No Image
नेपाली पात्रो > राष्ट्रिय दिवस > छोनाम (न्वागी) पर्व

छोनाम (न्वागी) पर्व

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in राष्ट्रिय दिवस .
सेप्टेम्बर 13, 2021

छोनाम (न्वागी) पर्व, आज भदौ २२ गते चेपाङ जनजातिको मुख्य पर्वको रूपमा रहेको छोनाम (न्वागी) पर्वको महत्त्वपूर्ण दिन हो। नेपाल सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये को एक जनजाति हो चेपाङ। चेपाङ जनजाति, प्रकृति पूजकको रूपमा चिनिने र यस जातीको २२ नाले वंशावली भएका कारण भदौ २२ को दिन छोनाम (न्वागी) पर्व मनाउने चलन रहेको मानिन्छ। छोनाम (न्वागी) पर्व कर्णाली प्रदेशका जनताले पनि धूमधामका साथ मनाउने एक पर्व हो। त्यता तिर न्वागी पर्व (छोनाम) लाई नयाँ वर्षको रूपमा समेत लिने गरेको पाइन्छ। 

चेपाङ जनजातिको बाक्लो बसोबास रहेको स्थान चितवन, लगायत धादिङ, मकवानपुर, गोरखा जस्ता स्थानहरूमा छोनाम (न्वागी) पर्व मनाउने चलन रहेको छ। भदौमा नयाँ अन्नबाली र फलफूल आदि पाकेपछि यो पर्व मनाउने गरिन्छ। पहिलेको समयमा भदौ महिनाको पूर्णिमाको दिन चेपाङहरूले नयाँ बालीको नयाँ अन्न खानका लागि आफ्नै जातिको झाँक्री (पान्दे/पाण्डे) घरमा बोलाइ रातभर घरमा एक पाखे ढ्याङ्ग्रो ठोकेर पितृ पूजा गर्दै मनाउने गरेको यो पर्व २०६८ साल पछि अर्थात् अहिलेको समयमा भने भदौ महिनाको २२ गते मनाउने गरिएको छ। यस पर्वको अवसरमा चेपाङहरूले कुखुराको बली चढाउने चलन पनि रहेको पाइन्छ।

२०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्क अनुसार चेपाङ समुदाय देशको २६ जिल्लामा बसोबास गरिरहेको र यस जनजातिको जनसङ्ख्या ६७ हजार ९०३ रहेको थियो। धार्मिक तथा सांस्कृतिक पर्वको रूपमा रहेको छोनाम (न्वागी) पर्वमा नयाँ अन्न भित्रिएकोमा पहिले आफ्ना पितृलाई विधिपूर्वक पूजाआजा गर्दै नयाँ अन्न र फलफूलहरू चढाए पछि मात्रै आफूले खाने चलन रहेको छ। नयाँ अन्न पितृलाई नचढाई खाएको खण्डमा रोग व्याधि लाग्छ भन्ने  धार्मिक विश्वास रहेको हुँदा नयाँ अन्न आजको पूजामा पितृ लाई चढाएर मात्र अरूले पनि खाने गरेको पाइन्छ। आजको यस छोनाम (न्वागी) पर्वलाई चेपाङहरूले पान्देई घ्या सा (पितृ मन्छाउने) पनि भन्ने गरेको पाइन्छ। त्यसै गरी चेपाङहरूले आजको दिन नयाँ अन्न खाने दिन भएको कारण पनि यस पर्व लाई छोनाम भनी सम्बोधन गरिएको हो। 

विशेष गरी चेपाङहरूको बाहुल्य रहेको क्षेत्रमा मनाइने यस पर्वमा बारीमा फलेको घिरौँला, चिचिन्डो, केरा, अदुवा, घैया धान (सुख्खा ठाउँमा लगाउने र भदौमा पाक्ने) आदि पितृलाई चढाउने गरिन्छ। यस पर्वको अवसरमा रातभर झाँक्रीबाट तन्त्र मन्त्र जपेर पितृको पूजा गरिसकेपछि बिहान पख मात्रै पूजा सकिन्छ। पूजा विसर्जनमा झाँक्रीले चेपाङ जातिको देवता बोलाउने र “आयु हुनेलाई राम्रो सँग बाँच्न देऊ, नहुनेलाई आयु बढाइदेऊ” भन्दै घरको सबै सदस्यलाई नयाँ घैया चामल बाट बनेको टिका लगाइदिने गर्छन्। यसरी न्वागी पूजाको टिका झाँक्रीबाट लगाइसकेपछि भने नयाँ अन्न र फलफूल घर घरमा रमाइलो गर्दै खाने चलन रहेको छ। यसरी यो पर्वमा सबै मिलेर भोज खाने, सुख-दुखका कुरा गर्ने र रातभर जागाराम बस्दै नाचगान गरेर रमाइलो गर्ने चलन छ ।

