
गणतन्त्र दिवस
By उपप्रा. लक्ष्मीप्रसाद बराल in राष्ट्रिय दिवस .नेपाली जनताले आफ्नाे शासकीय व्यवस्था आफैँले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धति स्थापित गर्न युगाैंयुगसम्म संघर्ष र बलिदान गर्नुपर्यो। फलस्वरूप युगाैंदेखि राजा तथा निश्चित वंशकुलले आफ्नाे तजबिजमा राजकीय सत्ता सञ्चालन गर्ने परिपाटीलाई सदाका लागि भत्काउँदै नेपालमा जननिर्वाचित संविधानसभाकाे पहिलो बैठकले वि.सं. २०६५ साल जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो। यही ऐतिहासिक कार्यकाे सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइन्छ।
नेपालको इतिहासमा ‘राजा र रैती’ले उब्जाएको भेदभाव, निरंकुशता र समाजमा व्याप्त असमानता एवं उत्पीडनका विषवृक्षहरू समूल नष्ट गरी सबैलाई समान नागरिककाे हैसियत प्रदान गर्ने कार्य यही लोकतान्त्रिक व्यवस्थाले गरेकाे हो। सबै जनताको सहभागितामा लाेकतान्त्रिक अभ्यासबाटै विविधतायुक्त समृद्ध राष्ट्र निर्माण गर्ने जनचाहनालाई अंग्रेजीको Republic तथा नेपालीको ‘गणतन्त्र’ शब्दले मुखरित गर्दछ। जननिर्वाचित प्रतिनिधिहरूमार्फत मुलुकमा तीव्र रूपले विकास गरी समान रूपमा सबै जनता समृद्ध बन्ने जनचाहनालाई कार्यगत रूपमा अघि बढाउने लोकतान्त्रिक पद्धतिलाई नेपालको संविधान २०७२ ले संस्थागत गरेकाे छ भने त्यही संविधानका आधारमा सम्पन्न संघीय, प्रादेशिक र स्थानीय निर्वाचनले त्यसको अभ्यासलाई जीवन्तता प्रदान गरेको छ।
यतिबेला नेपालमा निर्वाचित संघीय, प्रादेशिक र स्थानीय सरकार क्रियाशील छन्। यतिबेला संसारको सबैभन्दा उत्कृष्ट मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित शासन पद्धति संस्थागत गर्ने अभ्यासमा हामी समस्त नेपाली जनता लागिरहेका छौं । तर समतामूलक समावेशी समाज स्थापनामा मुलुकले जेजति समय खर्चिएको छ, त्यसको तुलनामा भौतिक विकास र आर्थिक समृद्धिका लागि राज्यको ध्यान पुग्न सकेको छैन। मुलुकमा अधिकारका लागि जति पनि संघर्ष भए, कर्तव्य पालना र समृद्धिका लागि त्योभन्दा बढी लगनशीलताको खाँचो देखिएको छ ।
विकास र समृद्धिको बाटो मुलुकले अँगाल्न सकेको छैन। शासन पद्धति भन्दा पनि सुशासन, जनधनको सुरक्षा र समृद्धिको मार्ग अवलम्बन गर्न अब धेरै ढिलो भइसकेको छ। अहिलेको युगमा खानकै लागि र बाँच्नकै लागि संघर्ष गर्नु विडम्बना हो। अझ खाडी मुलुकको रापिलो मरुभूमिमा घर–परिवारबाट टाढा रहेर जीवनको ऊर्जावान् समय व्यतीत गर्न बाध्य लाखौं नेपालीहरूको मुलुकमै केही गरेर समृद्ध बन्ने चाहना कहिले पूरा होला ? रेमिट्यान्सको विकल्पमा मुलुकको भरपर्दो आम्दानी के होला ? राज्यले सोच्ने समय आएको छ।
अहिले मुलुकका संवैधानिक अंगहरू भागबन्डामा अल्झिएका छन्। शिक्षा, स्वास्थ्य, प्रशासन सबैतिर अन्योल र भ्रष्टाचार व्याप्त छ। कृषिप्रधान देशमा आज खेतबारी बाँझिँदै गएका छन्। हिमाल र पहाड रित्तिँदै छन् भने उब्जाउ भूमि धमाधम प्लटिङ हुँदै छन्। विकासको गति ठप्प छ। बिजुलीका परियोजना अझै पनि झोलामा थन्किएका छन्। मेलम्चीको पानी सम्झिएर उपत्यकावासी काकाकुल छन् । अर्थतन्त्रका अनेकौं ‘ब्ल्याक होल’ बाट मुलुकलाई जोगाउन सक्नु आजको चुनौती बनेको छ ।
अभाव, गरिबी र भ्रष्टाचारबाट सर्वप्रथम मुलुकलाई उठाउन पहल गरिनुपर्दछ। अब आर्थिक वर्षको अन्त्यमा बजेट सिध्याउन गरिने विकास होइन, भएका स्रोत–साधनको उचित प्रयोग गरी भ्रष्टाचार निवारण, आर्थिक अनुशासन तथा सुशासन कायम गर्न सके मात्र पनि तीन तहका सरकारको आधा उद्देश्य पूरा हुन सक्छ र अहिलेको सन्दर्भमा गणतन्त्रकाे सार्थकता पनि।
गणतन्त्र दिवस
मे 27, 2019 2 वर्षहरु
good
मे 27, 2019 2 वर्षहरु
Article ekdam ramro xa
मे 28, 2019 2 वर्षहरु
sarbajanik bida hunxa hola
मे 30, 2019 2 वर्षहरु
राणा कालको र शाही सत्ता जस्तो बोल्नै नपाउने त छैन नि अब ।सबैले समान रूपले बाच्न पाउनु नै संघीय लोक तान्त्रिक गणतन्त्र हो।तर यो भएको छैन नेपाल मा ।