No Image
नेपाली पात्रो > सूचना > नेपालमा मनाइने धार्मिक र सांस्कृतिक चाडपर्वहरू

नेपालमा मनाइने धार्मिक र सांस्कृतिक चाडपर्वहरू

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in सूचना .
अक्टोबर 8, 2021

नेपालमा मनाइने धार्मिक र सांस्कृतिक चाडपर्वहरू. नेपाली पात्रो भित्र रहेका विभिन्न सेवाहरूमा तिथि-मिती, राशिफल, परामर्श र समाचार सहित रहेको एक महत्त्वपूर्ण खण्ड हो “ब्लग खण्ड”। र, त्यस खण्ड भित्र नेपाली लगायत अङ्ग्रेजीमा समेत रहेका विभिन्न अवसरका ब्लगहरू रहेका छन्। यस खण्ड अन्तर्गत रहेका महत्त्वपूर्ण ब्लगहरूको एक समूहको रूपमा रहेका छन्, चाडपर्व सम्बन्धी ब्लगहरू। नेपालमा मनाइने हरेक धार्मिक र सांस्कृतिक प्रमुख चाडपर्वहरूले एउटा अत्यन्तै महत्त्वपूर्ण एवम् प्रमुख स्थान ओगटेको छ भने यिनले देश भित्रका नेपालीलाई मात्र नभई अहिलेको बदलिँदो परिपेक्षमा देश बाहिर समेत रहेका हरेक नेपालीलाई चाडपर्व लगायत अन्य अवसरहरूको पनि महत्त्वपूर्ण जानकारी दिँदै आइरहेको छ।  नेपालमा मनाइने धार्मिक र सांस्कृतिक चाडपर्वहरू

अनेकतामा एकताको नारा बोकेको नेपालमा विभिन्न जात-जाति, भाषा-भाषी र विभिन्न धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ। र हरेक जात-जाति, भाषा-भाषी र धर्म मान्ने मानिसहरू सबै नेपाली हुन् र सबैको आ–आफ्ना रीति-थिति, रहन-सहन चाल-चलनहरू रहेका छन् यो विविधता नै अनेकता मा एकताको एक महत्त्वपूर्ण उदाहरण र एकताको स्पातीय कडी समेत हो। नेपालमा मनाइने धार्मिक र सांस्कृतिक चाडपर्वहरू

नेपाली पात्रोले, नेपालमा पूर्व देखि पश्चिम तथा हिमाल, पहाड देखि समतल भू-भाग तराईसम्म छरिएर बसोबास गर्ने हरेक नेपाली चाहे सनातन (हिन्दु) धर्मलम्वी हुन् वा हुन् येसु भक्त इसाई, इस्लाम धर्म (सिया, सुन्नी, सुफी) को कुनै मुस्लिम समुदाय हुन् वा अझै पनि जङ्गली जीवनमै रमिरहेका राउटे वा चेपाङ देखि बौद्ध धर्मावलम्बी (महायान, वज्र यान, श्रावक यान) अन्तर्गतका विभिन्न नेपाली समुदाय भित्रका जातजाति, धर्म, भाषा, पहिरन जे सुकै भए पनि सबै लाई नेपालीको रूपमा चिनेको र मानेको छ।

त्यसै कारण पनि सन्छेपमा भन्नु पर्दा नेपाली पात्रोले सबै धर्म, भाषा अथवा भेष-भुषा सबैको चाड पर्व लाई समेट्दै झन्डै जसो प्रत्येक दिन पर्ने केही न केही चाडपर्वलाई सम्झाउँदै आएका छौ, र त्यस विशेष दिनको ’boutमा सत्य र तथ्य लाई पस्कने प्रयास गरिरहेका नै छौ। 

आज फेरि देश मात्र नभई विदेशमा समेत रहने हाम्रा विभिन्न धर्म मान्नु हुने सम्पूर्ण नेपाली पात्रो प्रयोग कर्ताको सुविधा लाई ध्यान मा राख्दै तथा नयाँ पुस्ताहरूलाई पनि जानकारी दिने उद्देश्यका साथ नेपाली चाडपर्वहरूको ’boutमा जानकारी दिने कोसिस गरेका छौ। नेपाली चाडपर्वहरूको ’boutमा जानकारी राख्न खोज्ने, अनुसन्धान गर्न खोज्ने वा मात्र मनाउने र रमाइलो गर्दै आफ्नो संकृति जगेर्ना गर्ने हरूका लागि समेत यो चाडपर्व सम्बन्धी आधारशिला लेख वा ब्लगको रूपमा नेपालमा मनाइने सम्पूर्ण चाडपर्व हरूको जानकारी प्रस्तुत गर्ने जमर्को गरेका छौ। नेपाली पात्रोले आफू सँग भएको सम्पूर्ण जानकारी प्रयोग गर्दै यो लेख तयार गरेको भएता पनि कहीँ कतै कुनैनेपालीको महत्त्वपूर्ण चाड पर्व छुट्न गएको खण्डमा आउँदा दिन हरूमा छुटेका चाड पर्व लाई पनि समावेश भने गर्ने नै छौ।  

नेपाली पात्रोले नेपालमा मनाइने धार्मिक र सांस्कृतिक प्रमुख चाडपर्वहरूलाई सजिलोको लागि विक्रम सम्बतको महिना, तिथि मिति प्रयोग गरेको भए पनि थाहा भएको अवस्थामा र सके सम्म भने अन्य पात्रोको मिति वा महिना अनुसार पनि चाड पर्वको मिति महिना आदि उल्लेख गर्ने प्रयास गरेका छौ।  

नेपालमा मनाइने धार्मिक र सांस्कृतिक प्रमुख चाडपर्वहरू विक्रम सम्बत अनुसार: 

वैशाख 

नेपाली नयाँ बर्ष:  विक्रम सम्बत अनुसार वैशाख १ गते।  नेपालमा सर्वमान्य, वैधानिक र राष्ट्रिय संवत् का रूपमा विक्रम संवत् लाई लिइन्छ। यही संवत् का आधारमा नेपालको राष्ट्रिय पञ्चाङ्ग अथवा क्यालेन्डर तयार हुन्छ। हरेक वर्ष वैशाख सङ्क्रान्तिबाट प्रारम्भ भएको नयाँ संवत् चैत्र मसान्तमा टुङ्गिन्छ। संसारका सबै संवत् मध्ये सर्वाधिक वैज्ञानिक तथा सूर्यको गति र प्रकृतिमा आधारित संवत् नै विक्रम संवत् हो।

मातातिर्थ औँसीलाई मातृ सम्मान दिवस पनि भनिन्छ। वैशाख कृष्ण पक्ष अमावस्या (औँसी) तिथि अर्थात् माता तीर्थ औँसी, वा मातृसाम्मान दिवस। यो दिन आफूलाई जन्म दिने आमाको मुख हेर्ने र आमालाई विशेष रूपले सम्मान गर्ने दिवसको रूपमा स्थापित छ। त्यसैले यो दिनमा आमा जीवित हुनेहरूले आमाको दर्शन गरी आमालाई मन पर्ने मिष्टान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्दछन् भने आमा नहुनेहरूले विभिन्न तीर्थहरूमा गई आमाको मोक्ष गतिको कामनासाथ आमाका नाममा श्राद्ध, तर्पण तथा पिण्ड दान गर्दछन्। 

अक्षय तृतिया: वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई धर्मशास्त्रहरूमा अक्षय तृतीया भनिएको छ। अक्षयको अर्थ कहिल्यै क्षय नहुने अर्थात् सदैव स्थायी रहने अर्थ लाग्छ। यस दिन गरेका प्रत्येक पुण्य कार्यहरू जप, तप, पूजा, पाठ, यज्ञ, अनुष्ठान, होम, गंगादि तीर्थस्थान, पितृ तर्पण आदि सबै अक्षय हुन्छन् अर्थात् थोरै गरे पनि नाश नभई धेरै गरे सरह फल प्राप्ति हुन्छ भनी धर्मशास्त्रहरूमा बताइएको छ।

