No Image
नेपाली पात्रो > राष्ट्रिय दिवस > नेपाल नर्सिङ दिवस

नेपाल नर्सिङ दिवस

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in राष्ट्रिय दिवस .
जनवरी 29, 2022

नेपाल नर्सिङ दिवस। आज माघ १५, अर्थात नेपाल नर्सिङ दिवस। नेपाल भरि नै आज माघ १५ को दिन नेपाल नर्सिङ दिवस मनाइने गरिन्छ। आजको दिन अग्र-पङ्गतिमा रहेर रात वा दिन नभनी रोगी तथा बिरामीहरूको सेवामा सधैँ तल्लीन रहेर जस्तो सुकै जटिल परिस्थितिमा पनि मन्द-मुस्कान सहित खट्ने नेपालका नर्सिङ पेसामा समर्पित सम्पूर्ण नर्सहरूको विशेष दिन हो। सेतो कोट लगाएकी अनि कपालमा रिबन, औषधीहरूको खात बोकेकी अनि स्निग्ध् मुस्कान सहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका हुन नर्स। 

नर्स भन्ने बित्तिकै अस्पताल, स्वास्थ्य चौकी अनि मानव स्वास्थ्य सुधार गर्ने ठाउँ तथा अति ममतामयी नर्सहरूको सेवा स्मरण हुनु स्वाभाविक पनि हो। हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा, नेपाल नर्सिङ दिवस मनाइन्छ। नर्स पेसाको बहादुरी, सौम्यता र सेवा भावको कदर गर्ने दिन हो, नेपाल नर्सिङ दिवस। रात दिन केही नभनी आफ्नो काममा खट्ने सबै अग्र-पङ्गतिका नेपाली नर्सहरूमा नेपाली पात्रो परिवारको हार्दिक नमन।  

विश्वको (अन्तराष्ट्रिय) भन्दा पनि आज नेपालको अर्थात् नेपाल नर्सिङ दिवस भएकोले नेपालको नर्सिङ इतिहासलाई केही खोतल्ने प्रयास गरौँ। यस देशमा नर्सिङ जस्तो अत्यन्तै मर्यादित पेसाको इतिहास खासै पुरानो भने छैन। नर्सिङ जस्तो मर्यादित पेसाको नेपालमा जन्म दिने श्रेय विभिन्न व्यक्तिहरू लाई जाने गर्छ। नेपालको नर्सिङ इतिहास वि सं २०१३ (सन १९५६) वाट सुरु भएको मानिन्छ तर त्यसका दस्ताबेजहरू भने खासै भेटिदैनन। 

त्यस बेलाको राणा कालिन समयमा केही नेपाली गृहणी हरू सहित नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए भन्ने गरिन्छ। त्यस बखतको कडा राणा शासनका बेला केही सभ्रान्त परिवारहरूले स्वास्थ्य-उपचार तथा नर्सिङ पेसा रहेको र त्यसको महत्त्व सहित फाइदा थाहा पाएर नेपालमा नर्सिङ पेसा सुरुवात भएको भन्ने विश्वास गरिन्छ। त्यस काल खण्डमा केही सम्भ्रान्त परिवारका केही नेपाली चेलीहरू जस्तै विधावती कंसाकार र धर्मदेवी कंसाकार लगायत विष्णुदेवी राई तथा राधा मालाकारले भारत स्थित अलाहवाद वाट सन १९५६ को आसपासमा स्वास्थ्य सहायकको तालिम लिएको इतिहास समेत पनि कहीँ कतै सुन्नमा भने आउँछ।

