No Image
नेपाली पात्रो > चाडपर्व > गुरुपूर्णिमा

गुरुपूर्णिमा

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
मार्च 20, 2017

गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात्परब्रह्म तस्मै श्रीगुरवे नमः॥

ध्यानमूलं गुरोर्मूर्तिः पूजामूलं गुरोः पदम् ।
मन्त्रमूलं गुरोर्वाक्यं मोक्षमूलं गुरोः कृपा ॥

आषाढ शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भनिन्छ। आफ्ना प्रथम गुरुहरू (माता-पिता), गायत्रीमन्त्र दिने गुरु, दीक्षामन्त्र दिने गुरु, वेदादि शास्त्र पढाई यो लोक र परलोकको सही शिक्षा दिने गुरु र आफूले पढेका विद्यालय-विश्वविद्यालयका सम्पूर्ण गुरुहरूलाई नमन गर्ने, पूजन गर्ने, चिठीपत्र, एसएमएस, टेलिफोन आदिका माध्यमबाट कृतज्ञता ज्ञापन गर्दै आशीर्वाद लिने मुख्य पर्वका रूपमा गुरुपूर्णिमालाई लिइन्छ।
हिन्दु धर्मशास्त्रहरूमा माता, पिता र ज्ञानदाता गुरुको तुलनामा अन्य पूज्य कोही हुँदैनन् भनी उल्लेख गरिएको छ। यसैगरी महिलाहरूका लागि माता, पिता र पति मुख्य गुरु हुन् भनी बताइएको छ।

गुरु अर्थात् गुरुतत्त्व के हो ?

गुरु शब्द दुई वटा अक्षर मिलेर बनेको छ। ‘गु’को अर्थ अन्धकार र ‘रु’को अर्थ हो– प्रकाश। अँध्यारोमा जीव त्यसबेलासम्म भड्किन्छ, जतिखेर सम्म प्रकाश पाउँदैन । प्रकाशको पुञ्ज गुरुमा रहेको छ। अन्धकारयुक्त शिष्य अर्थात् ज्ञान नजानेर नै व्यक्ति भड्किन्छ। जब उसलाई यो यो यही रहेछ भनेर ज्ञान हुन्छ, तब ऊ प्रसन्न हुन्छ। उसको घैंटामा घाम लाग्छ। त्यो अन्धकाररूप अज्ञान ज्ञानले हटाउने हुनाले अपठित, अज्ञानी वा नजानेको व्यक्ति नै ज्ञान सिक्न जाने हो। त्यो ज्ञान जसले दिन्छ, त्यो नै गुरु हो। बाटो बताउने व्यक्ति पनि गुरु हो।

वेदान्तलगायत शास्त्रको ज्ञान दिने पनि गुरु नै हो। व्यक्ति गुरुले दिने उपदेशको महत्त्व बुझ्न शिष्यमा परिपक्वता आइसकेको हुनुपर्छ । नत्र उसले महत्वपूर्ण कुरालाई पनि सामान्य रूपमा मात्र लिन्छ। पात्रता नै मुख्य कारण हो भन्ने कुरा बुझ्नुपर्छ। विद्याविनयपछि पात्रता आउँछ। पात्रताको परिपक्वता नभएसम्म गुरुले ज्ञान दिन चाहँदैन। पन्छाउँछ, टार्दछ। किनकि ज्ञानको आलोक उसले दिएको शिष्यरूप पात्रमा रहिरहन, अडिरहन सक्छ कि सक्दैन ? सक्छ भन्ने लाग्यो भने गुरुले शिष्यलाई आफ्नो सर्वस्व छाडेर उस शिष्यको पछि लागेर उसलाई सिकाइरहेको हुन्छ। शिष्य भाग्दछ कि भन्ने उसमा डर हुन्छ र फकाईफकाई सिकाउँछ। सिकाउन अत्यन्तै लालायित हुन्छ। यो चाहिँ गुरुको गुरुत्व हो। गुरुतत्त्व बिसाउने, विद्या सार्ने, आफूमा भएको ज्ञानको विद्याको आलोक अरूमा कसरी सार्ने, पुर्याउने भन्नेमा गुरुलाई चिन्ता बन्दछ। उचित शिष्यको खोजीमा गुरु पनि भड्किइरहेको हुन्छ। यो गुरुमा रहेको गुरुतत्त्वको विशेषता हो। सामान्य शिक्षाको लेनदेनमा यो कुरा पाइँदैन। गुरुतत्व झल्किनै पाउँदैन।

