No Image
नेपाली पात्रो > चाडपर्व > जितिया पर्व 

जितिया पर्व 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
अगस्ट 6, 2021

जितिया पावनी पर्व। सन्तानको दीर्घायुका लागि विशेषतः महिलाले बस्ने व्रतको रूपमा चिनिने व्रत वा पर्व हो जितिया पावनी पर्व। जितिया पावनी पर्व आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन नेपालको तराई अवस्थित चितवन देखि झापा सम्मका विभिन्न जिल्लाहरूमा मनाउने गरिन्छ। यस व्रत वा उपवासको क्रममा राती जितवाहन भगवानको कथा र महिमा सुन्ने चलन पनि रहेको छ। विशेष गरी थारु र मैथिली समुदायको ठुलो चाडको रूपमा रहेको जितिया पर्व सन्तानको सुख शान्ति र चिरायुको लागि प्रसिद्ध रहेको छ। आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म यो पर्व मनाइन्छ ।

जितिया पावनी पर्वको एउटा कथा अनुसार, द्वापर युगमा महाभारत युद्धको बेला द्रोणाचार्यका पुत्र अश्वत्थामा द्वारा पाण्डव पुत्रहरू मारिदा पुत्र वियोगले व्याकुल भएकी द्रौपदी आफ्ना सखीहरू सहित द्यौम्य ऋषि कहाँ पुगिन। र, आफ्नो सन्तान वियोगको पीडा सुनाइन्। द्रौपदीको पुत्र वियोगमा ऋषि द्यौम्यले सत्ययुगमा भगवान् विष्णुको तपस्या गरी वरदान पाएका सत्यवादी पुरूष जितवाहनको पूजा आराधना गर्नाले सन्तानको अकाल मृत्यु नहुने र सन्तानको सुस्वास्थ्य एवम् दीर्घायु हुने सल्लाह दिए बमोजिम त्यसै समय देखि जितवाहनको पूजा र व्रत गर्ने परम्पराको थालनी सुरु भएको हो भन्ने किंवदन्ती तराईवासी समुदायमा रही आएको छ। 

यस उत्सव को ’boutमा एउटा अर्को किंवदन्ती अनुसार जिमुतवान नामक एक गन्धर्व राजा को कथा रहेको छ। उक्त पौराणिक कथा अनुसार जिमुतवान एक गन्धर्व राज थिए। आफ्नो राज्य भाइलाई सुम्पँदै, उनी जङ्गल बस्ने आफ्नो बुबाको सेवा गर्न जङ्गल गए। त्यहाँ उनले एक वृद्ध महिला शोक गर्दै गरेको देखे। उनले महिलालाई शोक गर्नुको कारण सोधे, तब उक्त महिलाले आफू नाग बंसको भएको बताइन। र, एक भाकल को कारण, उनले आफ्नो एक मात्र छोरा भोलि पल्ट गरुडलाई खुवाउन पर्ने भएको भनिन्। यसै कारण, ती वृद्ध महिला बढो दुखी थिइन्।

यस्तो सुनेपछि, जिमुतवाहनले उनको छोराको रक्षा गर्ने प्रतिज्ञा गर्दै भोलिपल्ट चट्टानको ओछ्यानमा बसेर आफूलाई गरुड सामु अर्पण गरे। गरुड आएर जिमुतवाहनलाई आफ्नो पन्जाले आक्रमण गरे, तर पनि उनी शान्त रहे। यस्तो देखेर गरुडले आक्रमण गर्न छोड्यो र उनको पहिचानको सोध्यो। तब जिमुतवाहनले त्यस वृद्ध महिलाको सम्पूर्ण कथा गरुडलाई सुनाए। उनको दया र उदारता बाट प्रभावित भएर गरुडले जिमुतवाहन सामु आइन्दा कुनै नाग वंशी को बलि नलिने प्रतिज्ञा गरे। त्यसै समय देखि, आमाहरूबाट आफ्नो बच्चाहरूको भलाई को लागी उपवास राख्न सुरु गरियो।

