No Image
नेपाली पात्रो > चाडपर्व > जनै पूर्णिमा, रक्षाबन्धन

जनै पूर्णिमा, रक्षाबन्धन

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
मार्च 20, 2017

श्रावण शुक्लपक्षको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा वा जनै पूर्णिमा भन्दछन्। यस दिन वैदिक सनातन वर्णाश्रम धर्म मान्ने द्विज अथवा ब्राह्मणादि तागाधारीहरूले श्रुति, स्मृति आदि धर्मशास्त्रोक्त विधिले वर्षभरि गरिएका अनाचार, दुष्कर्म, दुराचार, दुर्व्यवहार आदिको प्रायश्चित्त एवं दुष्परिणामको निराकरणका लागि श्रावणी कर्म अर्थात् गणस्नान, ऋषिपूजन, ऋषितर्पणी, उत्सर्जन, उपाकर्म जस्ता विशेष कृत्यहरू सम्पादन गर्ने विधान रहेको छ। यी सबै कृत्यहरू गरिसकेपछि शास्त्रीय विधिले तयार गरिएको ब्रह्मसूत्र (जनै) मा वैदिक कर्मद्वारा ब्रह्मा, विष्णु, रुद्र एवं तन्तुदेवताहरूलाई अभिमन्त्रणा गरेर पवित्र एवं शक्तिसम्पन्न तुल्याएपछि धारण गरिने हुँदा यस पूर्णिमालाई जनै पूर्णिमा भन्ने गरिएको हो। यही दिन रक्षासूत्रमा समेत देवताहरूलाई विधिवत् आह्वान गरी हातमा बाँधिने भएकाले आजको दिनलाई रक्षाबन्धन पनि भन्दछन्।

यस दिन सबेरै दैनिक पूजनादि नित्यकर्म सम्पन्न गरी नदी, तलाउ, पोखरी आदि जलाशयमा गएर गणस्नान गर्नुपर्दछ। पञ्चगव्य, भस्म, मृत्तिका, अपामार्ग आदि पवित्र औषधिहरू शरीरमा लेपन गरेर संकल्प एवं मन्त्रोच्चारणपूर्वक समूहमा गरिने स्नानलाई गणस्नान भनिन्छ। सबैले सुन्नेगरी अब उप्रान्त पाप गर्नेछैन, यतिन्जेल गरेको पापलाई परब्रह्म परमात्माले दया गरी नष्ट गरिदिनुहोस् भनी कायिक, वाचिक एवं मानसिक रूपमा प्रायश्चित्त गर्नु नै गणस्नानको मुख्य उद्देश्य हो। गणस्नान गरिसकेपछि जनै अभिमन्त्रण र धारण गर्ने कृत्य गरिन्छ। यस क्रममा दीप–कलश–गणेश पूजनपूर्वक रुद्राभिषेक गरी थालीमा सप्त ऋषिहरूको कुशनिर्मित प्रतिमा स्थापना गरी पूजा गर्ने विधान छ। कश्यप, भारद्वाज, गौतम, अत्रि, जमदग्नि, वशिष्ठ, विश्वामित्र र वशिष्ठकी पत्नी अरुन्धतीलाई सप्त ऋषिका रूपमा पूजा गरिन्छ। यसपछि यज्ञोपवीत अभिमन्त्रण, दान र रक्षाबन्धन आदि कर्म यस पूर्णिमामा गरिन्छ।

सूचनाद् ब्रह्मतत्त्वस्य वेदतत्त्वस्य सूचनाद्।
तत्सूत्रमुपवीतत्वात् ब्रह्मसूत्रमिति स्मृतम्।।

ब्रह्मप्राप्तिका सहायक, वेदादि शास्त्रतत्वको सूचक भएकाले जनैलाई यज्ञोपवीत भनिएको हो। यसको अर्को नाम हो ब्रह्मसूत्र। जनै नलगाएको व्यक्तिले धार्मिक कृत्य गर्ने अधिकार रहँदैन। परम्परामा जनै नलगाउनेले पूजामा गणेश आदि देवतालाई जजल्का चढाउँछन्। जनै लगाउने, दैनिक गायत्री जप्ने, श्रावणी कर्म अर्थात् उपाकर्म गर्ने, देवता, पितृहरूलाई र ब्राह्मणहरूलाई जनै दान गर्ने जस्ता जनैसँग सम्बन्धित नियमहरू शास्त्रमा बताइएका छन्। ती पालन नगर्नेले जनैको ठाउँमा विशेष उत्तरीय वस्त्र राखेर श्राद्धमा सव्य र अपसव्यको व्यवहार गर्दछन्। शास्त्रीय नियम अनुसार निर्माण गरी अभिमन्त्रित गरिएको जनै लगाउनाले अभीष्ट फल प्राप्ति हुन्छ।

