No Image
नेपाली पात्रो > चाडपर्व > फागु पूर्णिमा (होली)

फागु पूर्णिमा (होली)

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
फ्रेवुअरी 26, 2017

विभिन्न रङहरूका माध्यमबाट प्रेम, आत्मीयता र सद्भाव बर्साई संसारलाई हर्ष र उमङ्ग प्रदान गर्ने रमाइलो क्रीडापर्व हो– होली अर्थात् फागु पूर्णिमा । कतै फागु त कतै होलिका उत्सवका रूपमा यो पर्व मनाइन्छ। आफन्त र साथीभाइबीच रङ दलेर मनाइने होली पर्वलाई खुसी र उमङ्गको उत्सवका रूपमा लिने गरिन्छ।

फाल्गुण शुक्लपक्षको अष्टमी तिथिमा विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि प्रारम्भ हुने होली पर्व पूर्णिमाको रात्रि चीरदाह गरेपछि समापन हुन्छ। पूर्वीय सनातन परम्पराका समस्त अनुयायीहरूले मनाउने अत्यन्त प्राचीन पर्व होली हो। यस पर्वको रौनकता भने पूर्णिमा तिथिमै हुन्छ। यसर्थ यस दिनलाई होली पूर्णिमा वा फागु पूर्णिमा पनि भनिन्छ।

फागु पूर्णिमा (होली)

यस पूर्णिमाका सन्दर्भमा मीमांशा दर्शनका आचार्य जैमिनि र भाष्यकार शबरले ‘होलाका’ पर्व भनी उल्लेख गरेका छन्। ‘होलाका’को अर्थ रङ हुन्छ। रङसँग सम्बद्ध पर्व भएकाले यसलाई होलाका पर्व भनिएको हो। काठकगृह्यसूत्रमा आएको ‘राकाहोलाके’ भन्ने सूत्रले होलाका पर्वका देवता ‘राका’ अर्थात् पूर्णचन्द्र हुन् भन्ने संकेत पाइन्छ। उक्त सूत्रका टीकाकार देवपालले नारी जातिको सौभाग्यका लागि गरिने एक कृत्यविशेष भनी ‘होलाका’ पर्वको व्याख्या गरेका छन्। पूर्णिमा भनेको चन्द्रमा सर्वाधिक बलशाली हुने समय हो। वेदमा ‘चन्द्रमा मनसो जातः’ भनी चन्द्रमालाई मनको विधायक मानिएको छ। यही मनको उद्वेगले प्रकृति र पुरुष तत्त्वलाई मेल गराउने हुँदा नयाँ सृष्टिको उपक्रम प्रारम्भ हुन्छ। त्यसैले फाल्गुणको पूर्णिमामा वसन्तोत्सव अर्थात् मदनोत्सव मनाउने प्राचीन वैदिक परम्परा रही आएको छ।

प्रकृतिले काँचुली फेर्ने वसन्त ऋतुको आगमन यही पूर्णिमाबाट हुने हुँदा प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले प्राणीजगत् र मानवलाई समेत तरङ्गित तुल्याएको हुन्छ। महाशिवरात्रि र वासन्तिक नवरात्रिको मध्यवर्ती समय रहेको हुनाले होलीको मौसम प्रकृति र पुरुष तत्त्व सन्निकर्षण हुने समय हो।

वैदिक युगमा जब वृक्षहरूमा नयाँ पालुवा आउँथे, सुन्दर फूलहरू फुल्नुका साथै चारैतिर सुगन्ध आउन थाल्थ्यो, रंगीबिरंगी पुतलीहरू उड्न थाल्थे, गहुँ–जौलगायत बालीहरू लहलहाउँथे र कोइलीहरू गाउन थाल्थे, उसैबेला वसन्त ऋतुको आगमन भएको मानिन्थ्यो र ऋतुराजको स्वागतार्थ वसन्तोत्सव मनाइन्थ्यो। वेद तथा ब्राह्मण साहित्यमा वसन्तोत्सवको परिचर्चा पाइन्छ।