तर, आधिकारिक रूपमा नेपालको सन्दर्भमा भने स्वर्गीय लमु अमात्य लाई देशकै पहिलो नर्सको रूपमा मानिने गरिन्छ। त्यस सन्दर्भमा २०७४ को वैशाख १८ गते नेपाल सरकारले स्वर्गीय लमु अमात्यलाई देशकै पहिलो नर्स घोषणा गरेको थियो। त्यस दिन भएको स्वास्थ्य मन्त्रालयको एक कार्यक्रममा तत्कालीन स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्व. लमु अमात्यका दुई छोरा मध्येका एक योगेश्वर (योगी) अमात्यले प्रस्तुत गरेको कानुनी प्रमाणहरूका आधारमा स्वर्गीय लमु अमात्यलाई नै देशकै अर्थात् नेपालको पहिलो नर्स घोषणा गर्दै आधिकारिक रूपमा “नेपालको पहिलो नर्सको प्रमाणपत्र” हस्तान्तरण समेत गरेको थियो। स्व.अमात्यले सन् १९५४ मा कलकत्ता (कोलकाता) मेडिकल कलेजबाट नर्सिङको उपाधि हासिल गरेकी थिइन्। र, उनीले  नेपालमा सन् १९५६ चैत १३ गतेदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तालिम परियोजनाबाट छेत्र पाटीमा रहेको एक घरका केही कोठा भाडामा लिई आफ्नो नर्सिङ पेसा सुरु गरेकी थिइन्। सन १९३२ जनवरी २७ (बि.स. १९८८ माघ १४ ) मा भारतको दार्जिलिङमा जन्मिएकी लमुको बि. स. २०६९ जेठ १९ को दिन काठमाडौँ मा निधन भएको थियो।

विश्व इतिहासमा भने नर्सिङ पेसाको सुरुवात क्रिमियन युद्ध (अक्टोबर १८५३ देखि फेब्रुअरी १८५६) सम्म चलेको सैन्य सङ्घर्षको वरिपरि सुरु भएको थियो। त्यस युद्धमा रुसले फ्रान्स, ओटोमन साम्राज्य लगायत युनाइटेड किंगडम र पिडमोन्ट-सार्डिनियाको गठबन्धनसँग हारेको थियो। उक्त युद्धको कारण को कुरा गर्दा त्यो युद्ध प्यालेस्टाइनका इसाई अल्पसङ्ख्यकहरूको अधिकारको लागि भएको थियो, जुन त्यस बेला ओटोमन साम्राज्यको एक हिस्साको रूपमा रहेको थियो। फ्रान्सेलीहरूले रोमन क्याथोलिकहरूको अधिकारलाई बढावा दिए, र रुसले पूर्वी अर्थोडक्स चर्चको अधिकारलाई बढावा दिए। यी दुई राष्ट्रको आ-आफ्नो साम्राज्यको विस्तार अनि शक्ति सन्तुलन कायम राख्न ब्रिटिस र फ्रान्सेलीहरूले ओटोम्यान साम्राज्यलाई जोगाउने प्राथमिकताहरू समावेश गरेका थिए।  दीर्घकालीन कारणहरूमा ओटोम्यान साम्राज्यको पतन, अघिल्लो रुस-टर्की युद्धहरूमा रुसी साम्राज्यको विस्तार र युरोपको शक्ति सन्तुलन कायम राख्न ब्रिटिस र फ्रान्सेलीहरूले ओटोम्यान साम्राज्यलाई जोगाउने जस्ता प्राथमिकताहरू समावेश थिए। नेपाली पात्रोका पाठक हरूलाई जानकारी तथा स्मरण रहोस् कि विश्वभरमा विभिन्न समयमा भएका अनेकन् युद्धहरू मध्येका त्यस क्रिमियन युद्ध लाई विभिन्न देशहरूले आफ्नो फाइदाको निमित्त नेतृत्व गरेका थिए, जुन युद्ध अहिले सम्म पनि “कुख्यात रूपमा असक्षम अन्तराष्ट्रिय  नरसंहार” को नाम ले प्रसिद्ध छ। 

