No Image
नेपाली पात्रो > चाडपर्व > मलमास अर्थात् पुरुषोत्तम महिना

मलमास अर्थात् पुरुषोत्तम महिना

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
सेप्टेम्बर 22, 2020

हिन्दु सभ्यतामा सौरमान र चान्द्रमानलाई आधार मानी पात्रो गणना गर्ने विधान छ। सूर्यको राशिसञ्चारका आधारमा वैशाख, जेठ आदि १२ महिना हुन्छन्। चन्द्रमाको तिथिका आधारमा चान्द्रमास गणना हुन्छ। तर सौरमासको गते र चान्द्रमासको तिथिमा समानता छैन। धर्मशास्त्रहरूमा यी दुईथरी मानलाई समायोजन गरी चाडपर्व निर्धारण गर्ने पद्धति रहेको छ। साैरमास र चान्द्रमास समान रूपले चलेका अवस्थामा नियत समयमै चाडपर्व आउँछन्। तर मलमास परेका वर्ष चाडपर्व केही अघिपछि पर्दछन्।

मलमास के हो ?

प्रसिद्ध ग्रन्थ निर्णयसिन्धुमा एउटा संक्रान्ति नभएकाे चान्द्रमासलाई मलमास भनिएकाे छ। यस्तै, काठकगृह्यसूत्रमा संक्रान्ति नपर्ने र दुईवटा संक्रान्ति पर्ने महिनालाई मलमास भनिएको छ। धर्मसिन्धुमा उल्लेख भएअनुसार मलमास दुई किसिमका हुन्छन्– अधिकमास र क्षयमास। अधिकमास भनेको बढी हुन आएको महिना हो। क्षयमास भनेकाे चाहिँ एउटा मास लुप्त हुनु हाे। अधिकमास र क्षयमास अनियमित महिना हुन्। गणितीय विधानमा चान्द्रमास अधिक हुँदा अधिकमास आउँछ भने साैरमास अधिक हुँदा क्षयमास देखिन्छ।

भास्कराचार्यकाे प्रसिद्ध ग्रन्थ सिद्धान्तशिराेमणिमा ‘असंक्रान्तिमासोऽधिमासः स्फुटं स्याद्, द्विसंक्रान्तिमासः क्षयाख्यः कदाचिद्’ भनी अधिकमास र क्षयमासको परिभाषा गरिएको छ । कुनै शुक्लादि चान्द्रमासमा (एउटा औंसीको अन्त्यकालदेखि अर्को औंसीको अन्त्यसम्ममा) सूर्यको राशि संक्रमण भएन अथवा संक्रान्ति आएन भने त्यो चान्द्रमासलाई अधिकमास भन्ने गरिन्छ । दुईवटा संक्रान्ति एउटै चान्द्रमासभित्र पर्न गएकाे अवस्थामा एउटा चान्द्रमास अपुग हुन्छ र महिना क्षय हुन्छ।

सौरमहिना र चान्द्रमासलाई एकसाथ हिँडाउने शास्त्रीय परम्परा छ। यसो गर्न शीघ्रगतिकाे चान्द्रमासलाई प्रत्येक तीन वर्षमा एक महिना राेक्नुपर्ने हुन्छ। यसरी रोकिने महिना नै अधिकमास हो। यस्तै, धेरै वर्षको गणनालाई व्यवस्थित बनाउन बीचमा क्षयमास आउने गर्दछ। पाश्चात्य परम्परामा पनि ‘लिप इयर’को नियमबाट सौरदिनमा बढी हुन आएको मानलाई मिलान गर्ने गरिन्छ। तर, ‘लिप इयर’ र ‘मलमास’ अलि भिन्न कुरा हुन्।

ज्याेतिषीय ग्रन्थ सूर्यसिद्धान्तका आधारमा औसत मानले २९ दिन २१ घडी ५० पला ६ विपलामा चन्द्रमाकाे एक महिना पूरा हुन्छ। साैरमास भने औसतमा ३० दिन २६ घडी १७ पला ३७ विपलाकाे हुन्छ। यस आधारमा एउटा साैरमास ५४ घडी २७ पला ३१ विपलाले चान्द्रमास भन्दा ठूलाे हुन्छ। यही अन्तराल बढ्दै जाँदा औसत मानले ३२ महिना १६ दिन र ४ घडी (१ घण्टा ३६ मिनेट) बितेपछि एक महिना बराबरकाे अधिक समय निस्कन्छ। यही अधिक समयलाई मास गणना पद्धतिअनुसार व्यवस्थापन गर्दा प्रत्येक तीन वर्षमा अधिकमास देखापर्छ।