नेपालमा वैशाख शुक्ल पक्ष पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। संसार दुःखमय छ। दुःखको मूल कारण भनेको तृष्णा हो। तृष्णालाई त्याग्न सकिन्छ। तृष्णालाई त्यागेपछि मात्र दुःखबाट छुटकारा मिल्छ र निर्वाण अर्थात् शान्ति प्राप्त हुन्छ। संसारलाई यस्ता महाज्ञानको उपदेश दिने विश्वशान्तिका महानायक भगवान् गौतम बुद्धको जन्म जयन्ती अर्थात् बुद्ध जयन्ती हो।  

उभौली पर्व: वैशाख शुक्ल पक्ष पूर्णिमा देखि एक महिना। उभौली पर्व, प्रकृति पूजक वा अर्को शब्दमा धर्ती पूजकहरू, अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरूले मनाउने प्रसिद्ध एक पर्व हो, जसको अर्को नाम “साकेला पर्व” पनि हो। वैशाख शुक्ल पक्ष पूर्णिमा (बुद्ध पूर्णिमा) को दिनदेखि यो पर्व विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै एक सातासम्म मनाउने गरिन्छ। 

हजारौँ वर्ष पुरानो इतिहास बोकेको रथ यात्रा हो मत्स्येन्द्रनाथको रथयात्रा। नेपाली पात्रो अनुसार वैशाख शुक्ल पक्ष प्रतिपदाको दिनदेखि सुरु भएर आषाढ शुक्ल पक्ष चतुर्थीसम्म लगभग दुई महिनासम्म मानिन्छ। विविध संस्कृति, परम्परा, रीतिरिवाजमा धनी मानिने हाम्रो देशमा वर्ष दिनमा मनाइने विभिन्न चाडपर्वहरू मध्येमा नेवार समुदायमाझ ललितपुरमा हुने सबभन्दा लामो समयसम्म मनाइने पर्व रातो मत्स्येन्द्रनाथको रथयात्रा एक हो| 

नृ सिंह जयन्ती: वैशाख शुक्ल पक्ष चतुर्दशी तिथि। वैशाख महिनाको चतुर्दशी तिथिको सायं कालमा भगवान् नृसिंहको अवतार (नृसिंह जयन्ती) भएको थियो। भगवानले नरसिंह अवतार लिएर प्रह्लादको रक्षा गर्नुभएको थियो। नृसिंह भगवानको व्रत नित्य भएकाले सबै मानव समुदायले यो व्रत लिनुपर्दछ। 

मोहिनी  एकादशी: वैशाख शुक्ल पक्ष एकादशीलाई मोहिनी एकादशी भनिन्छ। ‘मोह’लाई शास्त्रहरूमा पापाचारको एक कारण मानिएको छ। यसर्थ मोहरूपी बन्धनबाट मुक्त रहँदै ईश्वरको सान्निध्य प्राप्त गर्ने माध्यमका रूपमा मोहिनी एकादशी व्रतलाई लिन सकिन्छ। थप कथा। 

श्री परशुराम जयन्ती: वैशाख शुक्ल पक्ष तृतीया। त्रेता युगमा अत्याचारी राजा तथा क्षत्रियहरूको संहार गरी धर्म स्थापना गर्न भगवान् विष्णुले परशुरामका रूपमा अवतार लिनुभएको थियो। वैशाख शुक्ल पक्ष तृतीया तिथिको सन्ध्या कालमा राजा प्रसेनजितकी छोरी रेणुका र भृगु वंशीय ब्राह्मण ऋषि जमदग्निका पञ्चम (कनिष्ठ) सुपुत्रका रूपमा भगवान् परशुरामको जन्म भएको थियो। त्यसैले प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको सूर्यास्त काल छुने तृतीया तिथिमा भगवान् परशुरामको जन्म जयन्ती (परशुराम जयन्ती) मनाउने गरिन्छ। 

भोटो जात्रा: वैशाख शुक्ल प्रतिपदामा ललितपुर मत्स्येन्द्रनाथ रथयात्रा सुरु भए पश्चात् अक्षय तृतीयाको दिन गौदान गरी भोलि पल्ट अर्थात् चतुर्थी तिथि देखि नगर परिक्रमा गरिन्छ। यस रथ यात्राको क्रममा अनुष्ठानको अन्तिममा रथ जावलाखेल पुगेको चौथो दिन असार शुक्ल चतुर्थी वा शुभ मुहूर्त अनुसार भोटो जात्रा देखाउने चलन रहेको छ। 

ज्येष्ठ /जेठ 

कुमार षष्ठी तथा सि थी नख: पौराणिक आख्यानअनुसार भगवान् श्री शंकरका ज्येष्ठ सुपुत्र कुमार कार्तिकेयको जन्म ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथिमा भएको हो। ६ वटा मुख भएका मयूर वाहन देव सेनापति स्वामी कार्तिकेयले बाल्यावस्थामै तारकासुरलाई वध गरी उसको अत्याचारबाट देवताहरूलाई मुक्ति दिलाएको प्रसङ्ग पुराणहरूमा वर्णित छ।   

अपरा एकादशी : ज्येष्ठ मासको कृष्ण पक्षमा पर्ने  एकादशी को नाम हो, अपरा एकादशी। सनातन वैदिक धर्मावलम्बीहरूका लागि एकादशी व्रतको ठुलो महिमा छ। वर्षभरिमा चौबीस वटा एकादशी हुन्छन्। अधिक मास रहेको वर्ष दुई वटा थपिने हुँदा एकादशीको संख्या छब्बीस हुन्छ। ज्येष्ठ मासको कृष्ण पक्षमा पर्ने एकादशीको नाम अपरा एकादशी हो। महा-भारत कालमा महाराज युधिष्ठिरको जिज्ञासा शान्त पार्ने क्रममा भगवान् श्रीकृष्णले सबै एकादशीको महत्त्व बताउनुभएको पौराणिक प्रसङ्ग पाइन्छ। थप कथा। 

निर्जला एकादशी: ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथिलाई निर्जला एकादशी भनिन्छ। एकादशी भगवान् श्रीहरिको सर्वप्रिय तिथि भएकाले यस दिन भगवान् नारायणको पूजा–आराधना गरिन्छ। निर्जला एकादशीमा गङ्गा वा अन्य पवित्र नदीमा स्नान गरेर जलसमेत त्याग गरी व्रत बस्ने विधान छ। यस दिन पूर्ण रूपले उपवास गरी जल वा सर्बतले भरिएको घडा विधिपूर्वक सत्पात्र ब्राह्मणलाई दान गर्नाले दातालाई भगवान् श्रीहरिको सान्निध्य प्राप्त हुने फल श्रुति पाइन्छ। थप कथा यहाँ। 

असार/आषाढ:  

हरिशयनी एकादशी: आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी एकादशी’ भन्ने गरिएको हो। ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ। ‘शयन’ को अर्थ सुत्नु हो। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्री हरि क्षीर सागरमा गई शेष नागमाथि शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो।

तुलसी रोपण पनि हरिशयनी एकादशीको दिन मै पर्छ। श्री हरि अर्थात् भगवान् विष्णुको शयन गर्ने समय भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो। यही दिनलाई तुलसी रोपण गर्ने दिन भनेर पनि चिनिन्छ। यो दिन हिन्दु धर्मालम्बीहरुले घर-घरमा श्री हरि नारायण भगवानको व्रत वा उपवास बस्ने, र कथा श्रवण गर्नुका साथै तुलसीको रोपण समेत गर्ने चलन रही आएको छ। यस दिनलाई देवशयनी एकादशी को नामले पनि चिनिन्छ।  