यसरी नर्सिङ पेसाको सुरुवात पनि यही  क्रिमियन युद्धको दौरान नै फ्लोरेन्स नाइटिंगेल (१२ मे १८२० – १३ अगस्ट १९१०) नामक एक अंग्रेजी समाज सुधारक, सांख्यिकीविद् र आधुनिक नर्सिङका संस्थापक महिला बाट भएको थियो। उक्त भिसण युद्धको समयमा नर्सहरूको प्रबन्धक र प्रशिक्षकको रूपमा उनले गरेको सेवा बाट नै नाइटिंगेल प्रख्यात भएकी थिइन्। त्यस अन्तरालमा उनले कन्स्टान्टिनोपलमा घाइते सिपाहीहरूको हेरचाहको आयोजना गर्ने काम गरेर उनले नर्सिङलाई एक अनुकूल प्रतिष्ठा सहितको पेसाको रूप दिने कम गरेकी थिइन्। र, तिनै योगदानहरूको कारण उनिलाई भिक्टोरियन संस्कृतिको प्रतिमा समेत पनि बन्न मद्दत, विशेष गरी उनले रातको समयमा समेत घाइते सिपाहीहरूको सेवाको लागि हातमा मैनबत्ती बोकेर सबैको स्वास्थ्य स्थिति बुझ्दै हिँडेको हुनाले उनलाई “द लेडी विथ द ल्याम्प” को नामले संसारले चिनेको छ। 

 नर्सिङमा उनको अग्रगामी कामको सम्मानमा, नयाँ नर्सहरूले आफ्नो कम सुरु गर्नु अगाडी लिने शपथ “नाइटिङगेल वाचा”, र फ्लोरेन्स नाइटिंगेल पदक, एक नर्सले हासिल गर्न सक्ने उच्चतम अन्तराष्ट्रिय सम्मान, उनको नाममा दिइने गरिन्छ र वार्षिक अन्तराष्ट्रिय नर्सिङ दिवस पनि विश्वभर उनको जन्मदिनमा नै मनाउने गरिन्छ। 

 फेरी पनि आफ्नै देश नेपाल फर्किदा नेपालमा नर्सिङको इतिहास त्यति पुरानो नभएको कुरा त हामीले माथि पनि गरी सकेका नै छौ। तर, अहिलेको समय अनि परिप्रेक्ष्य नर्सहरूको महत्त्व यति धेरै छ कि त्यसको हामीले शब्दमा वर्णन गर्न समेत पनि सक्दैनौ। अनि नर्सिङ पेसाको विकास पनि नेपालमा अहिले धेरै भई सकेको छ। त्यो पनि एक मर्यादित, सम्मानित अनि महत्त्वपूर्ण पेसाको रूपमा। यी ममता ले भरिएका मन अनि मुटु बोकेका नर्सहरू विनाको अस्पतालको के हामी परिकल्पना गर्न सक्छौ त? अवश्य पनि सक्दैनौ।

यिनै विभिन्न महत्त्वपूर्ण कारण हरूलाई मध्य नजर गर्दै हरेक नेपाली ले नर्सिङ पेसा लाई सम्मान गर्ने र सम्मानको नजर ले हेर्नु पर्छ। यी अग्र-पङ्गतिमा रात दिन नभनी रोगी तथा बिरामीहरूको सेवामा तल्लीन रहने व्यक्तित्व राष्ट्रका साँचो गहना हुन्।  यसमा कुनै शङ्का नरहोस्।  हामी कुनै पनि रोगले वा बिरामी भई अस्पताल वा स्वास्थ्य चौकी जाँदा हामीलाई चिकित्सकको सल्लाह अनुसार औषधी दिने/खुवाउने, घाउ मा द्रेसिंग गरी औषधि लगाई हाम्रो स्वास्थ्य छिटो ठिक होस् भनेर तल्लीन रहने यी नर्स हरूलाई हामी सबैले उचित सम्मान गर्नु आवश्यक छ। त्यो सम्मान आज नेपाल नर्सिङ दिवसको दिन मात्र होइन हरेक दिन अनि हरेक पटक उनी हरूबाट सेवा पाउँदा हामी नेपाली नर्स हरू प्रति गौरवान्वित हुनु पर्छ।  नेपाल नर्सिङ दिवसको अवसरमा नेपाल तथा नेपाल बाहिर रहेका नेपाली लगायत सम्पूर्ण नर्सिङ पेसामा समर्पित नर्सहरूलाई नेपाली पात्रोको तर्फ बाट मुरी मुरी धन्यवाद तथा यस शुभ दिन को धेरै धेरै शुभ-कामना। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!