आश्विन महिनाको कृष्णपक्ष सप्तमी तिथि देखि थारु समुदाय लगायत अन्यले समेत यो पर्व नवमी को दिन पारण गरी मनाउने चलन रहेको छ। नेपालको पहाडी भूभागमा मनाइने हरितालिका तिज जस्तै जितिया पर्व तराईका महिलाहरूको ठुलो पर्व हो। सप्तमीको दिन व्रतालुहरूले लाहा अर्थात् दर खाने गर्छन्। यस पर्वको अवसरमा विवाह भएर गएका चेलीबेटी लगायत आफन्तजनहरूलाई समेत निम्ता गरी माछा, मासु र अन्य मीठा–मीठा परिकार बनाई खाने र खुवाउने चलन रहेको छ ।

सन्तानको दीर्घ जीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, तथा सांस्कृतिक महत्त्व रहेको छ। यो पर्वले महिला हरूको सांस्कृतिक भूमिका र महत्त्व लाई उजागर गर्ने काम गरेको छ। यो पर्व पितृ पक्षमा मनाइने पर्व पनि हुँदा महिलाहरूले आफ्नो दिवङ्गत पितृलाई नैवेद्य चढाउने पनि गर्छन्। विभिन्न भाकल पुरा गर्न तराईका मानिसहरूले विभिन्न पर्व जस्तै चौरचन पर्व, दीपावली वा तिहार, गुरिया पर्व, जितिया पर्व, माघी पर्वछठ लगायतका पर्वहरू मनाउने गर्छन्। 

सप्तमीको दिन पूजा विधिअनुसार व्रतीहरूले नुहाय खाए (नुहाएर खानु) अन्तर्गत स्नान गरी पवित्र भई घिरौँलाको पातमा तोरीको वा सर्सिउँको तेल सहित सक्खर र पिना चढाउँदै जितवाहन देवताको पूजा गर्दछन् जसलाई तेल खरी पनि भनिन्छ। यो तेल खरी प्रसाद स्वरूप घरका सबैले टाउकोमा लगाउने गर्दछन्। पर्वको क्रममा पवित्र सरोवर र नदीमा स्नान गरे पश्चात् भने पाका व्यक्तिहरूले जितवाहनको कथा भन्ने र तन्नेरीले सुन्ने गर्छन्।

यही दिन महिलाहरू लाई निम्तो दिई भोज गर्ने चलन पनि रहेको छ, जसलाई पितराइन भनिन्छ। यो दिन विवाहित महिलाले कोदो (मरुवा) को रोटी र माछा खाने परम्परा समेत रहेको छ। यसरी जितियाको व्रत सुरु हुनुको अघिल्लो दिनलाई ‘माछ–मडुआ’ भनेर सम्बोधन गर्ने पनि गरिन्छ। उता शाकाहारीले भने गम्हरी (एक प्रकारको धान) को खीर वा भात खाने चलन रहेको छ।

सप्तमीको रातको अन्तिम प्रहरमा अष्टमी तिथिको सुरुवात हुनुअघि दही, चिउरा, फल लगायत मिठाई खाने गरिन्छ, जसलाई ‘ओठङ्न’ भनिन्छ। जितिया व्रत अष्टमी तिथिको व्रत भएकोले अष्टमी तिथि रहुन्जेल सम्म महिलाहरू निराहार बस्ने गर्छन्। पानीसम्म नखाई निराहार व्रत बस्नुपर्ने जितिया पर्वलाई कठिन व्रतको रूपमा चिनिने गरिन्छ।

व्रतालुहरूले पूजा–सामग्रीका रूपमा जितिया पूजाको क्रममा सात थरी फलफूल वा खाद्यपदार्थ चढाउने गर्दछन्। यी सात सामग्रीहरूमा नरिवल, काँक्रो, भिजाएको केराउ लगायतका सामग्री हरू हुन्छन्। यी सामग्री भरिने डालोमा बाँसको पात, केराको पात, जिम्हरको पात आदि सात थरि वनस्पतिका पात राख्ने गरिन्छ। 