गुरु पुर्णिमा: असार शुक्ल पक्षको पूर्णिमा अर्थात् गुरु पूर्णिमा खास गरी नेपाली सनातन धर्मावलम्बी हरुको एक प्रमुख दिनको रूपमा रहेको छ। आफ्ना प्रथम गुरुहरू (माता-पिता), गायत्री मन्त्र दिने गुरु, दीक्षा मन्त्र दिने गुरु, वेदादि शास्त्र पढाई लगायत यो लोक र परलोकको समेत सही शिक्षा दिने गुरु र आफूले पढेका विद्यालय-विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन गर्ने, पूजन गर्ने, चिठी पत्र, एसएमएस, टेलिफोन आदिका माध्यमबाट कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरु पूर्णिमा लाई लिइन्छ। 

योगिनी एकादशी: आषाढ कृष्णपक्षको एकादशी तिथिलाई ‘योगिनी एकादशी’ भनिन्छ। ‘योग’ भनेको जोड्नु, मिलाउनु वा एकाकार गर्नु हो। मानवीय मन लगायत एकादश इन्द्रियलाई यी ६ वटा शत्रु र विषय वासनाबाट मुक्त गराई ईश्वरको सेवामा लगाएर अन्त्यमा आफ्नो देहभित्रको आत्मालाई मोक्ष अर्थात् ईश्वरत्व प्राप्त गर्न अभिप्रेरित गर्ने परम पावन दिवस भएकाले यस तिथिलाई ‘योगिनी एकादशी’ भनिएको हो। 

श्रावण/साउन 

श्रावण पुत्रदा एकादशी: श्रावण शुक्ल पक्षको एकादशी को नाम रहेको छ श्रावण पुत्रदा एकादशी। यस एकादशीका आराध्य देव भगवान् नारायण हुनुहुन्छ। पुत्रदा एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसङ्ग पाइन्छ। यस एकादशीको माहात्म्य मात्र सुन्दा पनि वाजपेयी यज्ञ गरेजस्तै पुण्य फलको भागीदार भइन्छ। 

पन्चदान: श्रावण शुक्ल अष्टमी तिथि यल पन्च दान। किम्बदन्ती अनुसार नेपाल संम्वत ५१२ देखि मनाउन थालिएको पर्व हो “पञ्चदान पर्व”। पञ्चदान पर्व गुँला (गुँला पर्व) महिना अर्थात् श्रावण महिना मा पहिलो पटक श्रावण शुक्ल अष्टमीको दिन पाटनमा मनाइन्छ। यल पञ्चदान पर्वमा बौद्ध धर्मावलम्वी हरूले दिपंकर बुद्धका पाँच मूर्तिहरूलाई विहारबाट निकाल्ने र नगर परिक्रमा गराउने गरिन्छ। पहिलो दिनको पर्व “यल” अर्थात् पाटनमा मनाइने पर्व भएकाले नै यो पर्वको नाम “यल पन्च दान” भएको हो। 

नाग पन्चमी:  श्रावण शुक्ल पक्षको पञ्चमी तिथिमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ। यस दिन घर घरमा नागको पूजा गरिन्छ र नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबो, पैसा राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी नागका आठ कुल छन्। नेपालमा मनाइने धार्मिक र सांस्कृतिक चाडपर्वहरू

कल्की जयन्ति: हरेक वर्षको श्रावण महिनाको षष्ठी तिथिको दिनलाई हिन्दु सनातन धर्म शास्त्र एवं पुराणहरूमा उल्लेख गरिएअनुसार यस पृथ्वी लोक लगायत सारा ब्रह्माण्डका पालनकर्ता भगवान् श्री हरि-विष्णुको कलि युगको अधर्म र असत्यको अन्तिम चरम अवस्थामा, भविष्यमा धर्म र सत्यको रक्षा र पुनर्स्थापना गर्न अन्तिम अर्थात् दशौँ अवतारको रूपमा यस मानवयुक्त पृथ्वी लोकमा अवतरण हुने कल्की अवतारको दिनलाई समस्त हिन्दु धर्मावलम्बी मानिसहरूले धूमधामका कल्की जयन्तीको रूपमा मनाइँदै आएको धार्मिक विश्वास र परम्परा छ |  

गथामुङ्ग चर्हे/गठामङ्ग: प्रत्येक वर्ष श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा गथाँमुग पर्व मनाइन्छ। नेपाल भाषामा यस दिनलाई गथाँमुग चह्रे पनि भन्दछन्। अर्थका हिसाबले ‘ग’ को अर्थ घर, ‘थाँ’ को अर्थ स्तम्भ, र ‘मुग’ को अर्थ बलियो हुन्छ। चतुर्दशीलाई नेवारीमा ‘चह्रे’ भन्दछन्। यस दिन काठमाडौँ उपत्यका र देश विदेशमा रहेका नेवार समुदायले घरभित्र रहेका सम्पूर्ण अपवित्र वस्तु, भूत, प्रेत, पिशाच, राक्षस, उपियाँ, उडुस तथा रोग–व्याधि आदिलाई विधिवत् मन्छाई आफ्नो वासस्थान, टोल–छिमेक र बाटोघाटो सफा, बलियो एवं सुरक्षित बनाइराख्न घण्टाकर्ण, गथाँमुग पर्व मनाउँछन्।  

गुरही/गुरिया पर्व : श्रावण शुक्ल पक्षको पञ्चमी तिथि अर्थात् नाग पञ्चमी कै दिन मा पर्ने थारु समुदायको पर्व हो गुरिया पर्व। नेपालको विभिन्न स्थानमा, त्यसमा पनि तराइका थारु समुदायको बसोबास रहेको स्थानहरूमा श्रावण शुक्ल पक्षको पञ्चमी तिथि वा नाग पञ्चमीको दिन गुरही पर्व मनाउने गरिन्छ। नेपालको लोक जातीको रूपमा समेत चिनिने थारु जातिले गुरिया वा गुरही पर्व हर्षोल्लास पूर्वक मनाउने र आ-आफ्नो कुल देवतालाई गाईको दूध चढाउने दिनको रूपमा समेत चिनिएको छ। 

जनै पूर्णिमा/ऋषि तर्पणी: श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि जसलाई श्रावणी पूर्णिमा पनि भनिन्छ यही श्रावणी पूर्णिमा नै जनै पूर्णिमा हो। यस दिन वैदिक सनातन वर्णाश्रम धर्म मान्ने द्विज अथवा ब्राह्मणादि तागाधारीहरूले श्रुति, स्मृति आदि धर्म शास्त्रोक्त विधिले वर्षभरि गरिएका अनाचार, दुष्कर्म, दुराचार, दुर्व्यवहार आदिको प्रायश्चित्त एवं दुष्परिणामको निराकरणका लागि श्रावणी कर्म अर्थात् गण स्नान, ऋषि पूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म जस्ता विशेष कृत्यहरू सम्पादन गर्ने विधान रहेको छ।  

गुला पर्व : प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदा तिथिदेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध मार्गी नेवार समुदायले गुँला पर्व मनाउने गर्छन्। यो महिना दिनको समयलाई धम्म (धर्म) सञ्चय गर्ने अवसरका रूपमा लिइन्छ। यस पर्वमा हीनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति भक्ति भाव प्रकट गर्न बौद्ध स्तूप, चैत्य र गुम्बाको परिक्रमा गरी बुद्ध भगवानको ध्यान गर्ने विधान रहेको छ। 

