No Image
नेपाली पात्रो > चाडपर्व > पितृपक्ष र महालय श्राद्ध

पितृपक्ष र महालय श्राद्ध

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
मार्च 2, 2017

आश्विन महिनाको कृष्णपक्षलाई पितृपक्ष वा महालय पक्ष भन्दछन्। यस पक्षमा पितृहरू आफ्नो जीवित सन्तान वा श्राद्धकर्ताको ढोकामै आइपुग्छन्। पितृपक्षमा श्राद्ध गर्ने कर्तामा आश्रित भएर उसका पितृहरू घरको ढोकामा आएर बसिरहेका हुन्छन्। त्यसमा पनि समस्त पितृहरूले कर्ताको पितालाई मुख्य व्यक्ति बनाएर यसले (कर्ताले) श्राद्ध कहिले गर्ला भनेर बाटो हेरिरहेका हुन्छन्। पितृहरूको नेतृत्व कर्ताका पिताले गर्दछन्। कर्ताका पिताले समस्त पितृहरूसँग ‘मेरो तिथि द्वितीया हो, पञ्चमी हो, सप्तमी हो वा औंसी हो, यसै दिन उसले हामीलाई बोलाउँछ, हामी त्यस दिन ब्राह्मणमार्फत जानुपर्दछ’ भनी ढोकामा बसेर वार्तालाप गरिरहेका हुन्छन्। यसर्थ पिताको मृततिथिमा नै महालय श्राद्ध गर्नुपर्छ। महालय पक्ष लाग्ने पूर्णिमा र चतुर्दशी तिथि भएकाहरूको भने अष्टमी, द्वादशी, औंसी, भरणी नश्रत्र र व्यतीपात योगमा पनि महालय श्राद्ध गर्न सकिन्छ भनिएको छ। तर महालय श्राद्ध तिथिप्रधान भएकाले अष्टमी, चतुर्दशी, औंसी र आशौचादिले रोकिएको महालय श्राद्ध पनि अष्टमी, द्वादशी औंसीमध्ये एक तिथिमा गर्नुपर्छ।

पितृहरू को हुन् ?

मरणोपरान्त दशाह कृत्य पूरा गरी एकादशाह, सपिण्डी श्राद्ध गरी तेह्र दिनमा उत्तरपाथेय श्राद्ध सम्पन्न भएपछि वर्षदिनसम्मका मासिकादि गरेर वर्षदिनमा वार्षिक श्राद्ध पूरा भएपछि पूर्णरूपमा प्रेतत्वबाट मुक्त भई पितृलोकको यात्रा मृतकले तय गर्दछ र उसले पूर्वपितृहरूसँग गएर बस्न पाउँछ। यता छोराहरूले पनि कर्तव्य पूरा गरेर वार्षिक तिथिमा श्राद्ध र महालय पक्षमा पिताको तिथिलाई निमित्त मानेर आफू कर्तामा आश्रित भएका समस्त पितृहरूलाई यस पक्षमा श्राद्ध गर्दछ। यसबाट दुवैको कल्याण हुनुका साथै पितृहरूले आफूले गरेका सत्कर्मअनुसार वैकुण्ठ लोक, ब्रह्मलोक, सत्यलोक आदिको यात्रा तय गर्दछन् भने पुत्रहरूले तिथिका दिन दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा नै फर्किन्छन्। तर श्राद्ध नभएको अवस्थामा भने उनीहरू २ महिना अर्थात् आश्विन कृष्णपक्षको आफ्नो तिथिदेखि वृश्चिक संक्रान्ति नलाग्दासम्म कर्ताको निवासको ढोकामा आएर कहिले श्राद्ध गर्ला भनी पर्खन्छन्। त्यो प्रतीक्षा पनि पितृहरूको कर्तव्य अन्तर्गत पर्दछ।