क्षयमास भने १९ देखि १४१ वर्षसम्मकाे लामाे अन्तरालमा मात्र आउँछ। क्षयमास छाेटा महिना अर्थात् थाेरै दिन हुने कार्तिक, मंसिर र पाैषमा मात्र आउने गर्दछ। फागुनदेखि असाेजसम्मका लामा महिनामा मात्र अधिकमास पर्दछ। क्षयमास आउनुअघि र पछि दुईवटा अधिकमास समेत आउँछन्। अघिल्लो अधिकमासलाई ‘संसर्प’ र पछि आउनेलाई ‘अंहस्पति’ भन्दछन्। क्षयमासका सबै तिथिलाई दुई भाग लगाई पूर्वार्ध अघिल्लाे महिनामा र उत्तरार्ध पछिल्लाे मासमा गणना गर्ने विधान छ (तिथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ) ।

धर्मशास्त्रमा मलमासलाई समयकाे ‘मल’का रूपमा व्याख्या गरिएकाे छ। धर्मशास्त्रअनुसार प्रत्येक महिनाका स्वामी अलगअलग सूर्य हुन्छन्। यस आधारमा एकै सूर्यले स्वामित्व ग्रहण नगरेकाे महिना मलमास हाे। कुनै राशिमा एकपटक मात्र हुने सूर्यकाे उदयले नै सम्बद्ध चान्द्रमास शुद्ध हुन्छ। यसबाहेक एकैपटक उदय भएन वा दुईपटक उदय भयाे भने त्याे महिना मलजस्तै अशुद्ध हुन्छ। मलमासलाई नपुंसक मास, असूर्य मास, पतिरहित मास आदि क्षुद्र नामले सम्बाेधन गरेकाे पाइन्छ। सम्पूर्ण कर्मका साक्षी सूर्यनारायणले नै त्याग गरेकाे महिना भएकाले मलमासलाई अशुद्ध मान्ने गरिएको हो। क्षयमासअघिकाे संसर्प भने सबै कर्म गर्न योग्य मानिएकाे छ। ‘अंहस्पति’ शुभकर्मका लागि त्याज्य हुन्छ।

मलमासमा के गर्ने ? के नगर्ने ?

भविष्यपुराणमा उल्लेख भएअनुसार प्रेतकर्म, सपिण्डीकरण, सीमन्त, पुंसवन, जन्मसंस्कार, नवजात शिशुकाे मुख दर्शन, नामाकरण, अन्नप्रशन, नियमित व्रत–उपवास, तीर्थस्नान, देवदर्शन, राज्याभिषेक र गुरु–शुक्र अस्त हुँदा बाधा नहुने अन्य कर्म पनि मलमासमा गर्न सकिन्छ। जन्म र मृत्यु शाश्वत भए पनि अधिकमासमा हुने जन्म वा मृत्युलाई केही नराम्रो भन्ने चलन छ। तर, जन्म र मृत्यु सम्बन्धी संस्कार मलमासमा पनि गर्नैपर्छ र यसमा शास्त्रीय बाधा छैन। मलमासमा जन्म वा मृत्यु भयाे भने वार्षिक तिथि निर्धारण गर्न निश्चित विधान केलाउनुपर्ने हुन्छ।

तर व्रतारम्भ, देवप्रतिष्ठा, चूडाकर्म (छेवर वा मुण्डन), व्रतबन्ध, मन्त्र–उपासना, विवाह, नयाँ गृह–निर्माण, गृहप्रवेश, गाई ग्रहण, महादान, आश्रमान्तरमा प्रवेश, तीर्थयात्रा, अभिषेक कर्म, वृषाेत्सर्ग, द्विरागमन (मैतालु फर्काउने) तथा यज्ञ–यागादि कर्म मलमासमा निषिद्ध कर्म हुन्। धर्मशास्त्रमा असूर्य–मासमा सबै प्रकारका काम्यकर्म प्रारम्भ र समापन गर्न वर्जित गरिएकाे छ। सुरु र अन्त्य गर्न नमिले पनि बीचमा गरिने क्रियाकलाप गर्न भने बाधा नपर्ने शास्त्रवचन छ। पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिनुपर्ने तर नयाँ व्रत प्रारम्भ गर्न नहुने नियम छ।

