No Image
नेपाली पात्रो > चाडपर्व > माधव नारायण महोत्सव

माधव नारायण महोत्सव

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
मार्च 1, 2021

परिचय

माधव नारायण उत्सव, भगवान् माधव नारायण वा भगवान् विष्णुमा समर्पित एक महिना लामो उत्सव हो। माधव नारायण महोत्सव पौष र माघको महिनामा मनाइन्छ। यो उत्सव पौष महिनाको पूर्णिमाको दिनबाट सुरु हुन्छ, यस महिनालाई नेपाल सम्बत पात्रो अनुसार “पोहेला” पनि भनिन्छ र माघ महिनाको पूर्णिमाको दिन यो उत्सव समाप्त हुन्छ। विक्रम सम्बत पात्रो अनुसार पौष नवौँ महिना हो भने माघ दसौँ महिना हो। यो उत्सव नेपाल सहित भारतका केही भागहरूमा समेत धूमधामका साथ मनाइन्छ।

माधव नारायण उत्सव 

यस उत्सवको अवसरमा माधव नारायणको मूर्तिलाई काठमाडौँ जिल्लाको साँखुबाट पैदल यात्रा गराउँदै भक्तपुरको त्रिवेणी घाट हुँदै काभ्रे, चाँगुनारायण, पशुपतिनाथ, र फर्पिङ स्थित शेष नारायण हुँदै अन्तमा साँखु नै पुर्‍याउने चलन रहेको छ । 

माधव नारायण उत्सवको बखत, मानिसहरू भेला भएर श्री स्वस्थानीको पौराणिक व्रत कथा सुन्ने र पुरै एक महिना सम्म उपवास बस्ने पनि चलन रहेको छ। श्री स्वस्थानी व्रत कथा भगवान् शिव र देवी पार्वती मा समर्पित रहेको छ। सामान्यतया, साँझको समयमा घर मुलीले कथा सुन्न जम्मा भएका परिवारका सदस्यहरूको लागि श्री स्वस्थानी व्रत कथा वाचन गर्दै सुनाउने चलन रहेको पाइन्छ। र, यो महोत्सव महिनाभर विशेष अनुष्ठान तथा पुजा-आजा गरेर मनाइन्छ। तर, श्री स्वस्थानी ब्रतकथा र माधव नारायण उत्सव झन्डै एकै समयमा मनाइने धार्मिक हिन्दु उत्सव /चाडहरू भएता पनि दोस्रो भने भगवान् विष्णुमा समर्पित छ। 

माधव नारायण, भगवान् विष्णुका विभिन्न अनुहारहरू मद्येको एक अनुहारको नाम हो। यस नामले भगवान् विष्णुको माघ महिनामा पूजा गरिने नामलाई जनाउँछ। पुराणहरू मध्येको एक “विष्णु पुराण” अनुसार, एक वर्ष अर्थात् १२ महिनाको दुवै भगवान् विष्णु र देवी बज्रयोगिनीको १२-१२ वटा नाम हरू रहेका छन्। जस अनुसार माघ, १० औँ नेपाली महिनाको लागि उनीहरूको नाम क्रमशः माधव नारायण र श्री स्वस्थानी रहेका छन्। यही कारण ले गर्दा माधव नारायण र श्री स्वस्थानी व्रत कथा एउटै महिनामा सँग -सँगै आराधना गर्ने चलन रहेको छ। 

माधव नारायण उत्सव अवलोकन गर्न वा भगवान् माधव नारायणमा समर्पित व्रत (उपवास) बस्दै हरेक वर्ष, हजारौँ श्रद्धालु भक्तजनहरू भक्तपुरको हनुमान घाट परिसरमा पुग्दछन्।  व्रत पालना गरिरहेका पुरुष हिन्दु भक्तहरू यस पवित्र अनुष्ठानको अवसरमा अभिवादन मुद्रामा भूमिमा पल्टिँदै-पल्टिदै पवित्र हनुमन्ते नदीमा नुहाउँछन्। भक्तजनहरू पुजारीले मन्त्र पूरा नगरुन्जेल ५ -७ मिनेट पानी मानै डुबेर रहन्छन्। यो अनुष्ठान सामान्यतया माधव नारायण मासिक उपवासको अन्तिम दिन काठमाडौँको बाहिरी भागमा अवस्थित भक्तपुरको हनुमान घाटमा गर्ने गरिन्छ। यस पवित्र यात्रा भक्तपुरको साँघुरा सडकहरूमा गर्ने गरिन्छ।

यस पवित्र यात्राको क्रममा देवताहरूको पोसाकमा रहेका व्यक्तिहरूलाई पालकीमा बोकेर बाटो भरि भक्तहरू उनीहरूमाथि शुद्ध पानी छर्किने पनि गर्छन्। माधव नारायण उत्सवका अनुष्ठान तथा विभिन्न विधि विधानहरू काठमाडौँको पशुपतिनाथ मन्दिरको पश्चिमी परिसर बाहिर बागमती नदीमा पनि गर्ने गरिन्छ।