यस वर्षदिनसम्मको विधिको उल्लंघन गर्दा प्रेतबाट छुटेर पितृपद नै प्राप्न नगर्ने हुँदा, पितृहरूमा भोक्तृत्व क्षमता नै नआउने हुँदा दशाहदेखि वार्षिक कृत्यसम्मको काजकिरिया शुद्ध हुनु नै पितृपद प्राप्तिको प्रथम सोपान हो। प्रेतत्वको निवृत्ति नभई पितृपदको प्राप्ति सम्भव छैन, अकल्पनीय छ। अतः पितृ ती हुन्, जसको वार्षिक पिण्डसम्मको कृत्य पूर्ण भएको छ। पुत्रादि किरियाकर्म कर्ताको र मृत पित्रादि व्यक्तिको सम्बन्ध अन्योन्याश्रित छ।

मृतकको कर्म पूरा नभएमा पुत्रादिलाई पूरा गर्नका लागि समीपमा आएर पौराणिक पात्र धुन्धुकारीसरह प्रेरणा दिइरहेका हुन्छन्। दुःख दिएको नभई सचेत गराएको हुनाले उनीहरूले आफूलाई उद्धार गरिदिन अनुरोध मात्र गरेको हो। वस्तुतः प्रेतको स्वरूप र उसले गर्ने क्रियाकलाप हामीलाई भयावह लागेको मात्र हो। अतः पुत्रको कर्तव्य मृतकलाई पितृ बनाउनु हो, प्रेतत्वबाट उन्मुक्ति दिनु हो। बाँकी उसको कर्मअनुसारको फल एक वर्षपछि उसले स्वर्ग, नरकादि आफैं भोग्ने हो। पितृपद प्राप्त गरेकाहरूले मात्र एकोद्दिष्ट तथा महालयादि श्राद्धको पिण्ड–जल आदि भोग गर्न पाउँछन्।

महालयमा यी पितृहरू कर्ताको घर–आँगनमा आउँछन् र निमन्त्रणा गरेको ब्राह्मणको शरीरमार्फत श्राद्धभूमिमा पुगी तर्पणादि जल दिएको पिण्ड प्राप्त गर्छन्। पितृ, पितामह, प्रपितामह, माता, पितामही, प्रपितामही, मातामह, प्रमातामह, वृद्ध–प्रमातामह, मातामही, प्रमातामही, वृद्ध–प्रमातामही यसैगरी काकाहरू, काकीहरू, फुपूहरू, फुपाजु र उनीहरूका छोराछोरीहरू, भाइहरू बुहारीहरू, बहिनीहरू, ज्वाइँहरू, सानिमा, ठूल्यामाहरू, उनीहरूका पति र सन्तानहरू, आफन्तजनहरू, गायत्रीगुरु, दीक्षागुरु, मन्त्रगुरु, अनन्तगुरु, पत्नीका पितामाता, साला–जेठानहरू, राजा र भीष्मपितामह सम्मका लागि जल, तर्पण र पिण्ड दिने व्यवस्था धर्मशास्त्रमा श्राद्धको विषयमा उल्लेख गरेको पाइन्छ। उनीहरूलाई श्राद्धमार्फत कृतज्ञता सम्पन्न गर्दै यी सबैबाट ऐच्छिक एवं पारलौकिक सुखको आशीर्वाद पितृहरूले दिएर जान्छन्। जस्तै याज्ञवल्क्यस्मृतिमा लेखिएको छ–

आयुः प्रजां धनं विद्यां स्वर्गं मोक्षं सुखानि च ।
प्रयच्छन्ति तथा राज्यं प्रीताः नृणां पितामहाः ।। आचार २७०।।

श्राद्धको महत्त्व (पितृपक्ष र महालय श्राद्ध)

योऽनेन विधिना श्राद्धं कुर्याद्वै शान्तमानसः ।
व्यपेतकल्मषो नित्यं याति नावर्तते पुनः ॥

निष्काम भावले शान्त भएर विधिपूर्वक आफ्ना पितृहरूको जसले श्राद्ध गर्दछ, पितृहरूका आशीर्वादले सबै प्रकारका पापबाट ऊ छुट्छ भने अन्त्यमा मोक्ष प्राप्त गर्दछ। उसले फेरि जन्म–मरणको चक्करमा पर्नुपर्दैन। विधिपूर्वक श्राद्ध गर्नाले पितृहरू प्रसन्न हुन्छन् र आशीर्वाद दिएर पितृलोक फर्कन्छन्।

