No Image
नेपाली पात्रो > चाडपर्व > योमरी पुर्णे – योमरी पुर्णिमा – य:मरी पुन्ही – धान्य पुर्णिमा

योमरी पुर्णे – योमरी पुर्णिमा – य:मरी पुन्ही – धान्य पुर्णिमा

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
डिसेम्बर 29, 2020

आज योमरी पुन्ही / योमरी पूर्णिमा / योमरी पूर्णे एक महत्त्वपूर्ण पर्व हो जुन बिशेषत खेती-किसानी गर्ने नेवार समुदायको महत्त्वपूर्ण चाड हो, योमरीलाई यमरी पनि भन्ने गरिन्छ। नेवा: भाषा अर्थात् नेपाल भाषामा योमरी भनेको मन पर्ने रोटी हो भने पुन्ही भनेको पूर्णे/ पूर्णिमा हो । खेतबारीबाट नव अन्न घर भित्राएपछि एक विशेष प्रकारको रोटी बनाएर कुल देवता, इष्ट देवता तथा पितृहरूलाई चढाए पछि आफूले पनि प्रसादको रूपमा ग्रहण गर्ने नेवा: परम्पराको चाड नै योमरी पुन्ही हो ।

योमरी परिचय

नेपाल संवत् पात्रो अनुसारको “थिल्ला:- विक्रम सम्बतको पौष/माघ ), ने. स. को दोस्रो महिनाको पूर्णे, मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथिमा अर्थात् धान्य पूर्णिमाको दिनमा मनाउने यो चाडलाई नेवा समाजमा “थिंल्लापुन्हि” को नामले पनि चिनिने गरिन्छ। यसरी नै योमरीलाई य:मरी अथवा योमरी भनेर लेख्ने चलन पनि छ, तर जसरी लेखे पनि वा जुन नामले बोलाए पनि नेवार समुदायको यो महत्त्वपूर्ण चाडमा बनाइने यस खानेकुरा सारै मिठो हुनुको साथै अहिले आएर योमरी अरू समुदायले समेत बनाउने र खाने प्रचलन दिनानुदिन बढ्दै गएको छ। यी कुराहरूलाई मध्यनजर गर्दा योमरी को लोकप्रियता एक समुदायमा मात्र नभएर अन्य समुदायले समेत रुचाएको तथ्यलाई उजागर गरेको छ। हरेक नेवार किसान परिवारको खेतमा उब्जेको उक्त वर्ष को नयाँ धानलाई चामल बनाउने र सो चामलको पिठोबाट योमरी बनाउने गरिन्छ । नेवार (नेवा:) समुदायको यस चाडमा चामलको पिठोमा तातो पानी हाल्दै मुछ्ने र डल्लो बनाई एक छेउ चुच्चो पार्ने र त्यस डल्लो मा औँलाको सहायताले खाल्डो पारि गोलाकार स्वरूप आए पछि उक्त खाल्डो मा चाकु र तिलको मिश्रण हाली त्यसलाई बन्द गरिन्छ। बन्द गर्दा उक्त भागलाई माछाको पुच्छर को आकार अथवा अरू मन पर्ने आकार दिने गरिन्छ। यसरी बनाएको योमरी बाफले पकाउने गरिन्छ, चामलको पिठो, नेवारीमा “पोचुं” तरिका बाट बनाई योमरी बाफले पकाउने भएकाले योमरी स्वस्थ, स्वादिलो र स्वास्थ्यवर्धक खाने कुराको रूपमा लिन सकिन्छ अनि यो परिकार सबैका लागि उपयुक्त मानिन्छ ।

