No Image
नेपाली पात्रो > Local Election 2079 > बैशाख ३० गते मतदाताले थाहा पाउनै पर्ने विषयहरु

बैशाख ३० गते मतदाताले थाहा पाउनै पर्ने विषयहरु

By NepalWatch.com को सहयोगमा Nepali Patro in Local Election 2079 .
मे 6, 2022

काठमाडौँ । यही २०७९ बैशाख ३० गते शुक्रबार ७ सय ५३ स्थानीय तहमा निर्वाचन हुँदैछ । देशभर एकै चरणमा सम्पन्न गरिने स्थानीय तहको निर्वाचनका लागि बिहान सबेरै ७ बजे देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

स्थानीय तह स्थानीय सरकार हो । स्थानीय तह स्वायत्त छन् । उसको आफ्नै कार्यापालिका, न्यायापालिका र व्यवस्थापिका हुन्छ । सबै प्रतिनिधि प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुने भएकाले बहुमत वा अल्पमतका आधारमा प्रमुख र उपप्रमुखको जिम्मेवारी परिवर्तन गर्न सकिदैन । हरेक प्रतिनिधिले संविधानअनुसार गम्भिर प्रकारको अपराध नगर्दासम्म निर्वाचित भएपछि पुरा कार्यकाल स्थानीय तहको नेतृत्व गर्नेछन् ।

स्थानीय तहलाई स्वायत्त अधिकार दिएको हुन्छ । यी अधिकार कार्यान्वयनमा स्थानीय तह स्वायत्त रहन्छन् । केन्द्र वा प्रदेश सरकारले कुनै पनि काममा प्रत्यक्ष हस्तक्षेप गर्न सक्दैनन् । स्थानीय तहले आफैँ नीति तथा कार्यक्रम बनाउँछ, आफैँ कानून बनाउँछ । आफैँ बजेट बनाउँछ र कार्यान्वयन गर्छ । त्यसैले यसलाई स्थानीय सरकार भनिएको हो । तर केन्द्रको कानूनसँग बाझिने गरी कुनै पनि कानून, नीति तथा कार्यक्रम र बजेट बनाउन पाउँदैन ।

स्थानीय निर्वाचन’bout सामान्य जानकारीहरु समेटिएको यो सामाग्री NepalWatch को सहयोगमा Nepali Patro को लागि तयार पारिएको हो

कति प्रतिनिधि निर्वाचित हुँदैछन् ?
यो निर्वाचनबाट देशभर ३५ हजार २ सय २१ जना जनप्रतिनिधी निर्वाचित हुँदैछन् । हरेक स्थानीय तहमा एक जना प्रमुख(मेयर) वा अध्यक्ष, एक जना उपप्रमुख(उपमेयर) वा उपाध्यक्ष निर्वाचित हुन्छन् । स्थानीय तहमा कम्तिमा ५ र बढिमा ३२ वटा वडा छन् । प्रत्येक वडाबाट एक जना वडाध्यक्ष र अन्य चार जना सदस्यहरु निर्वाचित हुनेछन् ।

वडाबाट निर्वाचित ४ सदस्यहरुमध्ये दुई वटा पद खुल्लातर्फ, एक महिला र अर्को एक पद दलित महिला सदस्यका लागि हुनेछ । स्थानीय तहमा महिला जनप्रतिनिधीको संख्या बृद्धि गर्न यस्तो व्यवस्था लागु गरिएको हो ।

मतदान केन्द्रमा जाँदा
यो निर्वाचनले स्थानीय तहमा जनप्रतिनिधि छान्ने हो । त्यसकारण तपाई आफ्नो वडाबाट मात्रै मतदानमा भाग लिन सक्नुहुन्छ । मत दिनुअघि तपाईको नाम मतदाता नामावलीमा सुचीकृत भएको हुनुपर्नेछ । यदि तपाईको उमेर पुगेको छ र मतदाता नामावलीमा पनि नाम उल्लेख छ भने तपाईसँग मतदानको अधिकार रहन्छ ।

मतदानका लागि मतदान केन्द्रमा जाँदा तपाईले मतदाता परिचय पत्र बोक्नुपर्छ । यदि परिचय पत्र हराएको, विग्रीएको भए सक्कल नागरिकता, लाइसेन्स, राहदानी वा राष्ट्रिय परिचय पत्र पनि बोक्न सक्नुहुन्छ । यी परिचय पत्र सक्कल भने हुनुपर्छ । आयोगले फोटोकपी वा मोबाइलको खिचिएको फोटोलाई मान्यता दिदैन ।

अब तपाई मतदान केन्द्रमा पुगेपछि निर्वाचन सुरक्षा र संचालनमा खटिएको कर्मचारीले भने बमोजिम लाइनमा बसेर आफुलाई मन पर्ने उम्मेदवारलाई मत दिएर फर्कनु पर्नेछ ।