भदौ/भाद्र 

कुशे औँसीको दिन लाई पिता/पितृ सम्मान दिवस को रूपमा चिनिन्छ। भाद्र कृष्ण पक्ष औँसी अर्थात् कुशे औँसी। माता पितालाई जीवित एवं साक्षात् देवता भनिएको छ। धर्मशात्रमा समस्त मान्यजनभन्दा मातापितालाई बढी सम्मान गरेको पाइन्छ। हुन पनि व्यावहारिक जीवनमा पाइने शिक्षादीक्षाका साथै पितृ अंश सन्तानमा रहेका कारण नै श्रुतिले पनि ‘आत्मा वै पुत्रः’ भनेर आफ्नो स्वरूप नै पुत्र रूपमा उत्पन्न भएको हो भनिएको छ।

हरि तालिका तिज: भाद्र महिनाको शुक्ल पक्षको तृतीयालाई हरितालिका तिज भनिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’को अर्थ साथी हुन्छ। पौराणिक प्रसङ्ग अनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो।

ऋषि पंचमी : भाद्र शुक्ल पक्षको पञ्चमी तिथिमा व्रत बसी सप्त ऋषिको पूजा गरिने भएकाले यस तिथिलाई ऋषि पञ्चमी भनिन्छ। यो व्रतमा ऋषिहरूको पूजा गर्न मध्याह्नव्यापिनी तिथि लिनुपर्दछ। ‘पूजाव्रतेषु सर्वेषु मध्याह्नव्यापिनी तिथि’ भनिएकाले दिउँसो १० बजेपछि करिब १ बजेसम्मको समयलाई मध्याह्न बुझ्नुपर्छ। 

दर खाने दिन/दिवस: हिन्दु धर्म मान्ने महिलाहरूको महान् पर्व हरितालिका तीजको दर खाने दिन तीजको मुख्य दिनको एक दिन अगावै हिन्दु पात्रो अनुसार भाद्र शुक्ल पक्ष द्वितीयाको दिनमा विवाहित महिलाले पतिको दीर्घायुको लागि तथा अविवाहितहरूले सुयोग्य पतिको इच्छा प्राप्तिको लागि बसिने तीजको व्रत बस्न पूर्व-तयारीको रूपमा आ-आफ्नो घर-माइतीमा विशेष गरी दूधबाट बनेका मीठा-मीठा परिकारहरू, खीर, सेल रोटी र फलफूल आदि तयार गरी नाचगान, रमाइलोका साथ दर खाने चलन रहेको छ।

बिरुडा पन्चमी/गौरा पर्व: भाद्र महिनाको पन्चमी तिथि मा सुरु भई कृष्ण अष्टमी (दुर्वाश्टमि)  सम्म मनाइने पर्व हो विरुडा पञ्चमी र गौरा पर्व। विरुडा पञ्चमी र गौरा पर्व नेपालको पश्चिमी भू-भाग वा सुदूर पश्चिम प्रदेशमा रहेका अनगिन्ती चाडपर्वहरू मध्येको एक पर्व हो। यो पर्व भाद्र महिनाको पञ्चमी तिथि अर्थात् बिरुडा पञ्चमीको दिन वाट सुरु हुन्छ। त्यस भेगमा  बडा दसैँ पछि को महत्त्वपूर्ण पर्वको रूपमा गौरा पर्वको स्थान रहेको छ। 

रोपाई/सिन्या ज्या:/चोपाई जात्रा: यो पर्व भाद्र शुक्ल पक्ष द्वितीया देखि कृष्ण अष्टमी सम्म मनाइने गरिन्छ। “रोपाइँ जात्रा”, नेपाल भाषा वा नेवारी समुदायको “सिना ज्या जात्रा” र नेपालको मध्य पश्चिम र सुदूर पश्चिममा त्यसमा पनि खास गरेर जुम्ला जिल्लाको “चोपाइ जात्रा” देशै भरि मनाइन्छ। हरेक वर्ष भाद्र कृष्णपक्ष द्वितीया तिथिको दिनलाई मूल दिन मानेर जात्राको दिन सुरु हुने यो जात्रा एक साता सम्म चल्छ र कृष्ण जन्माष्टमीको दिन विसर्जन गर्ने परम्परा रहिआएको छ।

इन्द्र जात्रा:  भाद्र शुक्ल पक्ष द्वाद्सी  (नेपाल भाषा पात्रो को “यँलाथ्व”) मा सुरु भई आठ दिन अर्थात् चौथी (नेपाल भाषाको “यँलागा”) को दिन समापन हुने जात्रा। काठमाडौँ (ये) लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा आदी स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।

कृष्ण जन्मस्ट्मि: भाद्र कृष्ण पक्ष अष्टमी तिथि (दुर्वाश्टमि) भगवान् श्रीकृष्णको जन्म दिनको रूपमा पनि प्रचलित रहेको छ, कृष्ण जन्मस्टमि। भगवान् श्री कृष्णको जन्म द्वापर युगको अन्त्यमा भाद्र कृष्ण पक्ष अष्टमी तिथिको मध्यरातमा मथुरा नगरीको जेलमा भएको हो। विवाह लगत्तै जेलमा राखिएका मातापिताबाट आठौँ गर्भका रूपमा भगवानको जन्म भयो।

गाई जात्रा: भाद्र कृष्ण पक्ष प्रतिपदाको दिन विशेष गरी नेवार समुदायमा वर्ष दिनभित्र दिवङ्गत पितृहरूको सम्मान तथा मुक्तिका लागि गाईजात्रा मनाउने लौकिक विधान रहेको छ। प्रत्येक वर्ष जनै पूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म गाईजात्रा पर्व मनाउने गरिन्छ।  

अजा  एकादशी: भाद्र महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई अजा एकादशी भनिन्छ। यस तिथिको महिमा द्वापर युगको अन्त्यमा स्वयं भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई बताउनुभएको हो। एकादशी भगवान् श्रीहरि विष्णुको अत्यन्त प्यारो तिथि हो। यसर्थ वर्षभरि नै हरेक एकादशी तिथिमा भगवान् हृषीकेश नारायणको विशेष पूजा- आराधना गरिन्छ। थप कथा यहाँ

छोनाम (न्वागी) पर्व, भदौ २२ गते चेपाङ जनजातिको मुख्य पर्वको रूपमा रहेको छोनाम (न्वागी) पर्वको महत्त्वपूर्ण दिन हो। नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये को एक जनजाति हो चेपाङ। चेपाङ जनजाति, प्रकृति पूजकको रूपमा चिनिने र यस जातीको २२ नाले वंशावली भएका कारण भदौ २२ को दिन छोनाम (न्वागी) पर्व मनाउने चलन रहेको मानिन्छ। छोनाम (न्वागी) पर्व कर्णाली प्रदेशका जनताले पनि धूमधामका साथ मनाउने एक पर्व हो। त्यता तिर न्वागी पर्व (छोनाम) लाई नयाँ वर्षको रूपमा समेत लिने गरेको पाइन्छ। 

मङ्गल चौथी: भाद्र महिनाको शुक्ल पक्ष चतुर्थी तिथि अर्थात् मङ्गल चौथी। गणेश पुराण अनुसार भगवान् गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिमा भएको हो। त्यसैले प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन वहाँको जन्मोत्सव मङ्गल चौथी मनाउने गरिन्छ। चतुर्थी तिथिमा पार्वती पुत्रका रूपमा भगवान् गणेशको प्राकट्य भएकाले चतुर्थी तिथिका स्वामी भगवान् गणेश नै हुनुहुन्छ। वहाँको सर्वप्रिय तिथि पनि चतुर्थी तिथि नै हो। 