श्री स्वस्थानी व्रत कथा र माधव नारायण पर्व विशेष गरी विवाहित महिलाहरूको लागि शुभ मानिन्छ। विवाहित महिलाहरू यस अवसरमा आफ्ना जीवनसाथीको समृद्ध जीवन र उनीहरूको दीर्घायुको लागि प्रार्थना गर्दछन्। अविवाहित केटी तथा महिलाहरू पनि उपयुक्त जीवन साथीको आशीर्वाद पाउने आशामा यो एक महिना लामो उत्सवको व्रत पालन गर्ने गर्दछन्।

पृष्ठभूमि

विष्णु पुराण अनुसार भगवान् विष्णु जसलाई नारायण पनि भनिन्छ, जो ब्रह्माण्डको सृष्टिकर्ता एवम् संरक्षक समेत मानिन्छन्, ब्रह्माण्डको सृष्टि पश्चात् शक्तिहीन भएका थिए। तसर्थ, उहाँ त्यस बेलाको काठमाडौँ, नेपालको साँखु आइपुग्नु भएको थियो। 

त्यहाँ उहाँले तीस दिनसम्म उपवास बसेर देवी बज्रयोगिनीलाई देवी स्वस्थानीको रूपमा पूजा गर्न सुरु गर्नुभयो। भगवान् विष्णुले उक्त एक महिनाको पूजा-अनुष्ठान लाई १२ दिन तीर्थयात्रा, नौ दिन सर्प – राजाहरूको पूजा, र नौ दिनसम्म जल स्रोतको पूजा गर्ने हेतु विभाजन गरी त्यसै अनुरूप पूजा अर्चना गर्नु भएको थियो। उनले गरेको यो पवित्र धार्मिक कार्यले गर्दा उहाँलाई ब्रह्माण्डको सर्वव्यापी शक्तिको रूपमा पुनः स्थापित हुन मद्दत पुर्‍याएको थियो। 

आजका दिनहरूमा माधव नारायणको अनुष्ठान

आजका दिनसम्म पनि भगवान् विष्णुका अनुयायीहरू उनको पाइला पछ्याउँदै आ-आफ्ना इच्छाहरू पूरा हुने विश्वासमा तप तथा उपवास बस्ने गर्दछन्। यस ३० दिनको व्रत- अनुष्ठानको अवधिमा भक्तजनहरू किन चारै ठाउँ पैदल यात्रामा निस्कन्छन् भन्ने कुरा बुझ्न, इतिहासकारहरूको भनाई अनुसार: “भगवान् विष्णुलाई अनुष्ठानको ३० औँ दिनमा आफ्नो उपवासको विधि पूरा गर्नका लागि केही चीजहरूको आवश्यकता पर्‍यो। यसैले एकमुखे रुद्राक्ष सङ्कलन गर्न उहाँ पहिले पशुपति स्थित श्लेष्मान्तक वन पुग्नु भयो।

त्यसपछि सुनको कमलका फूलहरू लिन उहाँ फर्पिङ पुग्नु भयो। त्यस पछि, १०८ विभिन्न प्रकारका फूलहरू लिन उहाँ पनौती तिर लाग्नु भयो। र, अन्तमा सत्ययुगको धान सङ्कलन गर्नका लागी चांगु नारायण पुग्नु भयो”। भगवान् विष्णुले सम्पूर्ण यात्रा पैदल नै गर्नु भएको थियो, र त्यसै कारण तीर्थयात्रीहरू आजसम्म पनि यस एक महिना लामो उपवासको समयमा यिनै चार ठाउँहरूको तीर्थयात्रा गर्ने गर्दछन्।

विष्णु पुराण अनुसार विष्णुको उपवास-अनुष्ठानको अन्तिम दिन, “भगवान् इन्द्र स्वयम् साँखु आएर पूजा आयोजनको जिम्मा लिनु भएको थियो।” भगवान् विष्णुको यस पूजा प्रक्रियालाई अझ शुभ बनाउन, “सप्त ऋषिहरू पनि भगवान् विष्णुकहाँ उपस्थित भएका थिए र उनको सारथि गरुड पनि उहाँलाई बोक्न त्यहाँ उपस्थित भएका थिए। त्यसै गरी ऋषि नारद मुनि पनि स्वस्थानी कथा सुनाउन उक्त अवसरमा उपस्थित भएका थिए”।