श्राद्धभन्दा पुण्यदायक अर्को कुनै कार्य छैन। यसर्थ देवकार्य भन्दा पितृकार्यलाई विशेष महत्त्वका साथ सम्पादन गर्नुपर्छ। साक्षात् सम्बन्ध भएका पितृहरूको मृततिथिमा श्राद्ध तथा पिण्डदान गरिन्छ। पितृहरूको रक्त सम्बन्ध र अंश सम्बन्ध छोरा, नाति, काका, भतिजा, पत्नी, छोरी आदिमा रहेको हुन्छ। यही रक्त सम्बन्ध र अंश सम्बन्धको ऋणबाट मुक्त हुन र वंश निरन्तरताको आशीर्वाद प्राप्त गर्न पितृहरूको सम्मानमा उनीहरूको स्मरण गर्दै श्राद्ध गरिन्छ।

प्रत्येक व्यक्तिलाई जन्म दिएर लालनपालन गरी हुर्काएर सक्षम बनाउने काम मातापिताले गरेका हुन्छन्। यसर्थ मातापिता व्यक्तिका साक्षात् ईश्वर हुन्। एकक्षण मातापिताको रेखदेखमा कमी हुँदा बालबच्चाको जीउज्यानसम्मै धरापमा परेको हामीले देखिरहेका छौं। मातापिताले अनेक दुःखकष्ट गरी हुर्काएर तरुण, सबल र सक्षम बनाएको यो हाम्रो शरीर आज तिनै मातापिताको वृद्धावस्थामा सेवा गर्न, टेवा दिन, सहयोग गर्न र वहाँहरूका इच्छा पूरा गर्न तयार हुँदैन भने त्यो जति विडम्बना के हुन सक्ला?

हामी सनातन धर्मावलम्बीहरू वेद र धर्मशास्त्रका अनुयायी हौं। शास्त्रहरूले विधान गरेको र पितापुर्खाले अवलम्बन गर्दै आएको धर्म–संस्कार नै हाम्रो सनातन संस्कृतिको मूल आधार हो। शास्त्रअनुसार पनि मातापिता र गुरुको स्थान सर्वोपरि हुन्छ। संसारमा कुनै भौतिक वस्तु छैन जसले मातापिताले लगाएको गुन चुक्ता गर्न सकियोस्। यसर्थ जीवनभर मातापिताको सम्मान, आज्ञापालन, सेवा र इच्छापूर्ति गर्नु नै परं कर्तव्य हुन आउँछ भने मरणोपरान्त शास्त्रोक्त विधिअनुसार पितृउद्धारका कार्यहरू गर्नुपर्दछ।

जसले आफ्नो परं कर्तव्यलाई बेवास्ता गरी पितृउद्धारको १३ दिने काजकिरिया गर्न पछि हट्छ भने त्यो त नरकमा भासिन्छ नै, त्यस्ता अनाचारी व्यक्तिको चर्चा गर्ने व्यक्तिसमेत नरकको भागीदार हुन्छ। सांसारिक प्रपञ्चहरूलाई नै सर्वोपरि ठान्ने त्यस्ता पुत्रलाई शास्त्रहरूमा कुपुत्रको संज्ञा दिइएको छ। आफ्ना पितृहरूको वार्षिक तिथिमा श्राद्ध गर्न पनि अनेक बहाना बनाएर नगर्नका लागि अनेक तानाबाना बुन्दछ र त्यही श्राद्ध नगर्नका लागि अर्काे धर्म सम्प्रदायमा गएर सदाका लागि नरकको बाटो अवलम्बन गर्दछ। स्वधर्म–संस्कृतिको बोध नभएर, आफ्नो महत्त्व नबुझेर उसले आफैंलाई यसरी ठगिरहेको हुन्छ। वस्तुतः यो उसको उपबुज्रुक वा बहुलठ्ठीपन मात्र हो। यसले हानि गर्दछ, लाभ गर्दैन । यस विषयलाई शास्त्रमा यसो भनिएको छ–