लाेकव्यवहारमा नवविवाहित दम्पतीले मलमासमा सँगै बस्न नहुने परम्परा छ। यो महिनामा शास्त्रले गरेकाे निषेधलाई पालना गर्न यस्तो नियम लगाइएको हो। सूर्यलाई वेदमा सम्पूर्ण चराचर जगतकाे आत्मा मानिएको छ। ब्रह्माण्डकै आत्मास्वरूप सूर्यनारायणले परित्याग गरेको अशुद्ध, नपुंसक मासमा गर्भाधान हुन गयो भने त्यो भ्रूणमा नपुंसकता हुन्छ भन्ने शास्त्रीय आशय हो। नवविवाहितले यो मर्यादा पालन गर्न नसक्ने अवस्थालाई विचार गरी शास्त्रमै यो व्यवस्था गरिएको हो। अर्काे पक्ष, असूर्यमासमा सहवासले पुरुषकाे आयुसमेत क्षीण हुने शास्त्रवचन रहेकाले याे महिना पुरुषका लागि बढी संवेदनशील भएकाे पुष्टि हुन्छ।

शास्त्रवचनअनुसार देवकर्म तथा पितृकर्म उपयुक्त समयमा मात्र गर्नुपर्दछ। गुरु–शुक्र अस्ताएकाे समय पनि अशुद्ध हुने हुँदा मांगलिक तथा काम्यकर्म गर्न मिल्दैन। त्यस्ता कर्म मलमासमा पनि गर्न हुँदैन। अनुकूल समयमा गरिएका हरेक कर्म पूर्ण फलदायी हुन्छन्। प्रतिकूल समयमा गरिएका कर्म निष्फल मात्र हुँदैनन्, विरुद्ध फल समेत प्रदान गर्दछन्। काल अमूर्त रूपमा ईश्वरकै अर्काे स्वरूप हाे। कालका विभिन्न भेद छन्। युग, वर्ष, ऋतु, मास, तिथि, वार, नक्षत्र, याेग,करण, दिन, रात्रि, मुहूर्त आदि कालका अनेक स्वरूप हुन्। अनुकूल र प्रतिकूल कालकाे विश्लेषण शास्त्रहरूमा गरिएकाे छ। धर्मशास्त्रहरूका यस्ता प्रामाणिक वचनले लाेकलाई मार्गनिर्देशन गरेका छन्।

मलमास कसरी भयाे पुरुषाेत्तम महिना ?

पाैराणिक प्रसंगअनुसार स्वामीविहीन भएकाले मलमासलाई अशुद्ध भन्दै सबै मास र समुदायले तिरस्कार गर्न थाले। उनीहरूले मलमासलाई स्वीकार नगरी क्षुद्र वचनले मलमास भन्दै निन्दा गर्न थालेपछि मलमास दुःखी हुँदै भगवान् विष्णुका शरणमा पुगे। भगवानको आराधना गरी प्रसन्न तुल्याएपछि भगवानले सोध्नुभएछ, ‘तिमी किन उदास छौ ? किन खुसी छैनौ ?’ त्यसपछि मलमासले आफ्नो वेदना भगवानलाई सुनाएछन्, ‘मेरा स्वामी नभएकाले मलाई सबैले अशुद्ध मानेर हेप्छन्। सबैले निन्दा गर्छन्। त्यसैले यसबाट छुटकारा पाऊँ।’

त्यसपछि भगवान् विष्णुले मलमासलाई गोलोक पुर्याउनुभएछ। दु:ख–कष्टको लेशसम्म नभएको दिव्य गोलोकधाममा गोपीहरूका बीच मृदुमुस्कानका साथ विराजमान पीताम्बरधारी भगवान् श्रीकृष्णसामु हताश र अत्यन्त दु:खी मलमास उपस्थित भए। भगवान् विष्णुले श्रीकृष्णलाई सम्पूर्ण वृत्तान्त बताइदिनुभयो। मलमासले पनि भगवान् श्रीकृष्णलाई प्रणाम गरी आफू तिरस्कृत हुनुपरेको वेदना सुनाए।