कामसूत्रका रचनाकार वात्स्यायनले फागुन र चैत महिनालाई मदनोत्सवका रूपमा व्याख्या गरेका छन्। मदनोत्सवका देवता कामदेवले प्रकृति र पुरुषलाई मेल गराई सृष्टिलाई गतिशील तुल्याउँछन्। ब्रह्मवैवर्त पुराण अनुसार ब्रह्माजीबाट सृष्टिको प्रारम्भ फागु पूर्णिमा लगत्तै चैत्रमासबाट भएको हो–

‘चैत्रे मासे जगद्ब्रह्म ससर्ज प्रथमेऽहनि।’

होलीमा खेलिने पानी र रङ– प्रकृति र पुरुषका यस्ता अभिन्न प्रतीक हुन्, जसलाई सृष्टि–संरचनाका कारक तत्त्वका रूपमा लिन सकिन्छ।

प्राचीन कालमा वसन्त ऋतुको समयमा पाकेका नवान्न गहुँ, जौ, चना, केराउ आदिका बालाहरूलाई भुट्ने वा पोल्ने कामलाई ‘होलक’ भनिन्थ्यो। ब्रह्मवेत्ता ऋषिहरूले पाकेका नयाँ बाली अग्निमा भोग लगाएर अग्न्याधान गरेको प्रसंग ‘ब्राह्मणो वसन्ते अग्नी आदधीत…’ इत्यादि वैदिक मन्त्रको भाव रहेको पाइन्छ। यसरी नयाँ अन्न हवन गर्ने अवसर प्रदान गर्ने पर्वलाई होलिका भनिएको पाइन्छ।

पौराणिक कालखण्डमा यस पूर्णिमामा अन्य प्रसङ्ग पनि जोडिएका छन्। ती मध्ये भगवान् श्रीहरिले भक्त प्रह्लादको उद्धार गरी होलिकाको प्राण हर्नुभएको प्रसङ्ग होलीपर्वको मुख्य कथावस्तुका रूपमा स्थापित भएको पाइन्छ। त्यसैले प्रत्येक वर्ष वसन्त ऋतुलाई मन्त्रणा गर्दै फाल्गुण शुक्ल पूर्णिमा तिथिमा होलिका उत्सव मनाउने विधान पौराण्कि ग्रन्थहरूमा समेटिएको छ। इतिहास–पुराण र धर्मशास्त्रहरूमा बालबालिकाको आयु, नारीहरूको सौभाग्य र राष्ट्रको सीमा रक्षाका साथै प्राकृतिक विपत्तिहरूबाट सुरक्षित बन्न फाल्गुण पूर्णिमाको साँझमा होलिका पूजा गर्नुपर्ने संकेत पाइन्छ।

फाल्गुने पौर्णमासी च सदा बालविकासिनी
ज्ञेया फाल्गुनिका सा च ज्ञेया लोकविभूतये ।।

हेमाद्रि कालखण्डमा उद्धरण गरिएको लिङ्गपुराणको यस वचनले बालविकास र लोकविलासका लागि होलिका पर्व मनाउन विधिनिर्देश गरेको छ। प्रत्येक घरको आँगनमा गाईको गोबरले लिपेर चोख्याई पूजा गरेर भद्रादोष छली निशामुख अर्थात् साँझमा होलिका दहन गर्नुपर्ने शास्त्रनिर्देश रहेको छ।

परापूर्व कालदेखि अन्याय, अत्याचार र हिंसा लगायत निरंकुश तानाशाही आसुरी प्रवृत्तिका विरुद्ध समाज एकजुट हुँदै आएको इतिहास छ। शक्तिको उन्मादले मानिसमा अहंकार जाग्दछ। त्यो अहंकारले सत्य, धर्म, प्रेम, सदाचार, अहिंसा जस्ता गुणहरूलाई बिर्साइदिन्छ र मानिस विषय वासना र स्वार्थले अन्धो बनिदिन्छ। पुराणहरूमा वर्णित दैत्यराज हिरण्यकश्यपु ब्रह्माजीबाट प्राप्त वरदानी शक्तिको उन्मादले जब आफूलाई ईश्वर घोषणा गर्दछन्, ठीक उही समयमा हिरण्यकश्यपुकै बालक पुत्र प्रह्लाद भगवानका अनन्य भक्त बनेर उपस्थित भइदिन्छन्।