‘यज्ञेन संस्कृतम् उपवीतम् ‘ भनिएकाले यस पूर्णिमामा जनैको पनि संस्कार गरेर अभिमन्त्रण गरी राखिएको जनै एक वर्षसम्म फेर्न मिल्छ। अर्को वर्ष फेरि नयाँ जनै बनाउने र त्यसका साथै पुराना बाँकी रहेका भए ती जनै पनि सँगै अभिमन्त्रण गर्नुपर्दछ। जनै बनाउने जनैको धागो कात्ने, डोरा बनाउने, तेब्य्राउने, शिखा पार्ने जस्ता पवित्रताका साथ गर्ने कार्यहरू गर्नुपर्छ। यसरी निर्माण गरिएका जनैका डोरामा तन्तुदेवता भनेर सम्बद्ध देवताको पूजा गरिन्छ। ॐकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम, विश्वेदेवा गरेर नौ वटा डोरामा नौ देवताको पूजा गरिन्छ। यसैगरी जनैका ग्रन्थीहरूमा ब्रह्मा, विष्णु र रुद्र देवताको पूजा गरिन्छ। यसपछि ऋषिहरूको तर्पण गरिन्छ। कात्यायनादि आफ्ना शाखासूत्रका ऋषिहरूलाई कृतज्ञता ज्ञापन गर्ने वा सन्तुष्ट पार्नका लागि तर्पणीय जलद्वारा कुशादि निर्मित पूजित ऋषिहरूमा तर्पण गर्ने कार्य भएकाले नै यस पूर्णिमालाई ऋषितर्पणी पूर्णिमा पनि भनिन्छ।

ऋषितर्पण किन गर्ने ?

गुरुबाट आफूले प्राप्त गरेको वेदादि शास्त्रीय ज्ञान तथा व्यावहारिक ज्ञानमा क्रमशः मलीनता आउने गर्छ भने पढेको विद्यालाई सदैव ताजा राख्न कर्तव्य हुन जान्छ। त्यो विद्या नबिर्सियोस्, प्राप्त विद्याबाट नयाँ नयाँ कुराको प्रविधिको, ज्ञानको आविष्कार गर्ने क्षमताको विकास होस्, गुरुलाई साक्षी राखेर नयाँ नयाँ विषयको विज्ञानको भण्डारण आफूमा रहोस् भनेर ऋषितर्पण गरिन्छ। यसैगरी विद्यामा मलीनता, न्यूनता, हीनताबोध आदि नआऊन् भनेर पनि ऋषितर्पणीका कृत्यहरू गरिने हुन्। आफ्ना कुलवंशका करोडौं वर्ष पहिलेका ज्ञानवान् पुर्खाहरूलाई यस दिन सम्झिएर तर्पण गरेर उनीहरूको नाम उच्चारण गर्नाले व्यक्तिमा अध्ययनादि क्षेत्रमा तेज बढेको महसुस हुन्छ। तेजस्वी ऋषिहरूको प्रभावले विशेष ऊर्जा प्राप्त भई आफ्नो कार्यक्षेत्रमा दक्षता हासिल हुने हुँदा ऋषितर्पणीमा ऋषिहरूलाई तर्पण एवं ऋषिश्राद्ध गर्ने विधान छ। आफ्ना कुलवंशका ऋषिहरू’bout आह्निक लगायत धर्मशास्त्रका ग्रन्थमा ‘वंशानां ब्रुवणम् ‘ शीर्षक पाठ हेर्न सकिन्छ।

जनै पूर्णिमा – रक्षाबन्धन – जनै धारण गर्ने विधि

अभिमन्त्रित गरिएको नयाँ यज्ञोपवीत आफ्ना पितृ र ब्राह्मणहरूलाई दान गरेपछि नयाँ यज्ञोपवीत (जनै) खोली हातमा लिएर सुरुमा संकल्प गरी धारण गर्नुपर्छ।
संकल्प गर्दा आचमन गरी यो मन्त्र पढ्ने–

ॐ यज्ञोपवितमिति मन्त्रस्य परमेष्ठी ऋषिः लिङ्गोक्ता देवता, त्रिष्टुप् छन्दः यज्ञोपवीतधारणे विनियोगः ।