आजकलको प्रमाणपत्रवाला शिक्षाको तुलनामा पुरानो गुरुकुल शिक्षामा अनेक विद्यार्थी एवं केही गुरुहरूको मात्र संलग्नता रहे तापनि गुरुले सत् शिष्य खोज्ने र शिष्यले सदगुरु खोज्ने अवसर त्यो गुरुकुल आश्रमले, त्यो शिक्षाले त्यस्तो अवसर दिन्थ्यो। शिष्य भोको छ भन्ने चिनेर उसलाई त्यो विद्याको खुराक पाउने ठाउँको बाटो देखाइदिने काम गुरुबाट हुन्थ्यो। त्यो बाटो देखाउने काम गुरुबाट हुन्थ्यो भने सत् शिष्य बनी भनेको गुरुसँग गएर पढ्ने काम शिष्यको हुन्थ्यो। ऐहिक शिक्षा एवं पारलौकिक वेद–वेदान्तादि शिक्षा ग्रहण गरी विद्यामा पारंगत हुन्थ्यो। यहाँ स्मरणीय के छ भने सामान्य गुरुले बाटो देखाइदिए, शिष्य त्यो गुरुसँग गएर पढेर आफूमा गुरुत्व कायम गरेर फर्किएपछि उसको त्यस शिष्यले बुझेको गुरुतत्त्व नै हजारौं शिष्यहरूलाई आलोक छर्ने काममा ऊ पनि लाग्दथ्यो। त्यो विद्या नै सद्विद्या हुन्थ्यो।

गुरुततत्त्व त्यही हो जसले जीवनमा एकपटक पाएपछि त्यो ज्ञानदाता एवं त्यस प्राप्त ज्ञानलाई प्राणभन्दा प्यारो भएको ठान्दथ्यो। ज्ञानदाता गुरुको र त्यस ज्ञानदाता गुरुको आजीवन सम्मान गर्दथ्यो। त्यो प्राप्त आलोकका अगाडि उसका सबै वस्तु मूल्यहीन हुन्थे भने त्यो उसको अमूल्य सम्पत्ति हुन्थ्यो। त्यसको सम्मानमा आफ्नो जीवन लगाएको हुन्थ्यो। यसप्रकारको ज्ञान प्राप्त गर्नु र त्यसको संरक्षणमा जीवन समर्पण गर्नु नै जीवनको व्रत रहन्थ्यो। त्यस्ता व्यक्तिका अगाडि भुक्ति, मुक्ति, ऐश्वर्य आदि आफैं झुक्दथे। श्रीमद्भागवतमा भक्तिको प्रसंगमा साक्षात् मूर्तरूपमा गंगादि नदीहरूको उपस्थिति जस्तै गुरुत्व निहित गुरुमा कुनै कुरा असाध्य हुँदैनथ्यो। कारण गुरुबाट गुरुबाट प्राप्त विद्याको पालनामा रहेको निष्ठाको प्रकाशपुञ्जलाई सबै कुरा ज्ञानका माध्यमबाट अगाडि देखिन्थे। त्यसप्रकारका विद्यानिष्ठ गुरुहरू नै ऋषि–महर्षि हुँदै धर्ममूर्ति भए।