अहंकार र पापाचारले उन्मत्त दैत्यराज हिरण्यकश्यपु एकातिर संसारलाई आफ्नै पूजा गराउँछन् भने अर्कातिर भगवद् भक्त प्रह्लादलाई परं शत्रु देख्न थाल्दछन् र उनलाई मार्ने योजना बनाउन थाल्छन्। अग्निको तापले नछुने वरदान पाएकी बहिनी होलिकाले हिरण्यकश्यपुलाई साथ दिँदै बालक प्रह्लादलाई लिएर अग्निकुण्डमा प्रवेश गर्दा पाप वृत्तिकी प्रतीक होलिकाको शरीर दहन भएको खुसियाली साट्न होलीपर्व मनाउने चलन चलेको विश्वास गरिन्छ। होलिका भस्म भएको प्रतीकका रूपमा पूर्णिमाको रात होलिका दहन गर्ने चलन अद्यापि रहेको छ। होलिका मरेपछि पनि अन्त्यमा हिरण्यकश्यपुरूपी पाप र अत्याचारको पराकाष्ठालाई परास्त गर्दै भक्त प्रह्लादको सुरक्षा तथा न्याय एवं धर्मको संरक्षण गर्न भगवानले नृसिंहको अवतार लिनुभएको पौराणिक प्रसंगलाई होली पर्वसँग जोडेर हेर्ने गरिन्छ।

यसबाहेक द्वारयुगमा कंशको अत्याचारलाई साथ दिई समस्त दुधे बालकहरूलाई नास गर्दै हिँड्ने पूतनाको प्राण भगवान् श्रीकृष्णले हरण गर्नुभएको प्रसंगलाई पनि होलीपर्वको रंगीन उत्सवसँग जोड्ने गरिन्छ। कंशको आज्ञाअनुसार भगवान् श्रीकृष्णलाई मार्ने उद्देश्यले विषयुक्त दूध चुसाउन लाग्दा भगवानले उल्टै पूतनाको प्राण हरण गर्नुभयो। त्यसपछि विशालकाय राक्षसीको शवलाई जलाएर ब्रजवासीहरूले एक–आपसमा रङ तथा अबिर दलेर खुसियाली मनाए। यसरी राक्षसीको अन्त्य भएर ठूलो संकट टरेको सम्झनास्वरूप भगवान् श्रीकृष्णलाई झुलनमा राखी हल्लाउने र हरेक वर्ष चीरदाह गरी होली खेल्ने परम्परा बसेको मानिन्छ।

अर्को प्रसंग, दक्षकन्या सतीदेवीले यज्ञकुण्डमा हामफाली देहत्याग गरेपछि विक्षिप्त बनेका शिवजीलाई कामदेवले कामवाण प्रहार गरी संसारप्रति सम्मोहित बनाउने प्रयास गरेका थिए। तर यस कार्यले शिवजीको तृतीय नेत्र खुल्न गई त्यसबाट निस्किएको क्रोधाग्निमा परी कामदेव स्वयं भस्म भए। कामदेवकी पत्नी रतिको विलाप र देवताहरूको बन्दनाले प्रभावित भई जब भगवान शिवले कामदेवलाई जीवित हुने वरदान दिनुभयो अनि देवताहरूले रङको वर्षा गरी खुसियाली मनाएको प्रसंगलाई पनि होलीपर्वसँग जोड्ने गरिन्छ।

एक समय राजा युधिष्ठिरको जिज्ञासा शान्त पार्दै भगवान् श्रीकृष्णले होलीमा भव्य उत्सव र चीरदाह गर्नुको कारण बताउनुभएको छ। यो प्रसङ्ग हेमाद्रि, भविष्योत्तर खण्डको हो। प्रसङ्गअनुसार सत्य युगमा रघु नाम भएका धर्मात्मा, विद्वान्, गुणी र प्रजाका प्रिय राजा थिए। एक दिन उनका प्रजाजनले ‘ढुण्डा’ नाम भएकी एक राक्षसीले आफ्ना बालबालिकालाई सताएको गुनासो गरे। ढुण्डाको आतङ्कबाट व्याकुल भएका प्रजाजनलाई सुरक्षा दिन राक्षसीको संहार गर्नुपर्ने थियो। विगतमा शिवजीको उग्र तपस्या गरी युवा, प्रौढ, महिला, पुरुष तथा वृद्धबाट, कुनै धातु निर्मित हतियारको चोटबाट, जनावरबाट, जाडो, गर्मी, वर्षा आदि प्राकृतिक कारणबाट मृत्यु नहोस् भनी वरदान प्राप्त गरेकी थिई।