अष्टमीका दिन उपवास बस्ने र जितवाहनको नैतिक कथा सुन्ने, अनि गाउँका महिला जम्मा भएर मौलिक नाच “झमटा” प्रदर्शन गर्ने गरिन्छ। यही दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी सूर्य भगवान् लाई अर्घ दिने गर्छन्।  

महिलाहरूले अष्टमीको साँझ आँगनमा गाईको गोबरले लिपपोत गरी शुद्ध बनाई एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गर्छन्। त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्दै उक्त हाँगा माथि चिलको र हाँगा मुनी स्यालको आकृति बनाउँछन्। त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखी फलफूल लिएर व्रतालुले जितवाहनको पूजापाठ गर्छन्।     

नवमी तिथिमा स्नान गरी पवित्र भई पूर्ववत् जितवाहन को पूजा गरी नैवेद्य अर्पण गर्ने र प्रसाद ग्रहण गरिन्छ। यसरी व्रतको पारण गरे पश्चात् जितवाहन र घरको कुल देवताको पूजा आजा गरी जितिया पर्व समाप्त हुने गर्छ। 

नव विवाहित महिलाहरूका लागि जितिया पर्वले अझ बढी महत्त्व राख्ने गर्छ। भर्खर भर्खर विवाह भई गएका छोरी बेटीलाई माइती पक्षले बोलाउने एउटा बहानाको रूपमा समेत जितिया पर्वलाई लिने गरिन्छ। यो पर्वको अवसरमा दाजु, भाइ वा माइती पक्ष वाट कोही गई नयाँ दुलहीलाई माइत बोलाउने चलन रहेको छ। दाजु भाइ दिदी बहिनी सबै एकै ठाउँमा भेट हुने एउटा मौकाको रूपमा पनि यस पर्वलाई लिने गरिन्छ।

देशको राजधानी काठमाडौँमा बस्ने थारु समुदाय लगायत अन्य समुदायका महिलाले पनि जितिया पर्व धूमधामका साथ मनाउने गर्दछन्। संस्कृति झल्काउने पोसाकमा सजिएर थारु महिलाहरूले यो पर्व मनाउने गरेका छन्। 

पछिल्ला दिनहरूमा थारु जाती बाहेक तराईमा बसोबास गर्दै आएका तथा बसाई सराइ को क्रममा काठमाडौँ तिर बसोबास गर्ने अन्य समूह एवम् जातिको पनि यो पर्वले साथ पाएको छ। पर्वको रीति रिवाज तथा पूजा विधि इत्यादि थारु तथा मैथिली समुदायकै हुने यस पर्वको अवसरमा सहरमा गरिने पूजा कार्यक्रमहरूमा तिनका लोक नृत्य, भेष-भूषा, र परिकार सहित सांस्कृतिक झाँकी एवम् पौराणिक नृत्य हरू प्रस्तुत गर्ने गरिन्छ।

यसरी सामाजिक सदभाब वृद्धि गर्ने पर्वको रूपमा चिनिने जितिया पर्व नेपाल र नेपालीको पहिचान बोकेको पर्व हो। यस पर्वले समतामूलक प्रगतिशील र सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा र उत्साह प्रदान गरी रहोस्। नेपाली पात्रोको तर्फ बाट हरेक नेपाली लाई जितिया पर्व को मुरी मुरी शुभ-कामना।

 


Comments

    Abdhesh thakur

    mero jetiya ko bhayr ma

    Raju

    Rajui

    Raju

    Rajui

    Lalan Mukhiya

    490

    shivjichaudhary

    Bhabisay ma kehunx

    Vishnu mandal

    kasto hola yo den

    riteshsaraaf

    ritesh

    Arun kumar Mandal

    jitaya pabin

    Chandanr

    nice

    Sanjay sah

    Thank you nepali patro jitiya ko bare ma gann dinu vaiema


Load more comments

Reply to Abdhesh thakur जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!