न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः।
श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिबन्ति ते ॥

अर्थात् पितृहरू नै छैनन्, बेकार अरूले श्राद्ध गरेको हो भन्ने विचार मनमा लिएर जसले श्राद्धकर्म गर्दैन, उसका पितृहरूले उसैको रगत पिउँछन्।

श्राद्धका प्रकार र फलविशेष

श्राद्धहरू नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण गरी ५ प्रकारका मानिएका छन्। दैनिक गरिने श्राद्ध नित्य हो भने मृततिथि र औसी एवं आश्विन कृष्ण पक्षका १६ दिनमा गरिने श्राद्ध नैमित्तिक श्राद्ध हो। तिथि, नश्रत्र, वार आदिमा कामनाविशेष सिद्ध गर्न धन, गुणसम्पन्न श्रेष्ठ पुत्र हुने फल हुन्छ भनिएकाले मघा श्राद्ध पनि काम्य हो ।

कृत्तिकादेखि भरणीसम्मका प्रत्येक नक्षत्रमा श्राद्ध गर्दा अनेक प्रकारका फल मिल्छन् भनिएको छ। त्यसैमा मघा नक्षत्रमा श्राद्ध गर्दा धन, गुण, शील–स्वभाव आदिमा श्रेष्ठ पुत्र हुन्छ भनिएकाले मघामा श्राद्ध गरिन्छ। तर मघा नक्षत्रको श्राद्ध काम्य हो र यो अपिण्डक हुन्छ। अर्थात् मघा नक्षत्रको मात्र श्राद्ध गर्नेहरूले पिण्ड दिएर श्राद्ध गर्नु हुँदैन भनिएकाले पिण्डरहित श्राद्ध गर्नुपर्दछ। तर हामीले महालय पक्षमा गर्ने श्राद्ध भनेको तिथिलाई प्रधान मानेर गरिने भएकाले सकृन्महालय (पिताको मृततिथिलाई निमित्त मानेर पितृपक्षमा एक दिन गरिने) श्राद्ध तिथिप्रधान हुन्छ, नक्षत्र प्रधान वा नक्षत्रलाई लिएर गरिने नभएकाले महालयपक्षमा एकादशी, द्वादशी र त्रयोदशी तिथिमध्ये कुनै दिन मघा नक्षत्र परे पनि हाम्रो पिताजीको महालयको तिथि पर्याे भने निःसंकोच महालय श्राद्ध त्यसै दिन गर्नुपर्छ, यसमा शंका मान्नुपर्दैन।

महालयको तिथिश्राद्ध नैमित्तिकमा पर्दछ। यसर्थ प्रत्येक तिथि, नक्षत्र वा बारमा कामनाविशेषले गरिने श्राद्ध काम्य हुन्छ। पुत्रको जन्म, विवाह, व्रतबन्ध, चूडाकर्म आदि संस्कार र विशेष मांगलिक कार्यविशेष जस्तै पुराण लगाउन, तीर्थ जान, गृहप्रवेश, वास्तु आदि गर्ने सन्दर्भमा गरिने श्राद्ध वृद्धिश्राद्ध हो। यसलाई नान्दीश्राद्ध या नान्दीमुखीश्राद्ध पनि भनिन्छ।

प्रत्येक अमावास्यामा, पर्वविशेषमा र महालय पक्षमा गरिने श्राद्धलाई पार्वणश्राद्ध भनिन्छ। महालय, पार्वण, सोह्रश्राद्ध आदिका नामले महालय पक्षलाई चिनिन्छ भने यसैलाई पितृपक्ष पनि भनिन्छ।

महालय पक्षसम्बन्धी केही निर्णयहरू

क) पिताको जुन तिथि हो, पितृपक्षमा पनि यसै तिथिमा महालय श्राद्ध गर्नुपर्छ। पितामह, प्रपितामह आदिको तिथिमा गर्न मिल्दैन।