धर्ममूर्तिका रूपमा रहेर मनुस्मृति आदिमा लिखित विषयको उपदेश शिष्यहरूलाई गरे। धेरै दिनसम्म शिष्य–प्रशिष्य परम्परामा यी विषयवस्तुहरू श्रुति परम्परामै रहे। कालान्तरमा शिष्यत्व र गुरुत्वमा कमी हुँदै गएपछि लिपिबद्ध हुँदै गए। विषयहरू तिनै थिए, शाब्दिक रूपमा ती विषयहरूका माध्यमबाट गुरुतत्व कायम गर्ने प्रयास गरिँदै गयो। आजभन्दा करिब पच्चीस सय वर्षपहिले प्राप्त मनुस्मृति आदिका विषयवस्तु आज पनि विषयका दृष्टिले, भाषिक दृष्टिले उत्तिकै मान्य हुनुमा सद्गुरुद्वारा उपदिष्ट ज्ञानालोक भएकाले नै हो। आजका हामीहरूमा पनि त्यस ज्ञान प्रकाशपुञ्जको आवश्यकता भएकाले त्यसको महसुस हामीले गर्नैपर्छ। त्यो प्रकाशपुञ्ज पाश्चात्यहरूको २०० वर्षको शिक्षाभन्दा धेरै पुरानो तर नयाँनयाँ विषयको बोधक हुनुमा गुरुतत्त्वको पूर्ण प्रयोग हो भन्न सकिन्छ।

विवाहिता महिलाका लागि मातापिताका साथै पतिमात्र एक गुरु हुन् (पतिरेको गुरुस्त्रीणाम्) भनी शास्त्रले निश्चय गरेको छ। ‘अमोक्षो धर्मविवाहानाम्’ भनी धर्मशास्त्रका दृष्टिकोणमा पूर्वजन्मको संस्कारअनुसार यो जन्ममा पतिपत्नीको सम्बन्ध गाँसिने हुँदा विवाहभन्दा पहिले विविध कोणबाट ज्योतिषीय, धार्मिक, समान उमेर, आर्थिक समानता, कुल आदिबाट वरवधू हुने योग्यता निर्धारण गरेर मात्र विवाह गर्नुपर्छ भनी तय गरिएको हुँदा ती दम्पतीका बीचमा अर्थात् सबै कोणबाट विचार गरी वैदिक विधिसम्मत ढंगले गरिएको विवाहमा दरार पैदा हुने कुरै हुँदैन। त्यसैले धार्मिक विधि पुर्याएर नाता नाता तयार गरिएका पतिपत्नीबीचमा अमोक्ष अर्थात् छोडपत्र हुँदैन भनी ठोकुवा गरिएको हो।

आजकल यस्तो विवाह कम र पश्चिमा शैलीको विचारका नाममा करार गरी हुने नाताहरू तोडिन्छन् किनकि त्यो विवाह बन्न नसकेर करारमात्र बन्यो। पश्चिमा देशहरूमा विवाहको यो विधि हुँदैन। करारका प्रक्रिया या कोटम्यारिजका प्रक्रिया मात्र पूरा गरिने हुनाले विवाहको करार पनि अन्य करारजस्तै तोडिन थालियो। धार्मिक रूप विवाहले नपाएकै कारण पतिले पत्नीलाई सही सल्लाह दिने पत्नीका रूपमा लिन सकेन भने पत्नीले पतिलाई मार्गनिर्देशक गुरुका रूपमा लिन नसकेको हो। वास्तवमा पत्नीका लागि पतिको स्थान गुरुको भन्दा पनि उच्च छ। सामान्य गुरुका अर्थले पति एवं गुरुको स्थान पूर्ति हुन सक्दैन। त्यसैले भनिएको हो– पतिरेको गुरुस्त्रीणाम् ।

निष्कर्ष

गकारः सिद्धिदः प्रोक्तो रेफो पापस्य हारकः
उकारो विष्णुरव्यक्त प्रीतयात्मा गुरुः परः।।