योमरी मान्यता

नेवार समुदायको मान्यता अनुसार आजैको दिनबाट जाडो याम सुरु हुने मान्यता रही आएको छ। त्यसै कारण जाडोबाट जोगिन यमरी खाने चलन चलेको हुन सक्ने जानकारहरू भन्ने गर्छन् । यद्यपि अहिले सहर बजारमा विभिन्न स्थानहरू मा चाकु, तिल, मास, मुङ, खुवा, हरुको साथ अदुवा तथा लसुन समेत हालेर बनाइएको तातो-तातो यमरी खाजाको रूपमा समेत पनि प्रचलित हुँदै गइरहेको देख्न सकिन्छ। सम्पूर्ण नेवार समुदाय हरुको मान्यता र विश्वास अनुसार यसरी चाकु, तिल, मास, मुङ, खुवा इत्यादि हरुको साथ अदुवा र लसुन प्रयोग गरी बनाएको यमरी खानाले जाडो कम हुन्छ भन्ने जनविश्वास रहेको छ । अहिले को समयमा भने मधुमेह, अमलपित्त, कब्जियत आदि रोग बाट ग्रसित हरुले भने चाकु हालेर बनाएको यमरीको सट्टा मास, मुङ प्रयोग गरी बनाइएको यमरी खानु स्वास्थ्यको लागि लाभदायक हुन्छ।

योमरी सम्बन्धी पौराणिक कथा

त्यसै गरी यमरी पूर्णे / य:मरी पुन्ही सँग गाँसिएको आफ्नै पौराणिक कथा पनि छ, जुन कथाले यमरीको प्रयोग, साथै यो मिठो खानेकुरा उपभोग गर्ने चलन कताबाट सुरु भएको हुन सक्छ भन्ने ’boutमा केही जानकारी दिन्छ। उक्त पौराणिक कथा अनुसार “पाञ्चाल राज्य” अर्थात् अहिलेको “पनौती” मा सुचन्द्र नाम गरेका एक महाजन बस्थे । महाजन सुचन्द्र निकै दानी भएको सुनेर धनधान्यको देव “कुवेर भगवान् एक गरिबको भेषमा उक्त दानीको घरमा माग्नेको भेषमा माग्न पुग्दछन्। महाजन दम्पतीले मार्ग शुल्क पूर्णिमाको दिन (थिल्ला पुन्हिका दिन ) एकाबिहानै चोखो नित्य गरी नवान्न चामलको पिठो बाट चाकु र तिल रोटी बनाएर त्यस विशेष प्रकारको रोटीलाई अन्न भण्डारमा राखेर लक्ष्मी र कुबेर लगायत देवतालाई पूजा गर्ने गर्थे । धनका राजा कुबेर भेष बदलेर सुचन्द्र दमपतिलाई छल गर्न आउँदा उक्त अवसरमा सुचन्द्रकी पत्नीले कुवेरको सक्दो स्वागत सत्कार गरी मिष्ठान्न भोजन गराएको र नवान्न चामलको पिठो बाट चाकु र तिल मिश्रित विशेष प्रकारको रोटी समेत भगवान् कुवेर को सत्कार मा पेस गर्छन्। तब यस स्वागत सत्कार बाट भगवान् कुवेर अत्यन्त प्रसन्न भएर आफ्नो वास्तविक स्वरूप देखाउँछन् । उनले सुचन्द्रकी पत्नीको हातमा एक बिमिरो दिँदै आजैको दिनबाट धानको भकारीमा रहेको धान (धन/ धान्य) को पूजा गर्ने विधि सिकाउँछन् । यसरी धनका देव कुबेर प्रसन्न हुनु भई दर्शन दिनुभई महाजनलाई झनै धनाढ्य गरेर फर्कनु भएछ। यसरी यो घटना त्यस नगरका नगरबासीले थाहा पाई अन्य नगरबासीले पनि थिंल्लपुन्हिका दिन नव अन्न अर्थात् नवान्न चामलको पिठो प्रयोग गरी यमरी पकाई अन्न भण्डारमा भण्डार गरी देव देवताहरू तथा पितृहरूलाई चढाई पूजा आजा गरी आफूहरूले पनि प्रसादको रूपमा ग्रहण गरी अन्य व्यक्तिले माग्न आएको खण्डमा लोक जनलाई समेत बाढ्ने परम्परा बसालेका हुन् भन्ने जनश्रुति पाइन्छ।

त्यस दिन अर्थात् आजको दिन देखि सुचन्द्रको पत्नीले भगवान् कुवेरले सिकाएको तरिका अपनाई नयाँ भित्राइएको धानबाट पिठो बनाई उक्त पिठोबाट श्री लक्ष्मी, श्री कुवेर, श्री गणेशका साथ श्री कुमार को मूर्ति बनाएर बिमिरोको आकृतिमा यमरी पनि बनाई, त्यस यमरी धानले भरिएको भकारीमा राखिएको धानलाई विधिपूर्वक पूजा गरेझैँ आज पनि त्यसो गर्दा परिवार धन-धान्यले परिपूर्ण हुँदै जान्छ भन्ने मान्यता अझै पनि कायम नै रहेको छ। यसै कारणले गर्दा आजको दिनलाई धान्य पूर्णिमाको रूपमा मान्ने चलन पनि रही आएको छ। आजकल पहिले जस्तो सबैको घरमा धानको भकारी नहुने हुँदा, मानिसहरू यस दिन घरमा धान चामल सञ्चित गर्ने भाँडोलाई भए पनि विधिपूर्वक पूजा गर्ने चलन अद्यपि रही आएको छ। मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथिलाई धान्य पूर्णिमा भन्दछन्। असारमा रोपेको प्रमुख बाली धान मङ्सिर मा थन्क्याएपछि धर्ती मातालाई कृतज्ञता व्यक्त गर्न धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ। यस दिन पृथ्वी माताले दिएको धानप्रति आभार व्यक्त गर्दै पृथ्वीको समेत पूजा आजा गरिन्छ। ‘भकारीमा भरेको धान कहिल्यै कम नहोस् र धनधान्यले भरिभराउ रहोस्’ भन्ने कामनासहित मनाइने यो पूर्णिमालाई यसै कारण ‘धान्य पूर्णिमा’ भन्ने गरिएको हो।

केही वर्ष यता ज्यापु समुदायले पनि आजको दिनलाई “ज्यापु दिवस” को रूपमा मनाउन सुरु गरेका छन्। आजकै दिन पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा तथा गोठ पूजा गरी गैडु पूजा गर्ने समेत विधान पनि रही आएको छ । किरात समुदायको उँधौली पर्व पनि आजैको दिनमा मनाउने चलन छ । कृषि सभ्यतामा आधारित यस पर्वमा अन्नबाली भित्र्याएको खुसीयालीका साथै लेखबाट जाडो छल्न मानिस, जनावर र चराचुरुङ्गी बेँसीतिर झर्ने सङ्केतको रूपमा यो पर्व मनाउने चलन चल्दै आएको छ। मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथिमा पर्ने यस पर्वमा धान्य पर्वत दान गर्नुका साथै धान्यलक्ष्मीको पूजा गरिन्छ । धान्य पूर्णिमाका दिन धनेश्वर,अनन्तलिङ्गेश्वरमा मेला लाग्दछ भने अवधूत दत्तात्रयको जन्म जयन्ती मनाइन्छ । यसर्थ आजको दिन य:मरी पुन्ही (यमरी पूर्णे) / धान्य पूर्णिमा र ज्यापू दिवस जस्ता विभिन्न नामहरू बाट चिनिन्छ । पाञ्चाल राज्यको पौराणिक कथा अनुसार पनौती यमरीको उद्गम स्थल को रूपमा रहेको हुनाले अहिले पनौतीलाई य:मरी/ यमरी सहरको रूपमा चिनाउन पनि थालिएको छ।

गित

नेवा परम्परा अनुसार आजको दिन बच्चा बच्चीहरू सहित ठुलाबडा समेत नजिक को घरहरूमा गएर गीत गाउँदै यमरी माग्ने चलन पनि रहेको छ । तर समयको परिवर्तन सँगै यो चलन अहिले भने बिस्तारै लोपोन्मुख अवस्थामा पुगिसकेको छ। त्यसरी यमरी माग्ने गीतको नाम “त्य: छिंत्य:” हो भने गीतको बोल तल दिएका छौ ।

त्य:छिं त्य: वकछीं त्य: लातापाता कुलिचाँ जुस त्यः ।
य:मरी च्वामु उकिई दुने हामु, ब्युसा माकु मब्युसा फाकु ।।
ब्युम्ह ल्यासे मब्युम्ह बुरि कुति ।
अथवा
त्य:छिं त्य: वकछीं त्य: लातापाता कुलेचाँ जुछिंत्य: ।
योमरी च्वामु उकी दुने हाकु, ब्युसा माकु मब्युसा फाकु ।।
ब्युसाल्यासे मब्युस बुढी कुटी ।। ।

घरधनीहरूले पनि यसरी त्य: छिंत्य: गाउँदै माग्न आउनेहरूलाई यमरी र आ-आफ्नो दक्ष अनुसार धान र दक्षिणा दान दिएर बिदा गर्ने चलन रहेको छ । अरू समुदायमा तिहारमा द्यौसी भैलो खेल्ने चलन भए जस्तै नेवा: समुदायमा यमरी पूर्णेका दिन “त्य:छिं त्य:” र इन्द्रजात्रा (येँयाँ पुन्हि) को दिन “याँ पुन्हि, लाछकु वयेक सम्हेबजी , वल वल पुलुकिसि” जस्ता गीतहरू घर-घर गएर गाउने र खेल्ने परम्परा पहिला जस्तो धेरै नभए पनि केही मात्रा मा चलनचल्तीमा अझै पनि छन् ।

सनातन धर्म मान्ने नेपालीहरूले आ-आफ्नो मौलिक पहिचान अनुसार एक वर्षमा विभिन्न तिथि-मितिहरूमा धेरै दिनहरू विशेष वार्षिक चाड पर्वका रूपमा मनाएर आ-आफ्नो जातजाति , वर्ग तथा समुदायको मौलिक पहिचान दिने गरेका छन् । यसरी विभिन्न समुदायहरुले आ-आफ्नो मौलिक पहिचान अनुसार वार्षिक चाड पर्वहरू मनाएर आफ्नो मात्र पहिचान दिने काम नभई समग्रमा भन्ने हो भने देशको नै विशेष पहिचान देखाउने कार्य गर्दै आएकोमा दुई मत छैन। यसरी विभिन्न समुदायहरुको आ-आफ्ना विभिन्न चाडपर्वहरू मध्ये नेवा: समाजले मनाउने “य:मरी पुन्ही “ पनि एक महत्त्वपूर्ण चाड हो। त्यसै गरी यस दिन अन्य विभिन्न समुदायले आ-आफ्नै रीतिथिति, परम्परा र संस्कृति अनुसार धान्य-पूर्णे (धान्य-पूर्णिमा) आजको दिनमा मनाउने गरेका छन्। धान्य पूर्णिमा पनि अरू पर्व झैँ एक विशेष पर्व भएकोले यस उपलक्ष्यमा आज बनेपा स्थित धनेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।

यसरी नै उत्तरी नेपालका सनातन धर्मावलम्बी हरुले गैडपूजा गर्छन्, किराँती समुदायले उँघौली पर्वका रूपमा र अरू केही समुदायहरूले कुलदेव वा कुलदेवी (कुलायन) पूजा गरी यस पर्व मनाउने चलन रही आएको छ । बौद्ध धर्मावलम्बी हरूमा पनि आजको दिन बौद्ध स्तुपा, स्वयम्भू, काठे स्वयम्भू (श्री घः चैत्य) लगायतका विभिन्न चैत्य तथा विहारहरू गएर भगवान् बुद्धको प्रार्थना गर्ने चलन चल्ती समेत रहेको छ ।

सङ्छिप्तमा भन्नु पर्दा आजको दिन, नयाँ अन्न राख्ने भकारी वा चामल, धान भण्डारण गर्ने, भकारी मा यमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नाङ्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति हरू सहित चेप्टो स-सानो पात आकारको “ल्होँचामरी” (चाकु बिनाको ढुङ्गाको आकारको बफाएको चामलको पिठोको डल्लो ) बनाई पूजा गरी चढाउने गरिन्छ। जनविश्वास र धार्मिक आस्था अनुसार यमरी लाई भकारी वा अन्नका भण्डारमा चढाउँदा धन सम्पति र अन्न लाभ हुने गर्दछ । चार दिन पश्चात् भकारी र भण्डारमा पुनः पूजा गरेर, लक्ष्मी र कुबेर लगायत देवताहरू सँग पहिलो दिन चढाइएका यमरी, फुल आदी प्रसादको रूपमा ग्रहण गर्न को लागि अनुमति लिने गरिन्छ जुन प्रक्रियालाई नेवारी भाषामा “स्वाँ क्वकाय ” को नामले चिनिन्छ। स्वाँ क्वकाय गरे पछि भने यमरी र फुल प्रसाद आदी ग्रहण गरेर सबै परिवारमा बाँडेर खाने चलन चल्ती रहेको छ । आजको दिन विवाह भैसकेका चेलीबेटीलाई समेत माइती घर बोलाएर प्रसादका रूपमा यमरी खुवाउने चलन भने धेरै अगाडी देखि को नेवारी चलन हो। नेवा: समुदायको जनविश्वास अनुसार आज देखि दिन देखि यमरी को चुच्चो जस्तै दिनहरू लामा र तिल जति रात छोटो हुँदै जान्छ। नेवा: समुदाय ले यमरी लाई पृथ्वीको स्वरूप पनि मान्ने गर्दछन् , यसको एक चुच्चो उत्तरीय धुर्व र अर्को चुच्चो दझिण धुर्व र त्यस भित्र रहने तिल आदी मिस्त्रित चाकु भने पृथ्वी भित्र अत्यन्त तातो अवस्थामा रहने चट्टान आदि को तरल “लाभा” मानिन्छ।

यसरी सामान्य तरिकाले हेर्दा यमरी पुर्णे चाड वर्ष को एक पटक आजको दिन मात्र महत्त्व राख्ने नभएर अरू पनि धेरै विशेष अवसरहरूमा यमरीको त्यत्तिकै महत्त्व राख्दछ। देव-देवताहरूलाई चढाउने यमरी मा तिल र चाकुको मिश्रण हाल्ने चलन छ भने अरू विशेष अवस्थाहरुमा यमरी माला गाँस्नको लागि पनि बनाइने गरिन्छ। त्यसैले विभिन्न अवसरमा यमरी भित्र तिल चाकुहरूको सट्टा पञ्चतत्वको प्रतीक पाँच वटा अक्षता राख्ने चलन-चल्ती रहेको छ । विशेष अवसर, जस्तो नेवार समुदायमा बच्चाको जन्मदिनहरू, विवाह भई गएका छोरीको गर्भावस्था आदी विशेष उपलक्ष आदि लाई मान्न सकिन्छ। नेवार समुदायमा बच्चाहरूको जन्मदिनहरूमा पनि यमरीको माला बनाएर त्यो माला लगाइ पूजा गर्ने चलन छ । समुदायमा कसैकसैले बच्चा १२ वर्ष पुगुन्जेल हरेक वर्ष यमरी को माला बनाई पूजा गरी माला लगाइदिने चलन छ। त्यस्तै, कोही भने आफ्ना केटाकेटी २ वा ४ वर्ष पुग्दा दुई पटक मात्र जन्म दिन को दिनमा यमरीको मल बनाई त्यो माला लगाइदिएर पूजा गर्ने गर्छन्। कसै-कसैले १२ वर्षसम्म नै हरेक जन्म दिनमा यमरीको माला लगाई पूजा गर्ने चलन चल्ती रहेको पनि देख्न सकिन्छ । बच्चाको जन्मदिनमा उसलाई दुई वर्ष पुगेको बेला दुई वटा यमरी को माला , चार वर्ष पुग्दा चारवटा एवं रितले १२ वर्ष सम्म नै यमरिको माला लगाइदिने चलन पनि देख्न सकिन्छ। त्यसै गरी विवाह भई गएका छोरीको गर्भावस्थामा बच्चा जन्मनु अघि माइतीबाट दही-चिउरा ( धौबजि नक: वनेगु) (अरु समुदाय मा पनि रहेको चलन) खुवाउन जाने चलन रहिआएको छ । यसरी दही चिउरा खुवाउने अवसर मा समेत पनि यमरी लानु पर्ने चलन रहेको छ । त्यसै गरी नयाँ घर निर्माण होस् वा कुनै नयाँ मन्दिर बनाउँदा होस् निर्माण कार्यको समाप्ति भए नव निर्मित घर वा मन्दिरको धुरी वा गजुर माथि बाट पूजा गरेर यमरी खसाल्ने चलन पनि धेरै ठाउँ मा महत्त्वपूर्ण चलन को रूपमा देख्न सकिन्छ । तर ,यी नियमहरू ठाउँ अनुसार फरक तरिका को हुने देखिन्छ। त्यसै गरी पाटनको रातो मच्छिन्द्रनाथको रथ र काठमाण्डौको सेतो मच्छिन्द्रनाथको रथ तान्ने बेला पनि रथ तान्नु अघि सुरुवातमा रथको टुप्पो बाट यमरी खसाल्नु पर्ने परम्परा रही आएको छ। नेवा: समुदाय भित्र यमरिको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्त्व रहेको छ। तर नेवा: समुदायभित्र पनि केही जातजाति र केही खलक भने त्यस दिन देवाली पर्ने हुँदा त्यस दिन अर्थात् यमरी पुन्हीको दिनमा यमरी पकाउनु हुँदैन भन्ने परम्परा र चलन समेत रहेको पाइन्छन् तर अरु दिन यमरी बनाउने भने गर्ने गर्छन् ।