कसरी मत दिने ? मत दिने तरिका
प्रत्येक मतदाताले ७ जना फरक फरक पदका उम्मेदवारलाई मत दिन सक्नेछन् । तपाईको हातमा मत पत्र प्राप्त भएपछि पहिलो ठाडो लाइनमा मेयर वा अध्यक्षको उम्मेदवारको चुनाव चिन्ह देखिन्छ । त्यसमध्ये तपाईले आफुलाई मन पर्ने उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाउनुस् । छाप लगाउँदा चिन्ह घेरिएको रेखा छुनु हुँदैन ।

त्यसपछि उपमेयर वा उपाध्यक्षको उम्मेदवारको लाइनमा मन परेको उम्मेदवारको चिन्हलाई मत संकेत गर्नुहोस् । यसैगरी वडाध्यक्षमा एक जनालाई, वडा सदस्यमा खुल्लातर्फ दुई जना, एक जना दलित महिला सदस्य र महिला सदस्यलाई मत संकेत गर्नुपर्छ ।

तपाईको त्यही मत संकेतका आधारमा तपाईको स्थानीय तहमा आगामी ५ बर्ष कस्ता व्यक्तिले पालिका संचालन गर्नेछ भन्ने तय गर्नेछ ।

सार्वजनिक विदा
नेपाल सरकारले बैशाख ३० गते हुने निर्वाचनलाई राष्ट्रिय उत्सव घोषणा गरेर त्यो दिन सार्वजनिक विदा दिएको छ ।

तर पालिकाभन्दा बाहिर रहेका मतदाताहरु बैशाख २९ गते आफ्नो पालिकासम्म जानका लागि सरकारले सार्वजनिक विदा दिएको छैन । ५ बर्षका लागि आफ्नो जनप्रतिनिधि छान्ने भएकाले विदा लिएर भएपनि जानुपर्ने निर्वाचन आयोगको सुचना अधिकारी सूर्य अर्याल बताउँछन् ।

निर्वाचन सुरक्षा
सरकारले निर्वाचनलाई धाँधलीरहित, निष्पक्ष र स्वतन्त्र बनाउन चार वटै सुरक्षा निकाय परिचालन गरेको छ । चार वटा सुरक्षा निकायमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान पर्छ । म्यादी प्रहरी नेपाल प्रहरीको मातहतमा रहन्छ ।

तपाई मतदान केन्द्रमा जाँदा त्यहाँ नेपाल प्रहरी र म्यादी प्रहरी मात्र देख्न सक्नुहुनेछ । राष्ट्रिय अनुसन्धानका प्रहरी सादा पोसाकमा हुने भएकाले तपाईले चिन्न सक्नुहुँदैन । मतदान केन्द्रका आसपासमा सशस्त्र प्रहरी पनि देख्न सक्नुहुनेछ । नेपाली सेना भने सबैभन्दा बाहिरी घेरमा बसेर निर्वाचत सुरक्षामा खटिएको हुन्छ ।

निर्वाचनलाई सुरक्षित बनाउन सरकारले चार वटा सुरक्षा निकायलाई तीन घेराको सुरक्षा रणनीति बनाएर लागु गरेको छ ।

निर्वाचनको दिन नजिकैबाट हेलिकप्टर उडेको देख्नुभयो भने पनि स्वभाविक रुपमा लिनुपर्छ । नेपाली सेनाले तपाईकै सुरक्षाका लागि हेलिकप्टर गस्ती गरिरहेको हुन्छ । निर्वाचन सुरक्षाका लागि झण्डै तीन लाख सुरक्षाकर्मी खटिएका हुन्छन् ।

शून्य समय
मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान शुरु नहुँदासम्मको अवधिलाई शून्य समय अथवा मौन अवधि भनिन्छ । यो समय मतदातालाई निर्वाचनमा कुन प्रतिनिधि छान्ने भनेर स्वविवेकको निर्णय गर्न दिइएको समय हो । मौन अवधिमा प्रत्यक्ष, अप्रत्यक्ष कुनै पनि माध्यमबाट आफ्नो उम्मेदवारी तथा पार्टिको प्रचार–प्रसार गर्न अथवा मतदाताहरुलाई प्रभावित पार्ने खालको कुनैपनि गतिविधि गर्न पाइँदैन ।

यस पटकको स्थानीय तहको निर्वाचनको शून्य समय अर्थात् मौन अवधि २०७९ बैशाख २८ गते बुधवार बाट प्रारम्भ हुनेछ । मौन अवधि लाग्नुअघि मतदानस्थलको तीनसय मिटर नजिक राखिएका कुनैपनि राजनीतिक दल, उम्मेदवारका सबैखाले प्रचारप्रसारका सामग्रीहरु हटाउनुपर्ने हुन्छ ।

निर्वाचन आचारसंहिता, २०७८ मा उल्लेख भए अनुसार मौन अवधिमा कुनैपनि विधि, प्रक्रिया अथवा माध्यमबाट मत माग्न या निर्वाचन प्रचार–प्रसार गर्न पाइने छैन । यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा अथवा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष-विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार-प्रसारका सामग्री पोष्ट वा सेयर गर्न/गराउन नपाइने आयोगले जनाएको छ ।