चथाःपर्व: नेवार समुदायले भाद्र महिनाको शुक्ल पक्ष चतुर्थी तिथि चथाःपर्व मनाउने गर्छन्। भगवान् गणेशको जन्मदिन समेत मानिएको मङ्गल चौथी/चतुर्थीका दिन यस समुदायले बिहानै पुरै घर सफा सुग्घर गरी चोखो बनाउने गर्छन्। घरको सर सफाइ पश्चात् बेलुका पूजा गर्न चथाः गणेशको तस्बिर लगायत उक्त पूजामा चाहिने सर-सामग्री भित्र्याउने र जोरजाम गर्ने कार्य हुन्छ। नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनाको गर्दै आउँदै गरेको बडा दसैँ समेत घर भित्र्याउन पनि चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने गर्दछन्।

असोज/ आश्विन: 

कामिका एकादशी: श्रावण मासको कृष्ण पक्ष एकादशीको नाम कामिका एकादशी हो। हरेक एकादशी झैँ यस एकादशीको पनि आराध्य देव भगवान् नारायण हुनुहुन्छ। कामिका एकादशीका सन्दर्भमा राजा युधिष्ठिरको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसङ्ग पाइन्छ। 

विश्वकर्मा पूजा : असोज १ गते, स्वर्ग लोक, मर्त्य लोक (मध्य लोक) र पाताल लोक, गरी तीन लोकको निर्माण गरेका भगवान् विश्वकर्माको पूजा वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ। ज्योतिष शास्त्र अनुसार असोज १ गते को दिन मनाउने गरिएको विश्वकर्मा पूजाको दिन सूर्यदेव कन्या राशिमा प्रवेश गर्छन्। भगवान् विश्वकर्माको महत्त्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको पाइन्छ। नेपालमा मनाइने धार्मिक र सांस्कृतिक चाडपर्वहरू

पितृ पक्ष र महालय श्राद्ध: आश्विन महिनाको कृष्णपक्षलाई पितृ पक्ष वा महालय पक्ष भन्दछन्। यस पक्षमा पितृहरू आफ्नो जीवित सन्तान वा श्राद्धकर्ताको ढोकामै आइपुग्छन्। पितृ पक्षमा श्राद्ध गर्ने कर्तामा आश्रित भएर उसका पितृहरू घरको ढोकामा आएर बसिरहेका हुन्छन्। त्यसमा पनि समस्त पितृहरूले कर्ताको पितालाई मुख्य व्यक्ति बनाएर यसले (कर्ताले) श्राद्ध कहिले गर्ला भनेर बाटो हेरिरहेका हुन्छन्। पितृहरूको नेतृत्व कर्ताका पिताले गर्दछन्। 

जितिया पर्व: आश्विन कृष्ण पक्ष सप्तमी, अष्टमी, र नवमी।  सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतको रूपमा चिनिने व्रत वा पर्व हो जितिया पावनी पर्व। जितिया पावनी पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको तराई अवस्थित चितवन देखि झापा सम्मका विभिन्न जिल्लाहरूमा मनाउने गरिन्छ। यस व्रत वा उपवासको क्रममा राती जित वाहन भगवानको कथा र महिमा सुन्ने चलन पनि रहेको छ।

घटस्थापना: आश्विन शुक्ल पक्ष प्रतिपदाको तिथि हो घटस्थापना। प्रत्येक वर्ष आश्विन महिनाको शुक्ल पक्षभरि मनाइने महत्त्वपूर्ण पर्व हो दसैँ। दसैँ लागेपछि घरको सरसफाइ, लिपपोत र विशेष साजसज्जा गरिन्छ। आश्विन शुक्ल पक्षको प्रतिपदा तिथिमा नवदुर्गालाई आवाहन गरेर घटस्थापना गरी घर–घरमा दसैँ भित्र्याइन्छ। 

फूलपाती: आश्विन शुक्ल पक्ष सप्तमी। हिन्दु शास्त्रको कथन अनुसार र हिन्दु नेपालीहरूले मान्दै गरिआएको चलनअनुरूप नेपाली पात्रोको आश्विन शुक्ल पक्ष सप्तमी तिथिको दिनलाई जनलोक भाषामा फूलपाती भन्ने गरिन्छ भने कहिंकतै महासप्तमी पनि भन्ने गरिन्छ | यस दिन सबै नेपालीहरूको घरमा दसैँको पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने चलन छ| बडादसैँको अरु दिनजस्तै फूलपातीको अर्थात् महासप्तमीको दिनको पनि विशेष महत्त्व रहन्छ |  

महा नवमी: आश्विन शुक्ल पक्ष नवमी अर्थात् दसैँको नवरात्रीको नवौँ दिन लाई नेपालीहरू माझ महा नवमी भनिन्छ। यस दिन विशेष गरी नवदुर्गाको एक अवतार सिद्धिद्धात्रि देवीको र माता महालक्ष्मीको पूजाआजा गरिन्छ भने कालरात्रिमा गुप्त पूजा गरी राखिएका हतियारहरू ज्याबलहरू अर्थात् आयुध र हिजोआज घरघरमा हुने औजार मेशिनहरू तथा सवारी साधन आदिलाई बलि दिई रगत छित्काई विश्वकर्मा पूजा बिहानै सम्पन्न गरिन्छ। 

दसैँ (राष्ट्रिय पर्व बडा दसैँ): असत्य माथि सत्यको विजयको रूपमा आश्विन शुक्ल पक्ष प्रतिपदा देखि दशमी तिथि सम्म १० दिन पर्यन्त चल्ने हिन्दु धर्मावलम्बी हरूको महान् चाड हो दसैँ/ बडा दसैँ। बडा दसैँको अवसरमा नौ दिनसम्म घर घर तथा विभिन्न शक्ति पीठहरूमा पनि माता दुर्गाका विभिन्न रूपको पूजा अनि अर्चना गरिन्छ। त्यसै गरी सप्तमीको दिन गोरखा बाट फूलपाती काठमाडौँ वसन्तपुर स्थित दसैँ घरमा भित्र्याउने महत्त्वपूर्ण कार्यक्रम गरिन्छ। विशेष गरी अष्टमी र नवमीको दिन भने देश भरकै शक्ति पीठहरूमा माता दुर्गा भवानीको विभिन्न रूपको पूजा अर्चना हुन्छ। विजया दशमी वा भनौँ दशमीको दिन देवी भगवतीले दानव महिषासुर र दशरथ नन्दन श्री रामले रावण माथि विजय हासिल गरेको शुभ उपलक्ष्यको खुसीयालीमा देवी भगवती नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टिकाको साथ जमरा लगाउने चलन रहेको छ।

बडा दसैँका विभिन्न कृत्यहरू मध्ये बडा दसैँको अवसरमा विजया दशमीको दिन टिका र जमरा लगाउने बेला पुरुषलाई दिने आशीर्वाद तल दिइएको छ :  

आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे

ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।

सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

त्यसै गरी  महिलालाई दिने आशिर्वाद भने यस्तो रहेको छ : 

जयन्ती मङ्गलाकाली,

भद्रकाली कपालिनी।

दुर्गा क्षमा शिवाधात्री,

स्वाहा स्वधा नमोस्स्तुते।

कार्तिक/कात्तिक :  

