No Image

ऋषिपञ्चमी

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
मार्च 1, 2017

ऋषिपञ्चमी व्रत

भाद्र शुक्ल पञ्चमी तिथिमा व्रत बसी सप्तऋषिको पूजा गरिने भएकाले यस तिथिलाई ऋषिपञ्चमी भनिन्छ। यस व्रतमा ऋषिहरूको पूजा गर्न मध्याह्नव्यापिनी तिथि लिनुपर्दछ। ‘पूजाव्रतेषु सर्वेषु मध्याह्नव्यापिनी तिथि’ भनिएकाले दिउँसो १० बजेपछि करिब १ बजेसम्मको समयलाई मध्याह्न बुझ्नुपर्छ। यस दिन बिहान शरीरशुद्धिका लागि ३६५ अपामार्गको दतिवन गरेर ३६५ पटक नै माटो लगाएर नुहाउनुपर्छ। सप्तऋषिको पूजा गरेपछि खनजोत नगरी फलेका सामा, तिनकीजस्ता अन्नको भोजन गर्नुपर्छ।

ऋषिपञ्चमी र ऋषितत्त्व

सर्वप्रथम परमात्माबाट ब्रह्माजीको सृष्टि भयो। यसपछि ब्रह्माजीबाट चराचर जगतको सृष्टि भएको हो। यसै क्रममा ब्रह्माजीले ऋषिहरूको सृष्टि गर्नुभयो। कालक्रमअनुसार विभिन्न कल्प र मन्वन्तरका भिन्नभिन्न ऋषिहरू छन्। वर्तमान श्वेतवाराहकल्पका सप्तऋषिहरूको नाम यसप्रकार छ–
कश्यपो sत्रिर्भरद्वाजो विश्वामित्रो sथ गौतमः।
जमदग्निर्वशिष्ठश्च साध्वी चैवाप्यरुन्धती।।

कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठसमेत सात ऋषि र अरुन्धती यस कल्पमा पूजा गरिने ऋषिहरू हुन्। ऋषिपञ्चमीमा यिनै सप्तऋषिलाई थालीमा कुशको प्रतिमा बनाएर पूजा गरिन्छ।

यी ऋषिहरू के हुन् अर्थात् ऋषितत्त्व के हो भन्ने सन्दर्भमा ‘विद्याविदग्धमतयोरिषयोः प्रसिद्धाः’ भनिएको छ। यसको अर्थ हुन्छः विद्या र ज्ञानका क्षेत्रमा उत्कृष्ट बुद्धि भएकाहरू नै ऋषि हुन्। यस्तै ‘ऋषयो मन्त्रद्रष्टारः’, ‘ज्ञानसंसारयोः पारंगताः’ भनेर ऋषिहरूलाई मन्त्रद्रष्टा, त्रिकालवेत्ता, भविष्यद्रष्टा एवं संसारको गतिलाई बुझ्ने र सोहीअनुसार संसारलाई सत्मार्गमा डोहोर्याउने, नयाँनयाँ विषयको ज्ञान दिने, भविष्यमा के हुँदै छ, त्यसबाट लोककल्याणको उपाय ज्ञान गरी संसारलाई युगौंयुगसम्म बाटो देखाउने शास्त्रका सर्जकलाई नै ऋषि भनिएको छ।

संसारको कल्याण र शाश्वत सत्यलाई जीवन्त राख्न परब्रह्म परमात्माले वेदादि शास्त्रको उपदेश गर्नुभयो। त्यस उपदेशको रहस्यमय विषय मन्त्रविज्ञान थियो। त्यो मन्त्रविज्ञान हो भन्ने जान्दाजान्दै पनि त्यो प्राप्तिका लागि हजारौं वर्ष तपस्या गरेर मन्त्रहरूलाई ऋषिहरूले साक्षात्कार गर्नुभयो। अर्थात् ईश्वरले दिएका उपदेशात्मक मन्त्रहरू नै प्रत्यक्ष देख्नुभयो र मन्त्रभित्रका अर्थ खोज्न थाल्नुभयो। लोककल्याणमा प्रयोग भएका मन्त्रहरू नै ऋषिहरूले साक्षात्कार गरेकाले आज पनि ती मन्त्रहरू, तिनले दिने अर्थहरू सारा चराचर जगतको कल्याणमा प्रयोग हुन्छन्। ॐ द्यौः शान्तिरन्तरिक्षम् शान्तिः… जस्ता चारै वेदका सम्पूर्ण मन्त्रहरू लोकको कल्याणका लागि पढिन्छन्। यी मन्त्रभित्रका सबै अर्थहरू पनि देशको, समाजको, चराचर जगतको कल्याणमा नै प्रयोग हुन्छन्। ऋषिहरूको तपोबलले ब्रह्मरूप मन्त्रहरू प्राप्त भएकाले मन्त्रहरूका साथसाथ ऋषिहरूलाई पनि पनि पूजा गर्ने गरिन्छ।