यस प्रकार, उक्त परम्पराको सम्मान गर्दै आजका दिनहरूसम्म पनि सात ऋषिहरूको प्रतिनिधित्व गर्दै सात व्यक्तिहरू यस उत्सवको बेला उपस्थित हुने गर्दछन्। श्री स्वस्थानी व्रत कथा वाचन गर्ने नारद मुनिको प्रतिनिधित्व गर्दै त्यहाँ एक व्यक्ति कथा वाचनको लागि उपस्थित रहन्छन्। र, त्यसै गरी, गरुडको प्रतिनिधित्व गर्दै अर्को एक व्यक्तिले भगवान् विष्णुको मूर्ति बोक्ने अभिभारा लिन्छन्।

काठमाडौँको साँखुमा, भगवान् माधव नारायणको यस एक महिना लामो पूजा-आराधना को क्रममा, सात विभिन्न परिवारका पुरुष बासिन्दाहरू सप्त ऋषिको प्रतिनिधित्व गर्दै यस चाडमा भाग लिने गर्दछन्। यी सात ऋषिहरू एक महिनाको अवधिभर शुद्ध रहनको लागि कडा आहार र अन्य विधिहरूको पालन गर्ने गर्दछन्। यी सात ऋषि ​​वा प्रतिनिधि सप्त ऋषिहरूले नुन, मानव स्पर्शका साथ-साथै अन्य विलासिताहरू जस्तै ओछ्यानको तातोपन, दिनको तीन पटकको खाना, टाउको माथिको छाना सहित जुत्ता समेत पनि प्रयोग गर्दैनन्। 

यस महिनाभरको अनुष्ठान अवधिभर, यी सात व्यक्तिहरूले दूध, चामल, चाकु वा सक्खर, घिउ, रातो मुला, सुन्तला र स्याउ इत्यादिको कडा आहारहरूका बिच परम्परा अनुसार बिहान सबेरै सामान्यतः ४ बजेतिर उठ्ने गर्नु पर्दछ। तत्पश्चात्, बिहानको स्नानपछि, उनीहरूले पूजा-आजा गर्ने गर्दछन्। 

भगवान् विष्णुको पाइला पछ्याउँदै, सयौँ हजारौँ भक्तजनहरू प्रतिवर्ष साँखु आउने गर्दछन्। यी भक्तजनहरू मन्दिर परिसरमा आश्रय लिन्छन् वा दिनदिनै मन्दिर आउने गर्दछन्। यी पुरुष भक्तहरू १३ औँ दिनमा सालिनदीबाट प्रार्थना गर्नका लागि बज्रयोगिनी मन्दिर जान्छन् र बेलुकी फेरि त्यही फर्किन्छन्। भक्तपुर क्षेत्रमा “दुन दानेगु”, वा अन्य स्थानमा “सिलामन तुलेगु” भनेर चिनिने यस अनुष्ठानको क्रममा उनीहरू दुवै हात नमस्कार मुद्रामा राखी भुइँमा खुट्टा नटेकी, उत्तानो परेको अवस्थामा पल्टिँदै पल्टिँदै नदीमा पुगेर स्नान गर्ने र त्यसरी नै खुट्टा टेक्दै नटेकी फेरि वासस्थान तिर फर्किने गर्दछन्।

१४ औँ दिनमा उनीहरू पशुपतिनाथ मन्दिरमा पूजा गरेर १५ औँ दिन फर्पिङ अवस्थित शेष नारायण मन्दिर पुग्ने गर्दछन्। एवम् रितले, यी भक्तजनहरू १९औँ दिनमा भक्तपुरको त्रिवेणी घाट, १९औ दिन पनौती हुँदै २७ औ दिन चाँगु नारायण मन्दिर पुग्दछन्। उनीहरू यस तीर्थ-यात्राको क्रममा प्रत्येक स्थानको पवित्र नदीमा नुहाउने, पूजा-आजा गर्ने र रात बिताउन फेरि साँखु फर्किने गर्दछन्।   

अन्तिममा

यद्यपि माधव नारायण उत्सव र श्री स्वस्थानी ब्रत कथा एकै समयमा पर्ने र अनुष्ठान समेत पनि मिल्दोजुल्दो भएता पनि, यी दुवै उत्सवहरू भिन्न भिन्न हुन्। भक्तपुर, काठमाडौँ, र ललितपुर तथा अन्य स्थानहरूमा यो उत्सव मनाउने तरिका थोरै बहुत फरक हुन सक्ने भएता पनि माथि वर्णन गरिए झैँ यो उत्सव सबै स्थानमा उत्तिकै हर्ष र उत्साहका साथ मनाउने गरिन्छ। नारायण भगवान् विष्णुको अर्को नाम हो, र माधव नारायणले माघ महिनामा पुजिने भगवान् विष्णुको नामलाई बुझाउँछ, यसै कारण यस चाड वा उत्सवलाई माधव नारायण उत्सव को नामले चिनिने गरिन्छ।


Related Posts

श्री परशुराम जयन्ती

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अप्रील 25, 2020

हरिबोधिनी एकादशी

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
अक्टोबर 31, 2017

Comments

    rameshramesh@gmil.com

    rameshramesh

    Ramesh


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!