त्यसपछि भगवान् श्रीकृष्णले मलमासलाई वरदान दिँदै भन्नुभएछ, ‘तिमीलाई अरूले स्वीकार नगरे पनि म प्रेम गर्छु। अबदेखि तिम्राे स्वामी मै भएँ। मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन्। म ब्रह्माण्डमा पुरुषोत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिमी पनि पुरुषोत्तम मासका नामले चिनिनेछौ। प्रत्येक तीन वर्षमा तिम्रो आगमन हुँदा जसले श्रद्धाभक्तिपूर्वक मेरो पूजा गर्छन्, ती व्यक्तिलाई अन्य समयमा गरेको पुण्यकर्मको फल भन्दा बढी पुण्यफल प्राप्त हुनेछ ।’

यसरी भगवानले मलमासलाई पुरुषोत्तम मासका रूपमा स्थापित गरी धर्मकर्मका लागि विशेष उपयोगी बनाइदिनुभयो। यो दुर्लभ महिनामा जसले नित्य स्नान गरी भगवान् पुरुषोत्तमको पूजाआराधना, यज्ञ–अनुष्ठान तथा दानधर्म गर्दछ, उसले अत्यधिक पुण्यफल प्राप्त गर्दछ भनी स्वयं भगवान् पुरुषोत्तमले पुरुषोत्तम मासको महिमा बताउनुभएको प्रसंग पुराणहरूमा छ।

धर्मशास्त्रका विधिविधानमा काम्य तथा मांगलिक शुभकर्म गर्न अशुद्ध मानिने मलमास ज्याेतिषीय गणनाबाट आउँछ। एकातिर याे बारनाकाे मास हाे भने अर्कातिर साधनाकाे मासका रूपमा प्रसिद्ध छ। दान–धर्म तथा भगवान् पुरुषाेत्तमकाे पूजा, आराधना गरी ईश्वरलाई मनमा धारण गर्ने उत्कृष्ट समय नै मलमास अर्थात् पुरुषोत्तम महिना हो।


Related Posts

Comments

    premraj Sharma

    यस पात्रोले धर्म संबन्धित ज्ञन का कुरा दिएकोमा मुरी मरी धन्यवाद। शुभम् नमस्ते

    प्रेमराज शर्मा जी

    मलमास को ’boutमा जानकारीदिनुभकोमा यस पात्रो मुरी मुरी धन्यवाद। शुभ प्रभात

    badri prasad sharma

    हजुर, धार्मिक तथा पौराणिक बचनहरु दिनु भएकोमा हार्दिक नमन टक्राउदै, गणेश तथा लक्ष्मी व्रत प्रारम्भ र समापन गर्ने तौर तरिका पनि मन्त्र सहित जान्ने अपेक्षा गर्दछु। हजुरको जो प्रेरणा।

    रमेश खतिवडा

    पूरूशोत्तम महिना अन्य महिना भन्दा ऊत्तम महिना रहेछ , भन्ने ज्ञान यस पात्रो बाट भयो । यस पात्रोको ऊत्तरोत्तर प्रगतिको कामना !

    सूर्य प्रसाद अधिकारी

    मलमास भनेको के हो भन्ने कुरा थाहा थिएन तर अब भने थाहा भयो धन्यवाद नेपाली पात्रो लाई

    ममता भण्डारी

    जानकारी को लागि धेरै धेरै धन्यवाद

    Dhiraj sah

    it’s osm

    krishna

    मलामासको ’boutमा थाहा नभएका कुरा हरू पनि जानाकारी दिनु भयो धन्यबाद नेपाली पात्रो लाई

    Ganesh

    Jay vishnu bhagwaan rakshaya garnus.
    katha nikai uttam xa guru hajur lai nikai dhanyawaad . Aagame din haru ma ni yestai ramra katha liyeraw aaununi xa vanee aashaa xa

    Rajan thapa

    suka santi

    आशिका गिरी

    malai malemas ko barema tha thiyena ramari bujhna paye dhanyabad Nepali patro

    Aryan Bhattarai

    Thanks # from assam

    सीता भण्डारी

    जानकारी का लागी धन्यवाद

    Bikram koju

    Nice information

    sita pradhananga

    Got Good knowledge of Mala Masa , n Purushottam month. Thanks.


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!