दूधभित्रको घिउ फेला पार्न मोही पारे जस्तै चारै वेदमा भएको ज्ञानलाई ऋषिहरूले ज्ञानरूपी मदानीले मथेर समाजमा शान्ति, पुष्टि, तुष्टि, उत्कर्ष, ज्ञान, कल्याण, स्वस्ति, ऋद्धि, वृद्धि आदि लोकहितका समस्त विचार समाजलाई प्रदान गरी यस्ता ज्ञानको उपयोग गर्नुपर्छ भनी चेतनासमेत जगाउने कार्य ऋषिमहर्षिहरूले गरिदिनुभएको हो। ऋषिमा रहेको ऋषितत्त्व के हो भन्दा परमात्माबाट उपदिष्ट वेदादि ज्ञानको आलोक चराचर जगतसम्म ल्याउन गरेको तपस्यारूपी यत्न नै ऋषितत्त्व हो। यस ज्ञानरूपी तत्त्वले संसारलाई विशेष गरेर मानवलाई आलोकित पारेर संसारको कल्याण हुन्छ भन्ने भावको विकास नै ऋषितत्त्व हो भन्न सकिन्छ।

सम्पूर्ण नाशवान् भौतिक वस्तुहरू पत्नी, पति, छोरा, धन, घर, खेत आदिको समष्टि नाम संसार हो। यस्ता वस्तुहरूमा अलमलिनु पनि संसारै हो। संसार नाशवान् छ, यसर्थ यो मिथ्या हो। ज्ञानले रहित संसार अँध्यारो कुवाजस्तै हुन्छ, जहाँ फसेको व्यक्ति ज्ञानको माध्यमले मात्र मुक्त हुन सक्छ। सत् र असत् छुट्याउने कसी ज्ञान हो। ज्ञानबिना सत्य वस्तुसँग साक्षात्कार हुनै सक्दैन। संसारको खास तत्त्वको ज्ञानले मानवले मुक्ति पाउँछ तर संसारमा अलमलियो भने दुःख मात्र। यो तत्त्वको पूर्णज्ञान भएकै कारण ऋषिहरूलाई ‘ज्ञानसंसारयोः पारंगताः ’ भनिएको हो।

ऋषि–महर्षिहरूको आयु यति नै हो भनेर कल्पना गर्न सकिँदैन। उनीहरू तपस्याका बलले जति पनि बाँच्न सक्थे। बाँचुन्जेल पवित्रकर्ममा मात्र लाग्ने भएकाले उनीहरूका मन, कर्म, व्यवहार आदि सबै पवित्र हुन्थे। जसरी पवित्र जलले अपवित्र मयल नास गर्दछ त्यसैगरी पवित्र ऋषिहरूको स्मरण र पूजन गर्नाले हामी मानवका मनमस्तिष्क एवं कर्मव्यवहारमा रहेका अपवित्र मयल नास भई पवित्र बन्न सक्दछौं। पवित्र मन भएका पात्रहरूलाई हृदयमा राख्दा मात्र पनि मानिस पवित्र हुन्छ। मानिसमा यसरी पवित्र भएको मनलाई ऋषिमन भन्दछन्।

