No Image
नेपाली पात्रो > राष्ट्रिय दिवस > प्रजातन्त्र दिवस

प्रजातन्त्र दिवस

By उपप्रा. लक्ष्मीप्रसाद बराल in राष्ट्रिय दिवस .
फ्रेवुअरी 26, 2017

नेपालको इतिहासमा एक सय चार वर्षको क्रूर जहानियाँ राणाशासनविरुद्ध नेपाली जनताले लामो संघर्ष र बलिदान गरी वि।सं। २००७ सालको फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना गरेको हुनाले प्रत्येक वर्षको फागुन ७ गते राष्ट्रिय पर्वका रूपमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

प्रजातन्त्र दिवस

राजकीय सत्ता र राष्ट्रिय ढुकुटी दुरुपयोग गरी भोग–विलास र मोजमस्तीमा रमाउने राणाहरूले नेपाली जनतालाई अशिक्षा, अभाव र त्रासको भुमरीमा राखी चरम दमन र शोषण गरेका थिए। त्यसैले उनीहरूको निरंकुश शासनविरुद्ध नेपाली जनताले लामो संघर्ष र बलिदान गर्नुपरेको थियो।

राणा–शासनविरुद्ध संगठित हुने क्रममा सुरुमा प्रजा परिषद् र पछि नेपाली कांग्रेस पार्टीको जन्म भएको थियो। उसबेला भारत लगायत छिमेकी मुलुकमा समेत स्वतन्त्रताको लहर आएको थियो। नेपाली जनताको स्वतन्त्र बन्ने चाहनालाई तत्कालीन राजा त्रिभुवनले पनि समर्थन जनाए। त्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गर्यो। राजा दरबार र राजपाठ त्यागी सपरिवार भारतीय राजदूतावासमा शरण लिन पुगे।

राणाहरूले राजालाई फर्काउने प्रयत्न गरे, सकेनन्। राजपरिवार श्री ३ राणाजीको अनुमतिबिनै भारतको राजधानी दिल्ली पुगे। मामाघरमा छुटेका त्रिभुवनका नाबालक नाति ज्ञानेन्द्रलाई राजमुकुट पहिराइयो तर राणाहरूले अन्तर्राष्ट्रिय समर्थन जुटाउन सकेनन्। अन्तर्राष्ट्रिय जगतमा राणा प्रधानमन्त्रीको चर्को आलोचना भयो।

नेपाली जनताले मुलुकभरि राणाशासनका विरुद्धमा संघर्ष चर्काए। उपत्यका बाहिरका सबै ठाउँबाट राणा प्रधानमन्त्रीले नियुक्त गरेका बडाहाकिमहरू लखेटिन थाले। पूर्वदेखि पश्चिमसम्मका धेरै स्थानहरू मुक्ति सेनाले कब्जामा लियो र ती ठाउँहरूमा जनसरकार गठन गरिए। जनसरकारले जनतालाई राणाहरूले लगाएको कर नतिर्न आग्रह गर्यो। सबैतिरबाट लखेटिन थालेपछि राणाहरू जनतासामु घुँडा टेक्न बाध्य भए।

राणा प्रधानमन्त्री मोहनशमशेरको आग्रहमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा राणा, नेपाली कांग्रेस र राजा त्रिभुवनबीच २००७ साल फागुन १ गते त्रिपक्षीय दिल्ली सम्झौता भयो । राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र फागुन ७ गते प्रजातन्त्र स्थापना भएको घोषणा गरे। यसरी १०४ वर्षे राणाशासन अन्त्य भयो र प्रजातन्त्रको स्थापना भयो। प्रजातन्त्रको घोषणा भएपछि राणा र कांग्रेस दुवै पक्षको सहभागितामा नयाँ मन्त्रिपरिषद्को घोषणा भयो। र, नेपालको अन्तरिम शासन विधान २००७ पनि जारी गरियो। नेपालको इतिहासमा यो नै विधिको शासनको पहिलो अभ्यास थियो।

२००७ सालको क्रान्तिलाई नेपालको प्रजातन्त्रिक आन्दोलन भनिन्छ। यो जनताको पहिलो ऐतिहासिक क्रान्ति थियो। यही क्रान्तिले राणाहरूको पञ्जाबाट शासकीय बागडोर नेपाली जनताको हातमा सुम्पिएको थियो। जनताको त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्रलाई जोगाइराख्न कुशल नेतृत्वको अभाव भने नेपालको इतिहासमा खटकिइरह्यो। यही कमजोरीको फाइदा उठाउँदै राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई बर्खास्त गरी पञ्चायती व्यवस्थाका नाउँमा राजतन्त्रको स्थापना गरे। करिब ३० वर्षपछि राजाको नेतृत्वमा रहेको पञ्चायती व्यवस्था पुनः ढल्यो र प्रजातन्त्रको पुनर्बहाली भयो।