ढुण्डाले वरदान माग्दा बालबालिका भन्न छुटाएकी हुँदा उसलाई बालबालिकाको भने डर हुन्थ्यो र बालबालिकालाई छेउमा आउन नदिन तर्साउने गर्दथी। यो रहस्य राजालाई पुरोहितले बताए। उनले फाल्गुण शुक्ल पूर्णिमामा शीतकाल र वसन्तको सन्धिकालमा भव्य बालमहोत्सव गर्न लगाए। राजाले पनि नगरका सबै बालबालिका भेला गराई अनेक बालक्रीडा गर्न लगाए। पूर्णिमाको रातमा पुराना कपडा, पात–पतिङ्गर र दाउरा भेला पारी बालबालिकाले धुनी जगाए। हो–हल्ला र नाचगान गरे। उनीहरूको कोलाहल र अगुल्टो प्रहारले ढुण्डाको मृत्यु भयो। यसरी ढुण्डा मरेपछि प्रत्येक फाल्गुण पूर्णिमामा बालक्रीडा र चीरदाह गर्ने रीति बसेको हो।

समग्रमा असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली पर्व मनाउने गरिन्छ। ईश्वरीय चरित्रहरू समेटिएको पवित्र दिन भएकाले यस पर्वमा व्रत बस्ने गरिन्छ। साथै, भगवानका विभिन्न गाथाहरूलाई लोकलयमा गाउने परम्परा पनि होलीपर्वको अर्को पाटो रहेको छ। यस पर्वमा होरी, होली, होरिया, फगुवा, ख्याली, टप्पा, वसन्तराग आदि नामले विभिन्न जातजातिका लोकगाथाहरू गाउने र नाच्ने गरिन्छ। मान्यजनका हातबाट अबिर तथा रङ लगाई आशीर्वाद लिने र मान्यजनलाई श्रद्धाभाव व्यक्त गर्ने अवसर पनि होली पर्वले प्रदान गर्दछ। यसर्थ सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयता कायम राख्ने पर्वका रूपमा होलीलाई लिने गरिन्छ। हर्षोल्लासपूर्वक मनाइने होलीमा मालपुवालगायत मिष्ठान्नहरू खाने चलन छ।

विशेष गरी नेपाल र भारतमा होली राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। नेपालका पहाडी क्षेत्रमा पूर्णिमाकै दिन फागु पूर्णिमा होली खेल्ने परम्परा रहेको छ भने जनकपुर लगायत तराईका अधिकांश क्षेत्रमा फागु पूर्णिमा मा मिथिलाको परिक्रमा पूरा भएपछि मात्र होली खेल्ने गरिन्छ। यस्तै, भारतका विभिन्न क्षेत्रमा पूर्णिमाको राति चीरदाह गरेपछि मात्र होली खेल्ने परम्परा छ। सांस्कृतिक घुलमिलका कारण अन्य मुलुकमा पनि यो पर्व श्रद्धापूर्वक मनाउन थालेको पाइन्छ। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।


Related Posts

तराई होली

By Nepali Patro in चाडपर्व .
मार्च 20, 2017

Comments

    एल. पि . शर्मा

    ✍धन्यबाद होलीसम्बन्धित जानकारिको लागि, होलिको सबैलाइ शुकामना

    tarendra malla

    होलि लाई होलि कै रुपमा खेलौ।अन्यथा होइन।सद्भाव बाडौ।

    Namita lama

    Happy holi all nepalies people

    अर्जुन कुमार मण्डल

    मेरो होली कस्तो होला

    निर्दोष कृष्ण अन्जान

    Holi ko subha kamana sabai mitra lai
    holi ko rang jastai jiban khusi le rangi rahosh sabai mitra haru ko

    Gautam yadav

    nice

    prakash bk

    good

    Raju kumar yadav

    excellent. never forget festivals. I shall do fully enjoy. thanks

    puran budha

    mero Aaj ko bises din kasto chha

    radha nepali

    yo apps ati nai ramro 6

    bishal chanara

    होली पर्व किन मनाइन्छ

    ramakant gupta

    ramro

    parbendar kumar

    thanks


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!