ऋषिपूजनको महत्त्व

नारी र ऋषित्व आपसमा सर्जनका दृष्टिले बराबर मानिन्छन्। नारीबिना संसारको कल्पना गर्न सकिँदैन। तर ऋषिगुण बिनाको सृष्टि संसारको बोझमात्र भइदिन्छ। मनले जुन विषयको चिन्तन गर्दछ, त्यो वस्तु एक दिन अवश्य प्राप्त हुन्छ। यसर्थ ऋषिगुण सृष्टि गर्न पनि सर्जकमा ऋषिमन हुन आवश्यक छ।

मन शुद्धिका लागि शरीरसमेत शुद्ध हुनुपर्छ। यसर्थ भाद्र महिनाको शुक्लपञ्चमीमा ऐहिक एवं पारलौकिक शरीर शुद्धिका दृष्टिले अपामार्ग आदिको दतिवन गरी ३६५ पटक माटो लगाई भौतिक शरीरको शुद्धि गरिन्छ भने शुद्ध भएको शरीरले मन्त्रद्वारा ऋषिहरूको व्रत उपासना, पूजा, परिक्रमा आदि गरिन्छ। यो कार्य नारी विशेषले गर्ने गर्दछन्। तर व्रतका अधिकारी पतिपत्नी दुवै हुन्। ऋषिपञ्चमी व्रतकथाले स्त्रीलाई व्रतकर्ता देखाएको छ। त्यो भौतिक स्नानसम्म हो। वस्तुतः ऋषिपञ्चमीको पूजा पतिपत्नी भएर नै गर्नुपर्छ।

सर्जक नारीहरूको सोच चिन्तन, शुद्धताको भाव मनमा पैदा भयो भने मात्र उनीहरूको कोखबाट जन्मिएको सन्तान पनि यस्तै पवित्र ऋषिमन भएको हुनेछ भन्ने प्रतीकात्मक अर्थमा यस पूजामा नारीहरूलाई विशेष कर्ता चयन गरिएको हो। मनभित्रको विकार, उथलपुथल, नकारात्मक भावनाको अन्त्य यस पञ्चमीमा कश्यपादि सप्तऋषिहरूको पूजाबाट सम्भव हुने भएकाले नारीहरूबाट पूजा गरी एकाग्रताको प्रतीकका रूपमा ‘पाइलो नउठाई’ सातचोटि परिक्रमा पनि गर्न लगाइएको हो। शरीरशुद्धि र मन शुद्धिपछि भोजनशुद्धिका लागि खनजोत नगरी आफैं उत्पन्न भएको सामा, तिनकी आदि अन्न खाने प्रेरणाले ऋषि अन्नलाई संकेत गरेको हो। स्वादिष्ट र अतिपौष्टिक त्यागेर जे पाइन्छ त्यसैमा सन्तोष गर्ने प्रेरणा जगाउनकै लागि सामा आदि सरल अन्न ग्रहण गर्न धर्मशास्त्रमार्फत सुझाइएको हो।

ऋषिपूजा विधि

पूजाका सबै सामान ठीक पारेर दीप–कलश–गणेश पूजा गर्ने र कुश आदिले बनाएका सप्तऋषिहरूलाई चामलका थालीमा प्राणप्रतिष्ठापूर्वक स्थापना तथा ध्यान आदि गरेर पूजा सुरु गर्नुपर्छ। आवाहनपछि सप्तर्षिहरूको पूजामा ध्यान गर्ने मन्त्र–

ॐ कश्यपोsत्रिर्भरद्वाजो विश्वामित्रोsथ गौतमः।
जमदग्निर्वशिष्ठश्च साध्वी चैवाप्यरुन्धती।।
मूर्तिब्रह्मण्यदेवस्य ब्रह्मणस्तेज उत्तमम्।
सूर्यकोटिप्रतीकाशमृषिवृन्दं विचिन्तये।
ध्यानं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।

अर्घ्यं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
आचमनीयं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
पुनराचमनीयं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
पञ्चामृतं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
शुद्धोदकं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।

वस्त्रोपवस्त्रे समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
यज्ञोपवीतं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
गन्धं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
अक्षताः समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
पुष्पाणि समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
पुष्पमाला समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।

धूपं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
दीपं दर्शयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
नैवेद्यं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
फलं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
ताम्बूलं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
द्रव्यदक्षिणां समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।