यस अवधिमा मतदातालाई कुनै किसिमको प्रलोभन, डर, धाकधम्की दिन पाइदैन । स्वतन्त्र रूपमा छोडिनुपर्छ । त्यो अवधिमा कुनै पनि उम्मेदवारले आफ्नो प्रचार प्रचार गर्न पाउँदैन । गरेमा निर्वाचन आचार संहिता विपरितको काम हुनेछ ।

यसै अवधिमा निर्वाचन आयोगले मतदाता केन्द्रमा बुथ निर्माण, मतपेटिका व्यवस्थापन लगायतका तयारीको काम गर्छ । शून्य समयमा के गर्ने के नगर्ने ? मौन समयमा घरदैलो गर्न, चुनाव प्रचार प्रसार गर्न, अन्तरक्रिया गर्न, नारा जुलुस गर्न, सभा सम्मेलन गर्न तथा पोष्टर पम्पलेट टाँस्न पाइदैन । तर परिवारका सदस्यहरुवीच मतदान गर्ने तरिका, मतदाता शिक्षा सम्वन्धि छलफल र अभ्यास गर्न पाइन्छ । यस अवधिमा दलीय प्रतिनिधिहरुले कुनै पनि राजनीतिक गतिविधि गर्न पाउँदैनन् ।

तपाई मतदाता हुनुहुन्छ भने यस अवधिमा आफ्नो सामाजिक संजालबाट पनि निर्वाचन प्रचार प्रसार वा कसैको विरुद्धमा लेख्न, बोल्न र सन्देश दिन पाउनुहुन्न । गरेर निर्वाचन आचार आचार संहिता उल्लंघन गरेवापत निर्वाचन ऐनअनुसार कारबाही हुनेछ ।

मतदान समय
वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको समयलाई मतदान समय तोकिएको छ । तपाई समयमै आफ्नो नाम रहेको मतदान केन्द्रमा पुगेर मतदानमा भाग लिन सक्नुहुनेछ ।

मतदाताको आत्मनिर्णयको अधिकार
निर्वाचमा सबै मतदातालाई आत्मनिर्णयको अधिकार हुन्छ । आफूलाई मनपरेको उम्मेदवार, पार्टी छनोट गर्न मतदात पूर्णरूपमा स्वतन्त्र छन् । कसैको धाक, धम्की, डर, त्रास र कुनै किसिमको प्रलोभनबिना तपाईलाई मतदान गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । आफ्नो विवेकले रुचाएको उम्मेदवारलाई मतदान गर्नु हरेक मतदाताको कतव्र्य हो ।

मतदानमा जाँदा ध्यान दिनुपर्ने विषयहरू
मतदानमा जाँदा निर्वाचन आयोगले दिएको मतदाता परिचय पत्र लैजान भुल्न हुँदैन । साथमा नागरिकता पनि लैजानुपर्नेछ । मतदान केन्द्रभित्र प्रवेश गर्दा कुनै प्रज्वालनशील प्रदार्थ, हातहतियार, मोबाइ जस्ता बस्तुहरू लैजान पाइने छैन । मतदान केन्द्रभित्र प्रवेश गरेपछि मतदाताले आफ्नो परिचयपत्र देखाइ निर्वाचन अधिकृतले दिएको फर्म भर्नुपर्नेछ । फर्म भरिसेकपछि मतदान अधिकृतको सहि भए नभएको परिक्षण गर्नुपर्ने छ । त्यसपछि बुथमा गएर आफूलाई मनपर्ने उम्मेदवारको चिन्हमा बदर नहुनेगरी स्वस्तिक छाप लगाएर मतपत्र बासमा खसालेर बाहिरिनु पर्नेछ ।

मतगणना परिणाम
निर्वाचनको दिन निर्धारित समयमा मतदान सकिएपछि त्यहाँका राजनीतिक दलका प्रतिनिधिको रोहबरमा मतपेटिका रुजु गरिन्छ । त्यसपछि सबै प्रतिनिधि सामु निर्वाचन अधिकृतले मुचुल्का उठाइ मतपेटीका सिल गर्दछ । सुरक्षा घेरामा रहेर सबै मतदान केन्द्रबाट मतपेटीका पालिकाकेन्द्र वा आयोगले तोकेएको स्थानमा लगिन्छ । निर्वाचन आयोगले सामान्यतया मतदान सकिएको २ वा ३ घण्टापछिबाट मतगणना सुरु हुने अनुमान गरेको छ । यो स्थानीय निर्वाचन भएकाले कम मतदाता भएको स्थानीय तहहरुमा बैशाख ३० गते मध्येरातीबाटै मतपरिणामहरु आउन थाल्नेछन् । तर महानगरपालिका, उपमहानगरपालिका र धेरै मतदाता भएका स्थानीय तहको मतपरिणाम आउन भने समय लाग्नेछ । आयोगले ढिलामा जेठ दुई गतेसम्म सबै स्थानीय तहको मतपरिणाम आइसक्नेछ ।

Comments

    love kumar

    sthaniya nirbachan

    नैवरेज आसारी

    parsa wad no. 26

    nawrej Ansari

    parsa wad no.26

    Nawrej Ansari

    parsa wad no. 26

    kks

    vote count

    aniket yadav

    balwa moltiplex ward number 3


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!