ग उ र उ मिलेर बनेको गुरु शब्द आफैंमा व्यापक छ । र यसले दिने अर्थ सिद्धिदाता, पापहारक र भगवान विष्णुले युक्त भएका समष्टिरूप ज्ञानदाता गुरु हुन् भन्ने बुझिन्छ। निष्कलंक सिद्धिदाता विष्णु भगवानको एक रूप मन्त्रादि ज्ञानदाता गुरु हुनुहुन्छ भनी गुरुको महत्व दर्साइएको छ। भगवान व्यास एवं स्वयं सक्षम गुरु हुँदाहुँदै पनि ‘कृष्णं वन्दे जगद्-गुरुं’ भनी गुरुको गुरुतालाई नबिर्सन कृष्णलाई गुरु मानी कार्य गर्नुभएको छ। ‘गुरुरग्निर्द्विजातीनां वर्णानां ब्राह्मणो गुरुः। पतिरेक गुरुः स्त्रीणां सर्वत्राभ्यागतो गुरुः’ भनी व्यावहारिक जीवनमा गुरुको व्याख्या गर्दै गृहस्थाश्रममा रहँदा मान्नुपर्ने गुरुको चाणक्यले वर्णन गर्नुभएको छ।
गुरुलाई यति उच्च स्थानमा राख्नुको महत्त्व यो हो कि बिनाविचार शिष्य बनाउँदा मन्त्री बनाउँदा, पत्नी चयन गर्दा त्यो योग्य नभएमा त्यसले गरेको पापआदि सम्पूर्ण दोष माथिल्लो व्यक्तिमा जाने हुनाले विचारपूर्वक शिष्यादिको चयन गर्नु भनी निर्देश धर्मशास्त्रमा दिइएको छ।

मन्त्रिपापञ्च राजानं पतिं जायाकृतं तथा
तथा शिष्यकृतं पापं प्रायोगुरुमपि स्पृशेत्।।

विद्या र विनयले युक्त शिष्य बनाउने दायित्व गुरुमा रहन्छ भने साँच्चै विद्या प्राप्तिका लागि विनयले युक्त विद्यार्थी हुनै पर्दछ। विद्यार्थीको प्रथम खुड्किलो भनेकै विनयता हो। विनयसम्पन्न र जिज्ञासु शिष्यलाई ज्ञानलोक भर्ने कर्तव्य गुरुको हुन्छ। यसैगरी पतिपत्नीको सम्बन्ध पनि एकाकार गुरुशिष्यको जस्तै हुन्छ। मोक्षमार्गमा हामी आ–आफ्नै गतिले हिँड्ने हो भने कर्तव्यमार्गमा अन्योन्याश्रित सम्बन्धले यात्रा गर्नुपर्दछ। सम्बन्धका साथै कर्तव्यपथको कर्तव्यपरायणता त्याग्नु हुँदैन।

गुरुपूर्णिमालाई व्यासजयन्तीका रूपमा पनि मनाइने हुँदा भगवान् श्रीकृष्णका चरित्रले युक्त श्रीमद्भागवत् महापुराण रचना गरी सन्तोष लिनुभएका व्यासजीले सबैका गुरु श्रीकृष्ण हुनुभएको र वहाँकै अनुग्रहले सन्तोषदायक यस पुराणको रचना गरी स्वयं सन्तुष्ट रहेको विषय प्रकट गर्नुभएको हो।

ब्रह्मा, विष्णु र शिवस्वरूप गुरुलाई सर्वोपरि ठान्ने सन्दर्भमा नै शिक्षक, मन्त्रदाता, वेदादि शास्त्रप्रदाता आदि सबैलाई गुरु मानी अज्ञानरूपी अन्धकारबाट उज्यालोतिर लैजाने कार्य गुरुबाट मात्र सम्भव छ भने त्यसका लागि शिष्यादिलाई ज्ञानका शलाकाले आँखा खोल्ने काम पनि गुरुबाट मात्र सम्भव हुने हुँदा त्यस्ता ऐहिक एवं पारलौकिक ज्ञानका दाता गुरुहरूमा सततः नमन् गर्दछु भनिएको छ।

अज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया।
चक्षुरुन्मिलितं येन तस्मै श्रीगुरवे नमः ।।


Related Posts
Comments
    अमर सिग बडैला

    जय जय जय गुरदेव

    birkha shahi

    जय जय गुरुदेब

    PRAKASH SHARMA

    यक्दम राम्रो र अधिक एक्युुरेट


Load more comments
Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!