औलो दिवस

औलो दिवस

By Nepali Patro
अप्रील 23, 2025

प्रत्येक वर्ष अप्रिल २५ मा विश्व औलो दिवस मनाइन्छ, जसको उद्देश्य औलो (मलेरिया) रोग सम्बन्धि जनचेतना फैलाउने र यस विरुद्धको प्रयासलाई सशक्त बनाउने हो। लामखुट्टेबाट सर्ने यो रोगले हरेक वर्ष विश्वभर लाखौं मानिसलाई प्रभावित पार्छ, विशेष गरी  उष्ण क्षेत्र (tropical area) तथा उपोष्ण क्षेत्र (sub-tropical area) का समुदायहरूमा यसको प्रभाव ठूलो छ।

औलो भनेको के हो?

औलो प्लाज्मोडियम नामक परजीवीका कारण हुने संक्रामक रोग हो, जुन संक्रमित पोथी एनोफिलिज लामखुट्टेको टोकाइबाट सर्छ। यो रोग लागेपछि व्यक्तिलाई ज्वरो, काँपेर जिउ कठ्याङ्ग्रिने, टाउको दुख्ने, र थकान महसुस हुने गर्छ। समयमा उपचार नपाए, औलो गम्भीर भई मृत्यु समेत हुनसक्छ।

नेपालमा औलो मुख्य रूपमा तराई क्षेत्र र ग्रामीण बस्तीहरूमा पाइन्छ। तर, नेपाल सरकार, स्वास्थ्य संस्थाहरू र समुदायको संयुक्त प्रयासले पछिल्ला केही वर्षमा औलो संक्रमणलाई धेरै हदसम्म घटाउन सफल भएको छ। । सरकारी स्वास्थ्य कार्यक्रम, औलो नियन्त्रण उपाय र सचेतना अभियानहरूको कारण औलो उन्मूलनको लक्ष्यलाई वास्तविकतामा बदल्ने सम्भावना बढ्दै गएको छ।

२०२५ को नारा: औलो अन्त्य हामीबाट सुरु हुन्छ

विश्व औलो दिवस २०२५ को नारा “औलो अन्त्य हामीबाट: फेरी लगानी गरौं, फेरी कल्पना गरौं, फेरी जागरूक बनौं” राखिएको छ। यसले औलो विरुद्धको लडाइँमा थप लगानी, नवीन उपाय, र सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिन्छ।

औलोबाट बच्ने उपायहरू

औलोबाट बच्न यसको रोकथाम नै मुख्य उपाय हो। सुरक्षित रहनका लागि कीटनाशक उपचार गरिएको झुल प्रयोग गर्नु, लामखुट्टे प्रतिरोधी मलहम लगाउनु, समयमा नै रोग पहिचान गरी उपचार सुरु गर्नु, तथा समुदायमा सचेतना कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ। यी उपायहरूको प्रभावकारी कार्यान्वयनले औलो संक्रमण दर घटाउन मद्दत गर्छ र हामीलाई औलोमुक्त भविष्यतर्फ अघि बढ्न प्रेरित गर्छ।

औलो विरुद्धको लडाइँ केवल स्वास्थ्य क्षेत्रको मुद्दा नभई हाम्रै दैनिक सुरक्षासँग जोडिएको विषय हो। रोकथाम, उपचार, र निरन्तर शिक्षा मार्फत, हामी सामूहिक रूपमा औलो उन्मूलनको दिशामा अघि बढ्न सक्छौं। यस विश्व औलो दिवस मा, औलो विरुद्धको हाम्रो प्रतिबद्धतालाई नवीकरण गरौं र औलोमुक्त भविष्य निर्माणको प्रयास गरौं।

Related Posts

विश्व माटो दिवस 

डिसेम्बर 4, 2025
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

य:मरी पुन्ही

डिसेम्बर 29, 2020
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

उँधौली पर्व

डिसेम्बर 3, 2025
By Nepali Patro

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