No Image
नेपाली पात्रो > चाडपर्व > पिशाच चतुर्दशी / पाहाँ चःह्रे

पिशाच चतुर्दशी / पाहाँ चःह्रे

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
मार्च 30, 2022

पिशाच चतुर्दशी / पाहाँ चःह्रे । नेवार समुदाय भित्र रहेका विभिन्न चाडपर्वहरूको सन्दर्भमा कुरा गर्दा एउटा रमाइलो अनी ठुलो चाडको रूपमा लिने गरिन्छ “पाहाँ चःह्रे” लाई। यस दिनलाई नेपाली (खस) भाषामा “पिशाच चतुर्दशी” पनि भन्ने गरिन्छ। पाहाँ चःह्रे नेवार समुदायको तीन दिवसीय महोत्सव हो र नेवारी भाषामा पाहुनाहरूलाई आमन्त्रित गर्ने प्रचलनलाई नै पाहाँ चःह्रे भनिएको हो। अन्य समुदायमा झैँ नेवारी संस्कृतिमा पनि पाहुनाको ठुलो स्थान रहेको छ र पाहुनालाई  देवता झैँ मान्ने गरिन्छ। त्यसै भएर पाहाँ चःह्रेमा इस्ट मित्र,आफन्त, लगायत साथी-भाइलाई निमन्त्रणा गर्ने र भोज खुवाउने चलन रहेको छ। 

नेपाल भाषामा “पाहाँ” को अर्थ पाहुना हुन्छ भने “चःह्रे”को अर्थ चतुर्दशी। “पाहाँ चःह्रे” चाड चैत्र कृष्ण पक्ष चतुर्दशीमा पर्छ। जाडो याम सकिएर गर्मी महिना सुरु हुने बेलाको समयमा विभिन्न किसिमको रोग लाग्ने र त्यस्ता रोगलाई धार्मिक उपाय अनुसार रोक्नका निमित्त नेवार समाजले पाहाँ चःह्रे पर्व मनाउने गरेका छन्।

नेवार समुदायले आज (पाहाँ चःह्रे) को दिन टोल टोलमा लुकु माद्यः (लुकु महादेव)को पूजा आराधना गर्ने गर्छन्। लुकु माद्यः पूजा भनेको पिशाचको रूपमा फोहर स्थानमा लुकेर बसेका महादेवको पूजा गर्ने हो। यसरी लुकेर बसेका महादेवको शिव लिङ्गलाई विशेष गरी लसुन, अदुवा, मासु र भटमास सहित समय-बजी चढाउने चलन रहेको छ। 

आराध्य देव महादेव जस्तो भगवान् त्यो पनि पिशाचको रूपमा फोहर भित्र लुकेर बस्नु परेको सन्दर्भमा भने एउटा कथा रहेको छ। एक पल्ट महादेवले शनिलाई सोधेछन् “शनि लाग्दा धेरै दुःख हुन्छ रे कसरी होला”! शनिले पनि “हजुर लाई पनि लाग्छ अनि थाहा होला” भनी उत्तर दिए रे। महादेवले भने शनि लाई “तिमीले मलाई पनि छुन सक्छौँ र?” भने पछि शनिले “हजुरलाई छुने समय आइरहेको छ” भनी जवाफ दिएछन्। शनिले छुने अर्थात् साढे सातको दशा लाग्ने डरले महादेव कहाँ र कता लुकौँ/लुकु भन्दै फोहोर फाल्ने ठाउँमा लुकेछन्। साढे सात वर्ष पछि पिशाच चतुर्दशी अर्थात् पाहाँ चःह्रेको दिन शनि त्यही स्थानमा आईपुगेछन। र महादेव लाई भनेछन् “मैले तपाइलाई देखे त” जसको प्रतिउत्तर मा महादेवले “खोइ त, तिमीले मलाई छुन सकेको” भन्दा खेर भने शनिले भनेछन् “मैले त हजुरलाई उही समयमा छोइसकेको थिएँ, जुन समय हजुर यहाँ लुक्न आउनुभएको थियो।” शनि को यस्तो कुरा सुनेर महादेवलाई के गरूँ के गरूँ भयो रे! यसरी लुकेर बसेका महादेव फोहरमै सिद्ध भएको हुनाले नेवार समुदायले “लुकुमाद्यः” भनी पूजा गर्दै आइरहेको हो भन्ने गरिन्छ। लुकुमाद्यः को अर्थ “जमिनमा डुबेको महादेव” भन्ने पनि अर्थ लाग्छ। 

