमात्मामा पूर्ण समर्पणको महत्त्वलाई बुझाउँछ। यी कृतिहरू आज पनि भक्तजनहरूको मार्गदर्शन र प्रेरणाको स्रोत बनेका छन्।
रामानुजाचार्यको विरासत
रामानुजाचार्यको शिक्षाले धार्मिक सीमाभन्दा बाहिर गएर सामाजिक सद्भावको प्रवर्द्धन गरेको थियो। उहाँको दर्शनले सबै जातजाति र वर्गका मानिसलाई समान रूपमा भगवान्को भक्ति गर्न प्रेरित ग-यो।
उहाँको सम्मानमा सन् २०२२ मा हैदराबादमा २१६ फिट अग्लो “स्ट्याच्यु अफ इक्वालिटी” (समताको मूर्ति) अनावरण गरिएको थियो। यो भव्य स्मारकले उहाँको सामाजिक समरसता, भक्ति, र आध्यात्मिक ज्ञानको दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ।