No Image

यल पञ्चदान

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
जुलाई 27, 2021

यल पञ्चदान। किम्बदन्ती अनुसार नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको पर्व हो “पञ्चदान पर्व”। पञ्चदान पर्व गुँला महिना अर्थात् श्रावण महिना मा पहिलो पटक श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ। यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वीहरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। आजको पर्व “यल” अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै यो पर्वको नाम “यल पन्चदान” भएको हो। साथै, यही महिनामा गुँला पर्व पनि मनाउने गरिन्छ। शाक्य मुनी बुद्धलाई बुद्ध हुने भविष्यवाणी गर्ने बुद्ध नै दिपंकर बुद्ध थिए।

पहिलो पटक आजको दिन पाटनमा मनाए बाहेक दोस्रो पटक भने भाद्र कृष्ण त्रयोदशीको दिन काठमाडौँ लगायत भक्तपुर, ठिमी, बनेपा, पनौती, र कीर्तिपुर आदि ठाउँहरूमा यो पर्व मनाइन्छ। यस पर्वले बौद्ध दर्शनमा अत्यन्त पवित्र मानिएको दानको महत्त्व दर्साएको छ। 

एउटा प्रख्यात जनश्रुति अनुसार पाटन नगरमा भिक्षाका लागि भिक्षु दीपंकर आएका बेला उनलाई तत्कालीन राजाले धेरै दान दिए पनि उनले ग्रहण गरेनन्। त्यसै गरी त्यस बेलाको पाटनको गुइत विहारमा बस्ने लक्ष्मी थकु नामक एक गरिब महिलाले श्रद्धापूर्वक दिएको भिक्षा दान भने भिक्षु दीपंकरले बढो कृतज्ञताका साथ ग्रहण गरे। यो घटना सुनेपछि राजाले सुनारको रूपमा काम गरेर धन आर्जन गर्न थालेछन्। यसरी आफ्नै पसिनाले आर्जित धन बाट विभिन्न वस्तुहरू सङ्ग्रह गरी राजाले भिक्षु दीपंकर सामु समर्पण वा भिक्षा दान गरेको अवस्थामा भने उनले ग्रहण गरेछन्। 

यसै जनश्रुति अनुसार बौधमार्गीहरूले आर्जन गरेको धन वा आयको केही अंश दानका लागि राख्ने र आजको पर्वमा दान गर्ने प्रचलन रहँदै आएको छ। यसरी आजको दिन दिपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन चलेको भनिन्छ। यस पर्वमा बौद्ध मार्गी नेवारहरूले पञ्चदानको महिमा मनन गर्दै दीपंकर बुद्धको भव्य पूजा गर्ने गर्छन्।

सामान्य अर्थमा पञ्चदानको अर्थ पाँच वस्तुको दान हुने भएता पनि त्यसो नभई नेपाल भाषामा पञ्जरा भनिने पञ्च दानको अर्थ “पुण्य दान” हुने गर्छ। र, नेपाल भाषा अनुसार पञ्जराको अर्थ खीर हुने भएकाले आजको दिन नेवार समुदायले खीर पकाई बुद्धलाई चढाउने चलन समेत रहेको छ। यही महिनामा सम्पूर्ण नेपाली हरू माझ असारको धान रोपाई सकिए पछि साउन १५ को दिन खिर खाने चलन रहेको छ। यसरी घरमा पाकेको खिर दानको रूपमा बाहेक घर परिवार, नाता गोता, इस्ट मित्र सबैलाई खुवाउने चलन पनि रहेको छ। 

बौद्ध मार्गी नेवार समुदायले आज आफ्नो ’round रहेका विभिन्न विहार, बही, चोक सहित घरमा पनि दान शाला बनाउने र त्यहाँ बाट अन्न, फलफूल, गेडागुडी र दक्षिणा आदि दान दिने गर्छन्। बुद्ध धर्मका अनुयायी मध्ये बज्राचार्य, बुद्धाचार्य, शाक्य हरू अन्न, फलफूल र दक्षिणा दान लिन दिनभर भिक्षाटनमा सहभागी हुन्छन्।  

शाक्य मुनी बुद्धको बोधि ज्ञान प्राप्ति पछि विभिन्न मार्गहरूको रूपमा बुद्ध धर्म विकसित भयो। काठमाडौँ उपत्यकाका नेवारहरूमा ती विकसित मार्गहरू (श्रावक यान, महायान बज्र यान) मध्ये बज्र यान बुद्ध धर्मको प्रभाव रहेको छ। यसरी बज्र यानि परम्परा अनुसार उनीहरूले विभिन्न संस्कृतिहरू विकास गरेका छन्। जुन परम्परा अनुसार विभिन्न चर्याहरू विकास अनि प्रयोग गरी यही जन्ममा नै बुद्ध हुन सकिने सिद्धान्त अपनाएको देखिन्छ। 

ती विभिन्न चर्याहरूमध्ये काठमाडौँ उपत्यकाका नेवार बौद्धहरूले प्राचीन कालदेखि नै दानको अभ्यासलाई निकै महत्त्वपूर्ण स्थान दिँदै आएका छन्। जस अनुरूप विभिन्न तरिकाले दान दिने अभ्यास पनि गर्दै आएका छन्। यसरी दानको अभ्यासलाई विशेष दिन पारेर पर्वको रूपमा विकास गरिएको पर्व नै पञ्चदान पर्व मान्न सकिन्छ। यस समुदायको साथै बौद्ध धर्ममा पनि यो पर्व बुद्ध बोधिसत्त्वको पूजा गर्ने पर्वको रूपमा परिचित रहेको छ। 

काठमाडौँ उपत्यकाको पाटनमा र अन्यत्र मनाइने पञ्चदान पर्व भन्दा भक्तपुरमा मनाइने पञ्चदान पर्वमा केही भिन्नता भने देख्न सकिन्छ। भक्तपुरमा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका पाँच महाविहारमा विराजमान रहेका दीपंकर बुद्धका मूर्तिहरूलाई नगर परिक्रमा गराएर यो पर्व मनाइन्छ। यस परिक्रमाको क्रममा परम्परागत गुँला धाः बाजा बजाउने प्रचलन पनि रहेको छ, जुन बाजा पञ्चदान पर्वमा मात्रै बजाउने गरिन्छ। त्यस्तै गरी यो पर्वको उपलक्षमा परम्परागत विहार र बहीहरूमा संरक्षित बौद्ध सम्पदाहरूको प्रदर्शन गर्ने पनि गरिन्छ ।

भक्तपुरमा नगर परिक्रमा को क्रममा प्रशन्नशील महाविहार, झौर-बही, चतुर्ब्रम्ह महाविहार, जय कीर्ति विहार र कुथुबही विहारमा रहेका पाँच दीपंकरहरूलाई नगर परिक्रमा गराइने गरिन्छ। नगर परिक्रमा गराउनु अघि ती पाँच दीपंकरलाई सूर्यमढी अवस्थित आदिपद्म महाविहारमा भेला गराउने प्रचलन रहेको छ। यस भेलामा विशेष पूजाआजा गरे पश्चात् ती पाँच दीपंकर बुद्धलाई बाजागाजा सहित नगरका टोलहरू परिक्रमा गराइन्छ। उक्त परिक्रमामा दीपंकर बुद्ध सङ्ग-सँगै बौद्ध परम्पराअनुसार बौद्धमार्गीहरू दान पात्र जसलाई गुलुपा पनि भनिन्छ हातमा लिई भिक्षाटनमा सहभागी हुने प्रचलन रहेको छ। अन्त्यमा दीपंकरहरूलाई संयुक्त पञ्च दान गर्ने चलन अन्तर्गत टौमढी को पश्चिम डबलीमा सबै दीपंकरलाई लस्करै राखेर बाजा गाजा सहित संयुक्त पञ्चदान गरेर यो पर्व समापन गरिन्छ। 

भिक्षा दान अनि दान ग्रहणको परम्पराले दान दिने र लिने, दुवै पक्षको धार्मिक तथा आध्यात्मिक प्रगति र मोक्ष प्राप्त हुने विश्वास रहेको छ। मानव जीवनलाई सार्थक बनाउन अरूलाई सहयोग गर्नु पनि हो र यसरी दान गर्दा अलौकिक सुख: प्राप्त हुने भएकाले दान गर्नु, सहयोग गर्नु अनुसरणीनै हो। जुनै पनि समुदायको पर्व अनुसरण गरेर गक्ष अनुसार सक्दो दान गर्नु राम्रो कुरा भएको हुँदा दान गरौँ सबैलाई मदद र सहयोग गर्ने बानीको विकास गरौँ।

पञ्चदान पर्वको अवसरमा शील, शान्ति, प्रज्ञा, मैत्री-भावना, विश्वबन्धुत्व भावनालाई समेत साझा संस्कृतिका रूपमा विकास गर्दै नेपालको मौलिक र साझा संस्कृतिका रूपमा रहेका हरेक समुदाय अनि सम्पदाको अध्ययन, अन्वेषण र संरक्षण गर्नु हामी सबै नेपालीको साझा दायित्व र कर्तव्य हो। दुःखित मनमा मानवताको मलहम लगाउने कार्य अर्थात् दान सबैले गरौँ। पञ्चदान पर्व सबैले आ-आफ्नो ठाउँबाट मनाउने परम्पराको विकास गर्दै सबैको संस्कृति, पर्व इत्यादि को संवर्द्धन गरौँ।  पञ्च दान पर्व / यल पञ्च दान पर्वको सबैमा नेपाली पात्रोको हार्दिक शुभ – कामना। 

 

श्रोत: पञ्च दान र यल पञ्चदान पर्वको ’boutमा इन्टरनेटमा रहेका विभिन्न नेपाली वेब पत्रिकाहरूबाट जानकारी लिएर तयार पारिएको।  


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!