पाहाँ चःह्रेको भोलिपल्ट टुँडिखेलमा घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ। एउटा कथन अनुसार परापूर्व कालमा गुरुमापा नामक राक्षसले दुख: दिएको र त्यसलाई घोडाको टाप (खुट्टा) ले कुल्चाई मारेको हुनाले घोडा दौडाउने प्रचलन सुरु गरिएको हो भन्ने गरिन्छ। घोडे जात्राको दिन ललितपुरको पाटन स्थित भोलाख्यः टोलमा छुट्टै घोडे जात्रा मनाउने गरिन्छ।  एउटा प्रसङ्ग अनुसार नेपाल सम्बत ७८७ तिर काठमाडौँका राजा प्रताप सिंह मल्ल र पाटनका राजा श्री निवास मल्लबिच खटपट भएको बेला देखि पाटनका जनताले काठमाडौँमा घोडे जात्रा हेर्न नजाउन् भन्ने अभिप्रायले पाटनमै घोडा दौडाउने चलन सुरु गरिएको हो भन्ने समेत गरिन्छ। 

पाहाँ चःह्रे अर्थात् पिशाच चतुर्दशीको दिन काठमाडौँ ’round रहेका अजिमाहरू लगायत गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ। यस अवसरमा कंकेश्वरी, भद्रकाली र महान्काल लगायत विभिन्न देवदेवीका शक्ति पीठहरू तान्त्रिक विधिबाट सक्रिय गराइन्छ। 

पहिलो दिन, मानिसहरूले लुकु महादेवको पूजा गर्दै आफ्नो घर-टोल ’round सफा गर्छन्। केही व्यक्तिले भने यस अवसरमा जनावर बलि दिने पनि गर्छन्। दोस्रो दिन असनमा एउटा चाड सुरु हुन्छ जहाँ अन्नपूर्ण देवी मन्दिरको छेउमा दुई पालकी (खट) एक अर्काको साथ ठोक्काइन्छ। यसलाई दिदी बहिनीहरू भेट्ने प्रतीकको रूपमा लिइन्छ। साँझमा देवीको मूर्तिहरू सहरको चारैतिर खटमा परिक्रमाका लागि लगिन्छ। देवी लुमालडी, भद्रकाली, कंकेश्वरी र भैरवको मूर्तिहरू असन चौकमा दिनको मुख्य उत्सवमा भने राती टुँडिखेलमा ल्याइन्छन्। यस दिन यी भगवान हरु एक साथ हरेक वर्ष भेला हुन्छन्। 

यो खट जात्रा चैत्र शुक्ल प्रतिपदाका दिनसम्म नै मनाउने गरिन्छ। औँसीको रात तीन वटा खटलाई टुँडिखेलमा लगेर एक आपसमा जुधाउने गरिन्छ। एउटा किंवदन्ती अनुसार लिच्छवी राजाले काठमाडौँ खड्ग आकारमा निर्माण गर्दा ८ वटा अजिमा देवी (८ दिदीबहिनीहरू भद्रकाली, कंकेश्वरी, नरदेवी, म्हेपी, मैतीदेवी, असनदेवी, सङ्कटादेवी तथा लतीदेवी) स्थापना गरेका थिए। र, तिनै अजिमा देवीहरूको सम्मानमा यसरी खट जात्रा गर्ने चलन चलाएका थिए। पहिलेको दिनमा यी आठै अजिमाको खट जात्रा गरे पछि असनमा एक आपसमा लडाइन्थ्यो जसलाई “द्य ल्वाकेगु जात्रा” अर्थात् देवतालाई लडाउने जात्रा भनिन्थ्यो। पछिल्लो समयमा भने केवल तीन वटा खट मात्र जुधाउन थालिएको भन्ने गरिन्छ। पाहाँ चःह्रे पर्वलाई काठमाडौँका यी आठ वटी दिदी बहिनीहरूको भेटघाटको पर्व पनि भन्ने गरिन्छ।

पाहाँ चःह्रे अर्थात् पिशाच चतुर्दशीको अवसरमा सबैलाई नेपाली पात्रोको तर्फ बाट धेरै धेरै शुभ कामना। हरेक विशेष दिन हरूले झैँ यस पर्वले पनि हामी सबै नेपालीहरू बिच एकता,  भाइचारा, र सदभावको विकास गरोस्।  यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।


Related Posts

घोडे जात्रा

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
मार्च 2, 2017

Comments

    Babu Ram Bhandari

    Intresting Story

    मनीष ओखेडा

    job


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!