काग तिहार: कागलाई पूजा अर्चना गर्ने तिहारको विशेष अनि पहिलो दिन हो कार्तिक कृष्ण पक्षको द्वाद्सी अर्थात् काग तिहार। शास्त्रीय विधान अनुसार पनि कागलाई मृत्युराज यमराजको दूतको रूपमा लिने गरिन्छ। तसर्थ, आज बिहानै यमराजको दूत अर्थात् कागलाई घरमा पाकेको मीठा, मसिना खाने कुरा खान दिई पूजा गरेर काग तिहार मनाउने गरिन्छ। कागलाई भू-लोकको खबर यमराजलाई दिने अर्थात् कागको माध्यमबाट यमराजले भू-लोकको सबै खबर थाहा पाउने भएकाले कागलाई उनको दूतको रूपमा शास्त्रीय विधानमा कथन गरिएको छ। यस दिन कागलाई पूजा अर्चना गरे “कागले मृत्युराज यमराज समक्ष राम्रो खबर लगिदिने छ”, भन्ने एक जन विश्वास रहेको छ। सामान्य लोक व्यवहार र विश्वास अनुसार पनि घरमा आई काग कराएको खण्डमा “शुभ बोल, शुभ बोल” भन्ने चलन अझै सम्म प्रचलित छदै छ। 

कुकुर तिहार: कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन हो कुकुर तिहार। कुकुरलाई आज्ञापालक र भरपर्दो घरपालुवा जनावरका रूपमा लिइने हुँदा नेपालमा मात्र नभएर विदेशका केही देशमा समेत कुकुर पूजाको चलन रहेको / चलेको देख्न सकिन्छ। पौराणिक आख्यान र धार्मिक विश्वास अनुसार यमराजको ढोकामा द्वारपालका रूपमा दुई कुकुरहरू रहने विश्वास गरिन्छ। यसरी द्वारपालको रूपमा बस्ने श्याम र सबल नामका कुकुरहरूले मान्छे यमलोक पुग्दा बाटो छोडिदिने धार्मिक विश्वास रहे अनुसार यो दिन कुकुर तिहार वा कुकुर पूजा मनाउने चलन रहेको छ। त्यसै गरी अर्को एक शास्त्रीय र धार्मिक तथा पौराणिक विश्वास अनुसार धर्मराज युधिष्ठिरलाई पनि स्वर्गको यात्रामा कुकुरले साथ दिएको उल्लेख गरिएको छ।  

तिहार / यम पन्चक: कार्तिक कृष्ण पक्षको त्रयोदशी देखि पाँच दिन हिन्दु धर्मावलम्बी हरूको दोस्रो महान् चाड तिहार/यम पन्चक पर्दछ। पाँच दिन सम्म मनाइने यस पर्वमा क्रमानुसार काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्धन पूजा हुँदै अन्तिम दिन भाइ टिका /किजा पूजा गरेर समापन गरिन्छ। 

तिहारको अवसरमा गाई तिहार (लक्ष्मी पूजा) र गोरु तिहार (गोबर्धन पूजा) का यी दुई दिन विशेष गरी बालिकाहरू लक्ष्मी पूजाको दिन भैलो/ भैली तथा गोरु तिहारको दिन बालकहरू देउसी खेल्दै नाच-गान अनि मनोरञ्जन गर्ने पुरानो प्रचलन पनि रहेको छ।

लक्ष्मी पूजा: कार्तिक कृष्ण पक्षको औँसी अर्थात् यम पञ्चकको तेस्रो दिन औँसीको दिन पर्ने भएकोले रात अन्धकार हुने र यस अन्धकारलाई निमिट्यान्न पार्न प्रयोग हुन्छ दियो बत्ती वा रङ्गी विरङ्गी उज्यालो अनि प्रकाश अर्थात् झिली मिली बत्ती। बिहान गौ माता लाई समेत लक्ष्मीको प्रतीक मानेर लक्ष्मी पूजा/गाई पूजाको यो दिन आफूमा रहेको अन्धकारलाई चेतना को प्रकाशले हटाउने विश्वास का साथ घर घरमा लक्ष्मी पूजा गरिन्छ। ज्योतिसिय मान्यता अनुसार पनि स्थिर लग्न र प्रदोष कालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने  मान्यता रहँदै आएको हुँदा आजको दिन लक्ष्मीको विशेष पूजा आराधना गरिन्छ।

गाई पूजा: कार्तिक कृष्ण पक्षको औँसीको दिनलाई गाई तिहार को रूपमा मनाउने चलन अन्तर्गत गाई पूजा गरिन्छ। गाईलाई लक्ष्मी माताको प्रतीक मानेर यो दिन बिहानै गाईको पूजाआजा गर्दै चामलको रोटी, फलफूल र फूलका माला लगाएर पुज्ने गरिन्छ। यसरी लक्ष्मी पूजाको दिन गाईको पूजा गरेको खण्डमा सुख–संवृद्धि मिल्नुका साथै धन-लाभ समेत हुने मान्यता रहेको छ।

गोरु पूजा / गोबर्धन पूजा: कार्तिक शुक्ल पक्ष प्रतिपदा भगवान् श्रीकृष्णले गोवर्धन पर्वतको पूजा गराएको दिन परेकाले यो दिन आजसम्म पनि घरघरमा गोबरको गोवर्धन पर्वत निर्माण गरी त्यसमाथि अनेक ध्वजापताकाले शोभायमान बनाई गोवर्धन पर्वतको पूजा/गोबर्धन पूजा गर्ने चलन रहिआएको छ। यस दिन गाई तथा गोरुको क्रीडा वा जात्रा, प्रदर्शनी आदि गराउनु पर्ने शास्त्र वचन छ। 

भाइ टिका (किजा पूजा):  कार्तिक शुक्ल पक्ष द्वितीयाको दिन तिहारको विशेष दिन अर्थात् भाइ टिका/ किजा पूजा हो। पौराणिक कथा अनुसार मृत्युका राजा यमराज एक पटक आफ्नी बहिनी यमुनाको निमन्त्रणामा उनी कहाँ आतिथ्य ग्रहण गरी आई बसेका थिए। मृत्युका राजा यमराज यमलोकमा बस्थे भने उनको बहिनी यमुना पृथ्वीमा बस्थिन। यसरी यमराजले आतिथ्य ग्रहण गरेको अवधिमा बहिनी यमुनाले आफ्नो दाजु यमराजलाई सेवा गरेको र यमराज खुसी भएको घटनासँग आबद्ध गरेर तिहारका यी ५ दिनलाई “यमपञ्चक” भन्ने पनि गरिन्छ। भाइ टीकाको दिन बहिनी यमुनाले दाजुलाई पूजा गर्दै उपहार दिइन् भने दाजु, यमराजले खुसी: भएर बहिनीलाई आशीर्वाद दिए। 

म्ह: पूजा: विक्रम सम्बत पात्रो अनुसार हरेक वर्षको कार्तिक शुक्ल पक्ष, प्रतिपदाको दिन नेपालका सबै नेवार समुदायका मानिसहरूले राष्ट्रिय विभूति शंखधर साख्वाले इस्वी.सं. ८८० मा गरिब जनताहरूको ऋण विमोचन गरी नेपाल संवतको सुरुवात गरेको नेपाल संवतको नव वर्ष अर्थात् नेवारीमा “न्हूः दँया भिन्तुना” को दिनमै मनाइने विशेष सांस्कृतिक महत्त्व बोकेको पर्वको नाम हो- म्ह: पूजा |

नेपाल संबत (न्हूः दँया भिन्तुना): चन्द्रमान पात्रो अनुसार कार्तिक शुक्ल प्रतिपदा। नेपाल संवत् यही दिनबाट प्रारम्भ हुन्छ। प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि त्यसको भोलिपल्ट नेपाल संवत् फेरिने गर्छ। चान्द्र मानले कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुन्छ। यो चन्द्रमानमा आधारित संवत् हो। यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक ३ वर्षमा अधिमास आउनाले १३ महिनाको १ वर्ष हुन्छ।