ख) पूर्णिमा र चतुर्दशी तिथिहरूको महालय श्राद्ध अष्टमी, द्वादशी, औंसीमध्ये कुनै एक तिथिमा गर्नुपर्छ।

ग) मातृनवमीमा
मातृपक्ष– माता, पितामही, प्रपितामही– एकपक्ष
पितृपक्ष– पिता, पितामह र प्रपितामह– दोस्रो पक्ष
मातामह पक्ष– सपत्नीक मातामह, प्रमातामह, वृद्धप्रमातामह तेस्रो पक्ष
गरी यी तीन पक्षको श्राद्ध गर्न सकिन्छ।

घ) पिता जीवित छँदै आमा मरेकाहरूले मातृ, पितामही, प्रपितामही सहितको र अन्य पनि अविधवा मृतहरू भए अर्थात् सधवा स्त्रीहरूको अविधवा नवमी श्राद्ध गर्नुपर्छ।

ङ) महालय पक्षमा तिथि गर्ने बेलामा पत्नी रजस्वला भए अष्टमी, द्वादशी, औंसी एवं भरणी, व्यतीपातमध्ये कुनै एक दिन श्राद्ध गर्नुपर्छ। तिथि सादृश्यका कारण तिथि नै लिनुपर्छ।

च) कन्या राशिमा सूर्य प्रवेश भएपछि महालय गर्ने भनिए तापनि आषाढबाट पाँचौंपक्ष जुन हो, त्यसैमा गर्नुपर्छ। अर्थात् आश्विन कृष्णपक्षमा महालय श्राद्ध गर्नुपर्छ।
अर्को कुरा महालय पक्षमा कन्या राशिमा सूर्य सरेकै हुनुपर्छ भन्ने होइन। तर, यस पक्षको सुरुमा, बीचमा वा अन्त्यतिर नै गए पनि हुन्छ भनिएकाले कन्या राशिमा सूर्य रहनुमा अनिवार्यता छैन।

छ) मघा नक्षत्र हो भने हामीले पितृपक्षमा गर्ने श्राद्ध भनेको तिथिश्राद्ध हो। अतः महालय पक्षमा वा अरू बेला मघा नक्षत्र परेको भए श्राद्ध गर्न हुँदैन, पिण्ड दिनुहुँदैन भन्ने कुरा अशास्त्रीय हो। मघामा कस्तोमा चाहिँ पिण्ड दिन हुँदैन भने जसले मघा नक्षत्रलाई निमित्त मानेर (तिथिनिमित्त होइन) मघाश्राद्ध गर्छ, त्यस्ताले पिण्डरहित मघाश्राद्ध गर्नुपर्छ। मघाश्राद्ध नैमित्तिक श्राद्ध होइ, वस्तुतः काम्य श्राद्ध हो। अतः नक्षत्रपरक मघाश्राद्ध अपिण्डक हुन्छ। महालय पक्ष भनेकै तिथिश्राद्ध भएकाले मघासँग तिथिश्राद्धको सम्बन्ध छैन। मघा पर्यो भनेर महालय पक्षको पिताको तिथि छोड्नु हुँदैन।

ज) पितृपक्षभरि महालय हुन सकेन भने आश्विन शुक्ल पञ्चमीसम्मलाई गौण काल मानिएको हुँदा पञ्चमीसम्म श्राद्ध गर्न मिल्छ, गर्नुपर्छ। त्यसपछिका अष्टमी, द्वादशी, औंसी, भरणी र व्यतीपातमा पनि गर्न सकिन्छ।

झ) गाईतिहारे औंसी (कार्तिक कृष्ण औंसी) सम्म श्राद्ध हुन सकेन र मार्गशीर्ष संक्रान्ति पनि लागेको छैन भने त्यस बीचमा निशिहरू, तिथि, वार आदिको विचार गरेर (जुराएर) महालय श्राद्ध गर्न सकिन्छ। यो अन्तिम अवसर हो। यसपछि अर्थात् मार्गशीर्ष संक्रान्ति लाग्यो, यस वर्ष महालय हुन सकेन भने ‘दुरो अश्वस्य व्यो…’ मन्त्रको १० महिनासम्म जप गरिरहनाले मात्र महालय श्राद्ध नगरेको प्रायश्चित हुन्छ र यस बीचमा (१० महिनाभित्र) पर्ने एकोद्दिष्ट वा एकाहपार्वण आदि पितृहरूको तिथिश्राद्ध भने गर्दै जानुपर्छ।