(प्रदक्षिणा गर्दा भुइँबाट गोडा नहटाइकन हातमा फूल लिएर ऋषिहरूको ध्यान गर्दै सातपटक परिक्रमा गर्ने।)

प्रदक्षिणां समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
नीराजनं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
पुष्पाञ्जलिं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
नमस्कारान् समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।
क्षमापनं समर्पयामि, अरुन्धतीसहितकश्यपादिसप्तर्षिभ्यो नमः।

यसपछि अर्घ्य दिनुपर्छ। अर्घ्य दिने मन्त्र–

ॐ कश्यपोsत्रिर्भरद्वाजो विश्वामित्रोsथ गौतमः।
जमदग्निर्वशिष्ठश्च सप्तैते ऋषयः स्मृताः।
गृह्ण्वन्त्वर्घ्यं मया दत्तं तुष्टा भवन्तु मे सदा।

यसपछि पूर्णपात्र दान, दक्षिणा आदि गरेर विसर्जन गरी टीका, प्रसाद लगाउने र खनजोत नगरी आफैं उत्पादन भएको सामाजस्ता अन्नको भोजन गर्ने। व्रतीले दिउँसो नसुती ऋषिहरूको चिन्तन्त गर्दै आफ्ना सन्ततिमा कल्याणको कामना गर्ने।

हामी ऋषिहरूकै सन्तान भएकाले हाम्रो गोत्र तथा प्रवर प्रवर्तक ऋषि र हाम्रा पुर्खाहरूको सत्प्रभाव हामीमा छ। यसर्थ जनैपूर्णिमामा पुरुषहरूले उपाकर्मका माध्यमबाट र ऋषिपञ्चमीमा नारीहरूले ऋषिपूजनका माध्यमबाट ऋषिहरूको उज्ज्वल कीर्तिको अनुसरण गर्दै सनातन परम्परा र शास्त्रीय चिन्तनलाई सदा शाश्वत राख्नलाई पनि यी दिवसको महत्त्व रहेको छ।

रजस्वलाको शुद्धि र पूजामा सरिक हुने अवस्था

रजस्वला भएका नारी या कुमारीहरूले पाँच दिनपछि पूर्णरूपमा रजो निवृत्ति भएको अवस्थामा ऋषिपञ्चमीका दिन पूजा गर्न, व्रत लिन हुन्छ। पहिलो पटक रजोवती हुने कन्याहरूले चाहिँ १२ दिन भएपछि मात्र पूजा, व्रतमा सरिक हुन पाइन्छ। यस्तै, कन्याहरूले दोस्रो पटक रजस्वला भएको ७ दिनपछि पूजाआजामा सरिक हुन पाइन्छ। तेस्रो पटकदेखि पूर्णरूपमा रजोनिवृत्ति हुन्छ भने ५ दिन देखि पूजा गर्न मिल्ने धर्मशास्त्रको निर्णय परम्परा रहेको छ। ७ दिनपछि सर्वथा रजोनिवृत्ति हुने हुँदा पूजा गर्न सात दिनपछि भने रोक नरहेकाले पूजा गर्न र श्राद्धादिको कृत्य गर्न हुन्छ।


Related Posts

Comments

    तेजकुमार भट्टराई

    हजुर नमस्कार 365 भन्नु भयो।
    मैले 360 भन्ने भेटेको छु,
    यस्को ’boutमा भनदिनु है?

    Raja gosai

    god

    sangita bhandari

    Yak dam ramro sang bugaedinu vayako ma dhanyabad

    Rajesh Adhikari

    thanks

    Ganesh kumar sharma

    सरल रूपमा प्रस्तुत ज्ञाण गंगाले अन्तर आत्मालाई छोयो।

    balgopal

    yeethartha.jankari…..

    राम प्रधान

    यसप्रकारको ज्ञान-सम्बन्धि कुराहरु प्रोफेसर डा. देवमणि भट्टराईज्यूले नेपाली पात्रोको माध्यमबाट दिनुभयेकोमा धेरै धेरै बधाई दिन् चाहान्छु।

    mamata bhandari

    Jay sapta rheesi panchami

    hari

    please yesto very important jankari paiyo.thanks aloat off you

    Hari bahadur

    very important information we got about this festival.please continue.thanks


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!