सारंश

अहिले नेपालीहरू विभिन्न विदेशी भूमिमा रहेका छन् र आफ्नो परम्परालाई निरन्तरता दिन तथा विदेशी भूमिमै भए आफ्नो संस्कृति बचाउने र यस दिन आफ्नो देशमा भएको बेला झैँ आफ्ना विभिन्न पर्व चाडबाड हरू मनाउने गर्छन्। त्यसै भएर पनि होला विदेशमा रहेका नेवा समुदाय हरुले पनि विदेशमा समेत यमरी पूर्णिमा मनाउने चलन धेरै देखिन थालेको छ । उदाहरणको लागि, इजरायलमा बस्ने नेवारी समुदाय “राष्ट्रिय नेवा: खल इजरायल” को आयोजनामा नेवारी समुदायको राष्ट्रिय पर्व य:मरी पुन्ही केही वर्ष यता हरेक वर्ष मनाउँदै आएका छन् । यसरी विदेशी भूमिमा नेवार समुदायको एकता प्रदर्शन गर्दै आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्दै जाने उद्देश्यका साथ स्थापित राष्ट्रिय नेवा समुदाय अरु देशहरुमा पनि नेवा: खल इजरायलले आफ्नो पहिचानका लागि चाड पर्वहरू मनाउँदै आए जस्तै मनाउँदै गएको खण्डमा समुदायको चाडपर्व हरुको साँचो रूपमा संवर्धन हुने छ। तर बिडम्बना को कुरा के छ भने सहरी क्षेत्र तथा केही नयाँ पीढीले य:मरी पुन्ही र धान्यपूर्णिमा जस्ता पर्व हरू आफ्नो परम्परालाई छोडिसकेका पनि छन् । तर कुनै पनि समुदाय ले आफ्नो रीति, रिवाज, चाडपर्व मनाउन छोड्नु राम्रो भने अवश्य पनि होइन, किन कि यसो गर्दा त आउँदो नयाँ पुस्ताले आफ्नो पहिचान नै गुमाउने डर रहन्छ।


Related Posts

धान्य पूर्णिमा, उँधौली पर्व र योमरी पुन्ही

By उपप्रा. लक्ष्मीप्रसाद बराल in राष्ट्रिय दिवस .
डिसेम्बर 22, 2018

Comments

    ravi Shrestha

    Yek dum ramro lagyo… Rachana dhanyabaad.


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!