
रवि सप्तमी व्रत
By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .भगवान् सूर्यनारायणको विशेष उपासना गर्ने दिनका रूपमा रवि सप्तमी लाई लिइन्छ। सूर्यदेवको कृपा हामी सबैलाई बनिरहोस्, रोग नलागोस् र शोक नपरोस् भनी सूर्यनारायणको उपासना गरिन्छ। रोग र शोकको हरण गर्ने, विद्याबुद्धिको उत्तरोत्तर प्रगति गराउने कार्य सूर्यनारायणले गर्नुहुन्छ। विद्याबुद्धिकै लागि गायत्रीमन्त्रद्वारा पनि सूर्यदेवको नै उपासना गरिन्छ। यस वर्षका वर्षदेवता पनि सूर्यदेव नै हुनुहुन्छ ।
रविवार सप्तमी तिथि परेको दिनलाई सूर्यनारायणको व्रत गर्ने उत्तम दिन मानिन्छ।
अमा वा सोमवारेण रविवारेण सप्तमी ।
चतुर्थी भौमवारेण विषुवत्सदृशं फलम् ।।
(अर्थ— सोमवारे औंसी, रवि सप्तमी, मंगल–चौथी, बुधाष्टमी, यी दिनहरू अत्यन्त पुण्यफलदायी मानिन्छन्।)
मनले चिताएका सबै कामना पूर्ति हुने, अपुत्रलाई पुत्रप्राप्ति, कुमारीले राम्रो दुलाहा पाउने, जे–जे कामना गरेर व्रत गरिएको हो त्यो सबै कामनाअनुसारको फल रवि सप्तमीको व्रत गर्नाले प्राप्त हुन्छ । अतः रवि सप्तमी व्रत नित्य पनि हो र कामनाविशेषले गरिने भएकाले काम्य पनि हो ।
रवि सप्तमी – व्रत लिने विधि
क) पूजा सामग्री तयार गरी कर्मपात्रो (तिलानि= तामाको भाँडामा कुश, जल, तिल, जौ, चन्दन, अक्षता, फूलपाती मन्त्रसहित राखिएको, संकल्प गर्दा कुश लिने पात्र ) बाट कुश लिई संङ्कल्प गर्ने–
…..अद्य रविसप्तम्यां मम समस्त –रोग–निवारणार्थं – आयुष्य–वृद्ध्यादि–सकलकामनासिद्धये (…आफूले चिताएको कुरा भए यहाँ उल्लेख गर्ने) श्री सूर्यनारायण–प्रीत्यर्थं दीप–कलश–गणेशादि–पूजनपूर्वकं रविसप्तमी–व्रतमहं करिष्ये ।
ख) दीयो, कलश, गणेश, रक्षाबन्धन र कलशका मुखमा गणपति आदि देवताहरूको पूजा गरेर तामाको थालीमा रातो चन्दनले अष्टदल लेखेर सूर्यदेवको ध्यान गर्ने –
(रातो फूल लिएर हात जोडेर यो मन्त्रले ध्यान गर्ने)
तेजोरूपं सहस्रांशुं सप्ताश्व –रथगं वरम् ।
द्विभुजं वरदं पद्मं लाञ्छनं सर्वकामदम् ।।
यसपछि प्राणप्रतिष्ठा आदि गरेर सूर्यको षोडशोपचारले पूजा गर्नुपर्दछ ।
यसरी पूजा गर्दा धूप–दीपको क्रममा पुगेपछि सूर्यनारायण भगवानका अङ्गहरूको पूजा गर्नुपर्दछ—
१. मित्राय नमः पादौ पूजयामि।
२. रवये नमः जंघे पूजयामि।
३. सूर्याय नमः जानुनी पूजयामि।
४. खगाय नमः ऊरू पूजयामि।
५. पूष्णे नमः गुह्यं पूजयामि।
६. हिरण्यगर्भाय नमः कटिं पूजयामि।
७. मरीचये नमः नाभिं पूजयामि।
८. आदित्याय नमः जठरं पूजयामि।
९. सवित्रे नमः हृदयं पूजयामि।
१०. अर्काय नमः स्तनौ पूजयामि।
११.भास्कराय नमः कण्ठं पूजयामि।
१२. अर्यम्णे नमः स्कन्धौ पूजयामि।
१३. प्रभाकराय नमः हस्तौ पूजयामि।
१४. अहस्कराय नमः मुखं पूजयामि।
१५. प्रध्नाय नमः नासिकां पूजयामि।
१६. जगदेकचषुक्षे नमः नेत्रे पूजयामि।
१७. सवित्रे नमः कर्णौ पूजयामि।
१८.त्रिगुणात्मधारिणे नमः ललाटं पूजयामि।
१९. विरिञ्चिनारायणशङ्करात्मने नमः शिरः पूजयामि।
२०. तिमिरनाशिने नमः सर्वाङ्गे पूजयामि।
यसपछि धूप–दीप, नैवेद्य, फल, ताम्बूल, दक्षिणा आरती पुष्पाञ्जलि, पूर्णपात्रो, दक्षिणासंकल्प गरी अर्घ्य दिई विसर्जन गर्नुपर्दछ।
अर्घ्य दिने मन्त्र—
नमः सहस्रकिरण ! सर्वव्याधिविनाशन !!
गृहाणार्घ्यं मया दत्तं संज्ञया सहितो रवे ।।
यसपछि विसर्जन गरेर टीका–प्रसाद लगाएर सूर्यनारायणको भजनकीर्तनका साथ रात्रिमा जाग्राम बस्नु पर्दछ ।
मे 8, 2022 1 हप्ता
रवि सप्तमी,सोमवारेऔंसी, मंगल चौथो,बुध अष्टमी, गुरू पूर्णिमा,
अनि शुक्रबार र शनिबार चै के हुन्छ?
क्रिपया जानकारी पाऊँ हजुर ।
मे 8, 2022 1 हप्ता
हरि ॐ श्री सूर्य ☀️ नारायण भ्यो नमो नमः
अनमोल शव्द हरु
जय हवस् तपाइँको ॐॐॐ ॐॐ