१० महिना जप्ने मन्त्र– ॐ दुरो अश्वस्य दुर इन्द्र गोरसि दुरो यवस्य वसुन इनस्पतिः। शिक्षानरः प्रदिवो अकामकर्शनः सखासखिभ्यस्तमिदं गृणीमसि।। (ऋग्वेद १।१५३।२ वेणीमाधव ढकाल सं. पृ. २९७ बाट)

ञ) महालयको श्राद्धकाल– दिनमानलाई पाँच भाग लगाएर चौथो भाग अर्थात् अपराह्नलाई लिनुपर्छ।

श्राद्धकर्म पितृ र पुत्रहरूका लागि अत्यन्त उपयोगी कर्म हो। पितृतर्पण, पिण्डदान, ब्राह्मणभोजन आदि यसका मुख्य कर्म हुन्। यो कर्म तिथिप्रधान मानिएकाले निःसंकोच आफ्ना पितृ आदिको मृततिथिमा एकोद्दिष्ट वा एकपार्वण श्राद्ध गर्नुपर्छ भने महालय पक्षमा सम्भव भए सोह्र दिन नै श्राद्ध गर्नुपर्छ। सकिँदैन भने आफ्ना पिताको तिथिलाई निमित्त मानेर पितृपक्षमा त्यसै तिथिमा समस्त पितृहरूको महालय श्राद्ध गर्नुपर्छ।

श्राद्ध शास्त्रीय वचनका आधारमा सम्पन्न गरिने हुनाले पठित ब्राह्मणद्वारा शुद्ध उच्चारणका साथ श्राद्धीय कार्य गर्नुपर्छ। श्राद्धमा चोखोनितोको पनि अत्यन्तै ख्याल गर्नुपर्छ। यस्तै, भीडभाड, हल्ला आदि श्राद्धमा अशोभनीय हुने भएकाले शुद्धताका साथ हल्ला नगरी श्राद्ध सम्पन्न गर्नुपर्छ।


Related Posts

Comments

    Rajib Chhetri

    Namaskar Sir,
    ma India Bata ho mero buba ko mrityu
    Indian tarik 10-2-2014 ma bhayeko ho..
    ra waha ko solashradha maile Kati din barnu parcha kripa gari bhani dinu hola..

      Kiran Silwal

      नमस्कार,

      यहाँले पठाउनु भएको तारिख महिना-दिन-साल हो कि दिन-महिना-साल हो, स्पष्ट पारिदिनु होला ।

    Tej Bahadur Rawzt

    We Should Remembers Alltime & Moment. Once Z Day Of 365 Day We Should Remember With Varity Food.

    dilip kumar singh

    sir sarad kahile hun aaja dekhi hun ya hijo dekhi suru vaye halka Janna paye hunthyo

      Kiran Silwal

      नमस्कार,

      नेपाली समय अनुसार श्राद्ध २०७६ साल भाद्र २८ गतेबाट सुरु भएको थियो ।

    !ढाकन

    मातृ देवो भवः पृति देवो भवः

    Devendranepali

    दित्तय तृर्तीय तिथि परेकाले सोह्र श्राद्ध को दोस्रो दिनमा एकछाके गरेर तृतीयमा श्राद्ध गर्ने हो कि पहिलो श्राद्ध को एकछाके गरेर दित्तिया मा श्राद्ध गर्ने हो अलिकति बुझाईदिनु हुन्थ्यो की गुरु

      Kiran Silwal

      नमस्कार,

      प्रश्न सपष्ट भएन । कृपया हामीलाई विस्तृत रूपमा प्रश्न सोध्नका लागि हामीलाई nepalipatro@gmail.com मा सम्पर्क गर्नुहोला ।