सामान्यतया भीर-पाखामा बस्ने चेपाङ जातिले भीर-पाखामा लगाएको मकै लगायत फलफूल आदी भदौमा पाक्ने भएकोले नै आजको दिन छोनाम वा न्वागी पर्व धुमधुमसँग मनाउने गरेको हो। यस पर्वमा चेपाङले घैया चामल, पिँडालु, लगायत निबुवा आदि फलफूलले भूमि पूजा गरी पितृलाई चढाउने गर्छन्। आपसी भ्रातृत्व र मित्रताको पर्वको रूपमा रहेको यस पर्वमा आफ्नो छर-छिमेक, नाता-गोता, कुटुम्ब आदिलाई निम्तो गर्ने र सामूहिक भोज खुवाउने चलन पनि रहेको छ। पर्वको अवसरमा नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ। चेपाङहरू प्रकृति धर्म/प्रकृति पूजकको रूपमा चिनिन्छन्। यो जाति जङ्गलमा भेटिने भ्याकुर गिट्ठा आदी खाएर जीवन धान्ने भएकोमा उनीहरूको बन जङ्गलसँग राम्रो साइनो गाँसिएको हुन्छ। यसै कारण पनि प्रकृति पूजा यस जातिको लागि महत्त्वपूर्ण हुने गर्छ।

झन्डै वर्ष दिन जस्तै जङ्गली कन्दमूल आदि खाएर प्राण धान्ने  र लोपोन्मुख अवस्थामा समेत रहेको चेपाङ जातिको लागि यो दिन नयाँ र मिठो खाना खाएर मुख फेर्ने दिनको रूपमा लिने गर्छन्। यस पर्व चेपाङ जातिको जीवन शैली र संस्कृति सँग जोडिएको छ। आजको दिन न्वागी फलाक्ने झाँक्री लगायत अन्यले पनि सांस्कृतिक नाच लगायत गीत आदी प्रस्तुत गर्ने गर्छन् ।

विशेष गरी महाभारत पर्वत शृङ्खला वरिपरिको रैथाने बासिन्दाको रूपमा रहेका चेपाङ समुदायको जन्म देखि मृत्युसम्मको सबै जसो संस्कार भूमिसँग सम्बन्धित रहेको हुन्छ। त्यसै गरी उनीहरूको आफ्नो थलो, गाउँ, खोला-नाला, भीर-पहरा इत्यादिको नाम पनि चेपाङहरूको आफ्नै भाषाबाट रहेका हुन्छन्।

आर्थिक अनि सामाजिक रूपमा समेत पछाडि परेको चेपाङ जातीको यस छोनाम (न्वागी) पर्वलाई एक उत्सवको रूपमा मनाउँदै चेपाङ जातिको मनोबल बढाउने कार्य गर्दै जाँदा नेपालमा रहेका हरेक जात-जातीको चाडपर्वको महत्त्व उजागर हुने देखिन्छ। छोनाम (न्वागी) पर्व जस्तै हरेक राष्ट्रिय दिवसहरूले सबै नेपालीको पहिचान र संस्कृति आदीलाई समेट्न सक्ने हुँदा हरेक राष्ट्रिय दिवस हरूको अत्यन्तै महत्त्व रहेको छ। राष्ट्रिय दिवसहरूले देशको बहु जातीय, बहु भाषिक, बहु सांस्कृतिक, बहु धार्मिक तथा भौगोलिक विविधताहरू प्रति सम भाव र सद्भाव राख्दै हरेक नेपाली अनि नेपालको हित र देशको एकता मा समर्पित हुने भावना जगाउन अवश्य नै मदद गर्छ। नेपालको एक महत्त्वपूर्ण जनजातिको रूपमा रहेका चेपाङ जातीको मुख्य पर्वको रूपमा रहेको छोनाम (न्वागी) पर्वको चेपाङ जाती लगायत सम्पूर्ण नेपालीमा नेपाली पात्रोको धेरै धेरै शुभ-कामना। 

 


Comments

    MD JUBER

    good


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!