छठ पर्व: कार्तिक शुक्ल पक्ष पंचमी र षष्ठी। संस्कृतको ‘प्रतिहार षष्ठी’ मूल शब्दबाट अपभ्रंश हुँदै केही अंश लोप भएर ‘छठ’ शब्द प्रचलनमा आएको हो। षष्ठिका भगवतीको पूजा–आराधनाका साथै सूर्यनारायणको उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाउने गरिन्छ। यस पर्वमा विशेष रूपले भगवान् सूर्यको उपासना हुन्छ। 

गुरु नानक जयन्ती: कार्तिक शुक्ल पक्ष पूर्णिमाको दिन हो गुरु नानक जयन्ती। विश्वमा शिख धर्मका प्रथम संस्थापक, प्रवर्तक एवं गुरु नानक देवको हरेक वर्षको कार्तिक शुक्ल-पूर्णिमाको दिन शिख धर्मावलम्बीहरूले बढो आस्था र भक्ति भावका साथ विश्वभर गुरु नानक जयन्ती मनाउने गर्छन्। 

हरिबोधिनी एकादशी: कार्तिक शुक्ल पक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ। ‘हरि’ भन्नाले भन्नाले भगवान् विष्णुलाई बुझिन्छ भने ‘बुध’ धातुबाट बनेको ‘बोधिनी’ शब्दले निद्राबाट जागा हुने भन्ने जनाउँछ। पुराण एवं धर्मशास्त्रमा उल्लेख भएअनुसार भगवान् श्रीहरि आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीर सागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ, भाद्र शुक्ल एकादशीमा दायाँतर्फ कोल्टो फर्किनुहुन्छ र आजकै दिन जाग्नुहुन्छ।  थप कथा यहाँ

फागुनानन्द जयन्ती: कार्तिक २५। नेपालको पूर्वीय लिम्बुवान क्षेत्रका किरात नेपालीहरूको महागुरु अर्थात् महान् नेताको उपनामबाट इतिहासमा चिनिनु हुने एक धार्मिक किराते नेताको नाम हो, फाल्गुनान्द लिङ्गदेल। तीनै महापुरुषको जन्म जयन्ती को रूपमा हरेक कार्तिक २५ गते फागुनानन्द जयन्ती मनाउने गरिन्छ| 

पुस/पौष: 

पौष शुक्ल पुत्रदा एकादशी: पौष महिनाको शुक्ल पक्षमा पर्ने एकादशीको नाम हो पौष शुक्ल पुत्रदा एकादशी। थप कथा यहाँ। 

सफला एकादशी: पौष महिनाको कृष्णपक्षको एकादशी तिथिलाई सफला एकादशी भन्दछन्। महाभारत कालमा महाराज युधिष्ठिरको जिज्ञासा शान्त पार्ने क्रममा भगवान् श्रीकृष्णले सफला एकादशीको महत्त्व बताउनुभएको पौराणिक प्रसङ्ग पाइन्छ। थप कथा यहाँ।   

माधव-नारायण महोत्सव, पौष महिनाको पूर्णिमाको दिन देखि माघ महिनाको पूर्णिमा सम्म भगवान् माधव नारायण वा भगवान् विष्णुमा समर्पित एक महिना लामो उत्सव हो। माधव नारायण महोत्सव पौष र माघको महिनामा मनाइन्छ। यो उत्सव पौष महिनाको पूर्णिमाको दिनबाट सुरु हुन्छ, यस महिनालाई नेपाल सम्बत पात्रो अनुसार “पोहेला” पनि भनिन्छ र माघ महिनाको पूर्णिमाको दिन यो उत्सव समाप्त हुन्छ। 

श्री स्वस्थानी ब्रत: नेपाल र अन्यत्र छरिएर रहेका नेपाली महिलाहरूले पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म कठिन व्रत बसी माघ शुक्ल पूर्णिमामा पारण गर्ने व्रत नै श्री स्वस्थानी व्रत हो। पौराणिक प्रसङ्गअनुसार हिमालय पुत्री पार्वतीलाई भगवतीको क्रीडा भूमि मानिएको नेपालमा स्वस्थानी देवीका नामले महिनाभरि पुजिन्छ। 

तमु ल्होसार गुरुङ समुदायको एक महान् चाड हो। तमु, तोल, सोनम र ग्याल्पो गरी चार सम्प्रदायका लोसार पुसदेखि फागुनभित्र मनाउने गरिन्छ। तमु ल्होसार, नेपाल र भारत लगायत संसारभर छरिएर रहेका गुरुङ जातिले धूमधामका साथ मनाउने गर्दछन्। ल्होसार भनेको नयाँ वर्ष हो।

माघ/मार्गशीर्षः

भीमा एकादशी/ जया एकादशी: माघ शुक्ल पक्षको एकादशी तिथिलाई जया एकादशी वा भीमा एकादशी भनिन्छ। व्रतराज नामक ग्रन्थमा यस एकादशीलाई जया एकादशी नामले चिनाईएको छ। श्रीकृष्ण र युधिष्ठिरको संवादका क्रममा भविष्योत्तर पुराणमा माघ शुक्ल एकादशीलाई जया एकादशी भनिएको छ। थप कथा यहा। 

सरस्वती पूजा/ श्री पन्चमी: माघ शुक्ल पक्षको पन्चमी तिथि नै सरस्वती पूजाको रूपमा चिनिन्छ। थप जानकारी। 

षटतिला एकादशी: माघ कृष्णपक्षको एकादशी तिथिलाई ‘षट्तिला एकादशी’ भनिन्छ। षट्तिला एकादशीका सन्दर्भमा अर्जुनको जिज्ञासा मेट्दै भगवान् श्रीकृष्णले यस एकादशीको महत्त्व दर्साउनुभएको पौराणिक प्रसङ्ग पाइन्छ। मर्त्य लोकमा हुने ब्रह्म हत्या जस्ता महापाप मोचन र नर्कको यातनाबाट मुक्त हुन सकिने उपाय’bout ऋषि पुलस्त्यले दालभ्यलाई बताएको प्रसङ्गमा षट्तिला एकादशीको व्रत विधान प्राप्त गर्न सकिन्छ। थप कथा यहा

सोनाम ल्होसार: माघ शुक्ल प्रतिपदामा पर्ने सोनाम ल्होसार तामांङ्ग समुदायको सबैभन्दा महत्त्वपूर्ण र सबैभन्दा ठुलो उत्सव हो। सोनाम ल्होसार पर्व नेपालका कुनाकाप्चा मा बस्ने तामांङ्ग समुदाय सहित विश्व भरि छरिएर रहेका तामांङ्ग समुदायले ठुलो आस्था र हर्षोल्लास का साथ मनाउने गर्दछन्। 

माघी पर्व : माघे सङ्क्रान्ति, माघ १. माघे सङ्क्रान्तिमा थारु समुदायको महान् चाड माघी पर्व धूमधामसाथ मनाइन्छ। नेपालको तराई र भित्री मधेस क्षेत्रमा पूर्व देखि पश्चिम सम्मै बाक्लो बसोबास रहेको यस समुदायको नयाँ संवत्, धार्मिक पर्व, सांस्कृतिक उत्सव र घर–व्यवहार तथा समाजको वार्षिक योजना बनाउने महत्त्वपूर्ण अवसरको सङ्गम हो, माघी पर्व। 

मकर सङ्क्रान्ति /माघे संक्रान्ति: माघ महिनाको पहिलो दिन अर्थात् माघ १ नै माघे सङ्क्रान्ति हो। सूर्यको एक राशिबाट अर्को राशिमा सर्ने (सङ्क्रमण गर्ने) प्रक्रियालाई सङ्क्रान्ति भन्दछन्। ज्योतिष शास्त्रअनुसार धनु राशिबाट मकर राशिमा सूर्य प्रवेश गर्ने समयलाई मकर सङ्क्रान्ति भन्दछन्। मकर संक्रान्ति देखि दसौँ सौर मास अर्थात् माघ महिना प्रारम्भ हुन्छ त्यसैले यसलाई माघे सङ्क्रान्ति पनि भनिन्छ।  