अब खोलेको जनै हातमा लिएर दायाँ हात माथि उठाई यो मन्त्र पढ्दै जनै धारण गर्नुपर्दछ–

ॐ यज्ञोपवितं परमं पवित्रम्।
प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं।
यज्ञोपवीतं बलमस्तु तेजः।।
यज्ञोपवीतमसि यज्ञस्य त्वा यज्ञोपवीते नेपनह्यामि।।

यसपछि पुरानो जनै चोखो ठाउँमा ॐ भनेर सेलाउने र आचमन गरी यथासम्भव १००८ नसके १०८ वा त्यो पनि नसके कम्तीमा १० पटक प्राप्त गायत्री मन्त्रको जप गर्नुपर्छ। पहिले जनै लगाएर मात्र पुरानो जनै निकाल्नुपर्छ। यसपछि गुरुबाट रक्षाबन्धन बाँध्नुपर्छ र अन्त्यमा हातमा जल लिएर ‘अनेन नवयज्ञोपवीतधारणार्थे कृतेन यथाशक्ति गायत्रीजपकर्मणा श्रीभास्करदेवता प्रीयतां न मम । ’ भनी हातको जल भूमिमा अर्पण गर्नुपर्दछ।

नयाँ जनैलाई गङ्गाजल, कुशोदक, पञ्चामृत, श्रीखण्ड र अन्य सुगन्धित पदार्थले पवित्र गराई वैदिक मन्त्रद्वारा अभिषेक र अभिमन्त्रित गरी यसमा विभिन्न देवताको आवाहन, पूजन गरी शक्ति शक्तिसम्पन्न बनाइएको हुन्छ। यसर्थ अभिमन्त्रित जनै धारण गर्नाले ब्रह्मचर्य, सामर्थ्य, तेजस्विता र सदाचार स्वयं प्राप्त हुन्छ। विधिपूर्वक जनै लगाउनाले भूत, प्रेत आदि दुष्ट शक्तिले दु:ख दिँदैन। व्यक्तिमा कुशाग्र बुद्धि, तीव्र स्मरण, शीघ्र स्फूरण, विवेकशीलता, निर्णायक सामर्थ्य जस्ता विशेष गुण ब्रह्मसूत्र धारण गर्दा प्राप्त हुन्छन्।

पौराणिक प्रसंगअनुसार सत्य युगमा १२ वर्षसम्म चलेको दैत्यराज वृत्तासुरसँगको युद्धका क्रममा देवताहरूको कल्याणका निमित्त देवराज इन्द्रलाई देवगुरु बृहस्पतिले श्रावण शुक्ल पूर्णिमा तिथिमा रक्षाविधान गरिएको डोरो बाँधेर आध्यात्मिक बल प्रदान गरेका थिए। त्यही रक्षासूत्रको प्रभावले देवराज इन्द्रले आफू सुरक्षित रहेर दैत्यलाई हराउन सफलता प्राप्त गरेको हुँदा आसुरी वृत्तिबाट मुक्तिको कामनासहित हातमा रक्षाबन्धन बाँध्ने चलन रहेको छ। यस्तै अत्यन्त बलशाली राजा बलि पनि रक्षासूत्रले बाँधिएको प्रसंग उल्लेख गरी रक्षाबन्धन गर्ने चलन रहेको छ–

येन बद्धो बलिराजः दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल ।।


Comments

    Dinesh Npl

    happy rakhi

    Damber Bdr Monger

    very essential to know the Nepali auspicious day and it’s importance

    Pritam

    Sarai rameo gyan…. aajkal ko yuva piri ko lagi.

    Ajay Kumar Kurmi

    सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा जनै पूर्णिमा तथा रक्षा बन्धनको धेरै धेरै शुभकामना!

    Ramu

    1992 ramu

    dhirendra Patel

    happy

    dhirendra Patel

    dipawli

    omprkash

    rakcha

    prafet salin

    nice

    joshi thami

    nice

    Punjab

    voli ktikher sammxa said rakxeh bandanko

    केशब पोख्रेल

    नमस्कार, नेपाली पात्रो भनेपछी कसैको प्रश्न को उत्तर नेपालीमै दिने गरौ.

    Ramesh bhatt

    मेरो आजको मेरो कस्तो दिन् छ

    keshab joshi

    i m vary vary intaste abaut in raxa bandan&janai purnema

    देव वान्टकि

    मेरो भबिस्या कस्तो हुन्छ। मेरो जगिरको उन्नति प्रगति हुन्छ कि नै


Load more comments

Reply to Pritam जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!