फेरि पनि नेपाली जनताले प्रजातन्त्रको मर्मअनुकूल जनताले, जनताद्वारा, जनतालाई गरिने, जनताको शासन व्यवस्था र त्यसलाई सञ्चालन गर्ने कुशल जनप्रतिनिधि प्राप्त गर्न सकेनन्। समग्र मुलुकको राजनीति पदासीन व्यक्ति र दलको क्षणिक निहितार्थभन्दा माथि उठ्न सकेन। यही कमजोरीको लाभांश पूर्वराजा ज्ञानेन्द्रले प्राप्त गरे। उनको निरंकुशता लामो समय टिक्न सकेन। फलस्वरूप मुलुकले प्रजातन्त्रको परिष्कृत स्वरूप राजारहित लोकतान्त्रिक व्यवस्था प्राप्त गर्यो।

यसरी नेपाली जनताले आफ्नो शासकीय व्यवस्था आफैँले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धति स्थापित गर्न युगौंयुगसम्म संघर्ष र बलिदान गर्नुपर्यो। त्यसैले प्रजातन्त्र दिवसमा प्रजातन्त्र प्राप्तिका लागि आफ्नो ज्यानकै आहुति दिने राष्ट्रिय वीर शहीद तथा राष्ट्रिय नायकहरूको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्ने परम्परा स्थापित भएको छ। तर पद्धतिमा विधिको शासन स्थापित भए पनि अभाव, अशिक्षा र बेरोजगारीबाट मुलुकले मुक्ति पाउन सकेको छैन।

मुलुकमा समयमै विकासका पूर्वाधार स्थापित नहुनाले नेपाली समाज समृद्ध बन्न सकेको छैन। व्यवस्था परिवर्तन भए पनि आम मानसिकता परिवर्तन हुन सकेको छैन। मुलुक विकास र समृद्धिको मार्गमा अग्रसर हुन सकेको छैन। राजनीति दलबाट मुलुकको स्वार्थमा अग्रसर नभई व्यक्तिगत निहितार्थमा रुमलिएको छ।

त्यसैले, प्रजातन्त्र दिवस मनाउनुको सार्थकता प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने वीर शहीदहरूको सपना पूरा गरेर समतामूलक समाज निर्माण गरी मुलुकलाई समृद्ध बनाउनुमा छ। प्राकृतिक दोहन अन्त्य गरी मुलुकलाई उर्वर बनाउनुमा छ। व्यक्ति र पार्टीका स्वार्थबाट माथि उठेर राष्ट्रिय स्वार्थ अँगाल्नुमा छ। शताब्दी र सहस्राब्दी योजना बनाएर मुलुकलाई चिरस्थायी, अभावमुक्त, विकसित राष्ट्रको उचाइमा पुर्याउनुमा छ।

प्रजातन्त्रदेखि गणतन्त्रसम्मको संघर्षमय यात्रा पार गर्दै नेपाल अहिले नयाँ युगमा प्रवेश गरेको छ। परिष्कृत राजनीतिक व्यवस्थाका रूपमा गणतन्त्र संस्थागत भइरहँदा पनि दलहरूमा मर्यादित राजनीतिक संस्कारको अभावै देखिन्छ । राजतन्त्रको समूल अन्त्य भइसक्दा पनि राजनीतिक दलहरू त्यसैको संस्कारभन्दा माथि उठ्न सकेका छैनन्। उनीहरूमा न सहमतिको संस्कार छ न सहअस्तित्वको भावना। त्यसैले सत्तापक्षले शक्तिको दम्भ र प्रतिपक्षले पराजित मानसिकता त्यागेर हालसम्मका उपलब्धिलाई संस्थागत गर्दै विकास र समृद्धिको बाटोमा लाग्नु नै प्रजातन्त्र दिवसले औंल्याएको आजको आवश्यकता हो।


Related Posts

गणतन्त्र दिवस

By उपप्रा. लक्ष्मीप्रसाद बराल in राष्ट्रिय दिवस .
मार्च 2, 2017

Comments

    prasant

    ramro


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!