योमरी पूर्णिमा /योमरी पुणि/धान्य पुर्णिमा: नेपाल संबत “थिल्ला” महिना अर्थात् माघ महिनाको माघ शुक्ल पूर्णिमा को दिन मनाउने एक प्रमुख चाड हो योमरी पूर्णिमा /योमरी पुणि / धान्य पूर्णिमा। नेपाल संबतको दोस्रो महिनाको पूर्णे, मार्गशीर्ष शुक्ल पक्षको पूर्णिमा तिथिमा अर्थात् धान्य पूर्णिमाको दिनमा मनाउने यो चाडलाई नेवा समाजमा “थिंल्लापुन्हि” को नामले पनि चिनिने गरिन्छ। 

फागुन /फाल्गुन: 

महा शिवरात्रि / शिलाचर्हे (च-हे): भगवान् शिवजी सर्वप्रथम यस लोकको दृष्टिगोचरमा प्रकट हुनुभएको समय नै शिवरात्रि हो। फाल्गुण कृष्णपक्ष चतुर्दशी तिथि (महा शिवरात्रि) को मध्यरात्रिमा करोडौँ सूर्य समान कान्ति भएका ज्योतिर्लिङ्ग स्वरूप भगवान् शिव उत्पत्ति हुनुभएको वृत्तान्त शास्त्रहरूमा छ। हिन्दुहरूका आराध्य देव भगवान् शिवलाई चाँडै प्रसन्न तुल्याउन सकिने हुँदा ‘आशुतोष’ भनी पूजा–आराधना गरिन्छ।

विजया एकादशी: फाल्गुण कृष्णपक्षको एकादशीलाई विजया एकादशी भनिन्छ। यो एकादशीको व्रतका प्रभावले भगवान् श्री रामचन्द्रले समुद्र पार गरी लङ्काको राजा रावणमाथि विजय प्राप्त गर्नुभएको थियो। बकदाल्भ्य ऋषिको उपदेशअनुसार सर्वप्रथम श्री रामचन्द्रले यो व्रतको उपवास गर्नुभएको थियो। थप कथा यहा

आमलकी एकादशी: फाल्गुण शुक्ल पक्षको एकादशी तिथिलाई आमलकी एकादशी भन्दछन्। व्रतराज ग्रन्थमा यस (आमलकी एकादशी) एकादशी व्रतको महत्त्व दर्साइएको पौराणिक प्रसङ्ग पाइन्छ। राजा मान्धाता र वशिष्ठ ऋषिको संवादका माध्यमले एकादशी व्रतको महिमा बताइएको छ। थप कथा यहा। 

ग्याल्पो लोसार:  ग्याल्पो लोसार पर्व फाल्गुण शुक्ल पक्षको प्रतिपदा तिथिमा मनाउने गरिए पनि यसको तयारी भने करिब डेढ महिनाअघिबाटै गरिन्छ। ग्याल्पो लोसार मुख्य रूपले नेपाल, तिब्बत, सिक्किम र भुटानका शेर्पा, लामा तथा भोटे समुदायले मनाउने पर्व हो। भारत, जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्यान्ड आदि मुलुकमा पनि लोसार मनाउने गरिन्छ। 

चैत्र /चैत : 

राम नवमी: राम नवमी सनातन धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो। यो पर्व चैत्र महिनाको शुक्ल पक्षको नवमी तिथिमा मनाउने गरिन्छ। प्रख्यात ग्रन्थ रामायण लगायत इतिहास-पुराण अनुसार यो दिनलाई भगवान् श्री रामचन्द्रको जन्म दिनका रूपमा लिइन्छ। राम नवमी पर्व वासन्तिक नवरात्रभित्रै आउने भएकाले यस दिन भगवान् श्री रामका साथै आद्या शक्ति जगज्जननी दुर्गा भवानीको पनि पूजा हुन्छ। 

चैते दसैँ/राम नवमी: चैत्र शुक्ल पक्षको नवमी तिथि नै राम नवमीको नामले परिचित छ।  चैत्र महिनामा पर्ने नवरात्रिलाई नै वासन्ती नवरात्र वा चैते दसैँ) भनिएको हो। यस नवरात्रमा स्वयं मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रले भगवतीको उपासना गरी शक्ति आर्जन गर्नुभएको प्रसङ्ग रामायणलगायत इतिहास पुराणमा पाइन्छ। रावणसँगको युद्धका क्रममा शक्तिहीन हुँदा भगवानले आद्याशक्ति भगवती जगदम्बाको उपासना गरी भगवतीबाट विशेष शक्ति र आशीर्वाद प्राप्त गर्नुभयो। 

माता तीर्थ औँसी (मातृ सम्मान दिवस): चैत्र पक्षको औँसीलाई नै मातृ सम्मान दिवस भनिएको हो।   

पापमोचनि एकादशी: चैत्र कृष्ण पक्षको एकादशी। व्रतराज ग्रन्थमा यस एकादशी व्रतको महत्त्व दर्साइएको पौराणिक प्रसङ्ग पाइन्छ। राजा मान्धाता र वशिष्ठ ऋषिको संवादका माध्यमले एकादशी व्रतको महिमा बताइएको छ। थप कथा यहा

मलमास अर्थात् पुरुषोत्तम महिना : निर्णय सिन्धु अनुसार एउटा सक्रान्ति नभएको चन्द्र मास वा काठकगृहसुत्र अनुसार दुई वटा सङ्क्रान्ति  पर्ने वर्षको अन्तिम महिनालाई मलमास / पुरुषोत्तम महिना (अधिक मास/क्षय मास) को नामले चिनिन्छ।    

वकर ईद : इस्लामिक पात्रोको द-अल- हिज्जाको दशौ दिन सुरु भई चार दिन सम्म चल्ने चाड हो वकर ईद। हरेक वर्ष अलग-अलग मिति अर्थात् दिनमा परी द-अल-हिज्जाको दशौँ दिनबाट सुरु भई चार दिनसम्म चल्ने मुस्लिम धर्मावलम्बीहरू अर्थात् मुसलमानहरूको इद-उल-फित्र पछिको दोस्रो सबभन्दा ठुलो त्योहार, चाडपर्व अर्थात् इदलाई वकर इद भनिन्छ |    

सोम’bout औँसी : सोमवार र अमावस्या (औँसी) एकै दिन परेको वा जुधेको दिन लाई सोम’bout औँसी भनिन्छ।  

रवि सप्तमी व्रत : रबिवार (आइतबार) सप्तमी परेको दिन नै रवि सप्तमी व्रतको रूपमा व्रत लिई मनाउने चलन रहेको हो।   

माथिका सम्पूर्ण चाडपर्वहरू नेपाल लगायत विश्व भर छरिएर रहेका नेपालीहरूले मनाउने चाडपर्वहरू हुन्। नेपाल नै त्यो मुलुक हो जहाँ एक जात वा जातिको चाडपर्वमा अरू कुनै जात वा जाति पनि रमाएर भाग लिइरहेका हुन्छन्, मनाई रहेका हुन्छन्। यस राष्ट्रको यही पहिचान नै अनेकतामा एकताको पहिचान हो। यस देशमा रहेको एउटा राम्रो अनि अत्यन्तै सुन्दर पक्ष हो।


Related Posts

विरुडा पञ्चमी र गौरा पर्व

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
अगस्ट 26, 2021

Comments

    sukhraj kewat

    Bada dasai

    Akash

    rashifal


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!