    भिम बहादुर श्रेष्ठ

    गुरु दर्शन,मेरो बुवाको मिति २०७४/१२/२९ गते बिहान ०३.०० मृत्यु भएको हो।श्राद्द कुन तिथिमा र कति गते गर्नुपर्छ कृपया जानकारी पाए आभारी हुने थिए।कोहि गुरुले एकादसी र कोहिले द्द्वादशी भनेकाले प्रष्ट पारी दिनु हुन अनुरोध गर्द्छु।

      Kiran Silwal

      नमस्कार,

      सर्वप्रथम त, नेपाली पात्रो परिवार तपाईँका पिताको आत्मा को चिर शान्तिको कामना गर्दछ ।
      पञ्चाङ्ग अनुसार तपाईका पिता एकादशीमा दिवङ्गत हुनुभएको थियो । कृपया व्राम्हणको सल्लाह लिएर काज गर्नु होला । नेपाली पात्रोमा रहेको त्यस दिनको पञ्चाङ्ग अनुसार त्यस दिन बिहान ६:३६ बजेउपरान्त द्वादशी सुरु भएको थियो भने बिहान एकादशी थियो । विस्तृत जानकारीका लागि तल हेर्नुहोला ।

      वि.सं. २०७४ साल चैत २९ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– एकादशी, ६:३७ बजेउप्रान्त द्वादशी। नक्षत्र– शतभिषा, २६:०५ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– शुक्ल, २८:२५ बजेउप्रान्त ब्रह्म। करण– वालव, ६:३७ बजेदेखि कौलव, १९:११ बजेउप्रान्त तैतिल। आनन्दादिमा वज्र योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:२६ बजे र दिनमान ३१ घडी ४४ पला। पञ्चक। वरुथिनी एकादशी व्रत।

    Ram sunar

    nice

    तेजराजउच्चैठकुरी

    30 दि:1987 को दिन हाम्रो बाबा को देहावसान भएको जानकारी गराउदै त्यस दिन को सबै तिथीमितीपक्षबिपक्ष उपलब्ध गराइदिन हुन भनि हार्दिक अनुरोध गर्ने चाहन्छु,धन्यबाद

      Kiran Silwal

      नमस्कार,

      कृपया पुरा मिती तथा समय दिनुहोला!

    rajendra

    mero buwa ko sradha bholi pachami thithi ho tara budi n chune bhai sradha garna hunx ki nai kripa batai dinu n??

      Nepali Patro

      हजुर, यस्तो समयमा शराद्धलाई सार्न मिल्छ।
      धन्यवाद

    गोपाल प्रसाद भट्टराई

    धन्यवाद गुरूजी ।सूचना जानकारीका लागि ।

    dirghamanjoshi

    yasa sala ma corona le garada aamako 2barasa ko sarada garna saken tar ukta tithima gai lai sida khuwaya diya !hunchh?

      Nepali Patro

      श्राद्ध अनिवार्य कृत्य हो। नियमित तिथिमा गर्न नसके पनि अन्य तिथिमा गर्ने विधान छ।
      धन्यवाद

    basudev nepal, devighat,Nuwakot .

    समयसापेक्ष लेख खुसी लाग्यो गुरु , यस्ता शास्त्रीय लेख बाहिर अाउनुपर्छ । साधुवाद गुरुलाई।

    Gopal Nath

    Guru Pranaam… Mero Bua ko mirtyu tarikh 23 February 2019 samay 3 baje diuso ho plz mero Bua ko Shrad kun chai din parne hola …

      Nepali Patro

      हजुरको बुवाको श्रद्धा पंचमीमा हो।
      धन्यवाद

    Tabrez

    i learned

    purushottam khanal

    सोह्र श्राद्ध को त्रयोदशीमा बा बितेको हो भने उक्त दिन एकपार्वण र पार्बण श्राद्ध दुवै गर्न मिल्छ होला कसरी गर्ने होला प्रष्ट्याइदिनुहोला


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!