No Image
नेपाली पात्रो > चाडपर्व > आमलकी एकादशी

आमलकी एकादशी

By प्रा.डा. देवमणि भट्टराई in चाडपर्व .
फ्रेवुअरी 26, 2018

फाल्गुण शुक्लपक्षको एकादशी तिथिलाई आमलकी एकादशी भन्दछन्। व्रतराज ग्रन्थमा यस एकादशी व्रतको महत्त्व दर्साइएको पौराणिक प्रसंग पाइन्छ। राजा मान्धाता र वशिष्ठ ऋषिको संवादका माध्यमले एकादशी व्रतको महिमा बताइएको छ। राजाले उत्तम व्रतको उपदेश गर्न आग्रह गरेपछि ऋषिले आमलकी एकादशीको व्रत लिन उपयुक्त हुने सुझाव दिनुभएको हो। यो व्रत सम्पूर्ण पापनाशक हुनुका साथै एक हजार गाई दान गरेतुल्य पुण्य फलदायक र मोक्षप्रदायक भएको ऋषिवचन छ। यो व्रत उपासनाले सम्पूर्ण सिद्धि प्राप्त हुने फलश्रुतिसमेत ऋषिले राजालाई बताउनुभयो।

आमलकी एकादशी – प्रसंग

मान्धाताको जिज्ञासालाई शान्त पार्दै ऋषिले हिंस्रक व्याधाको कथाप्रसंग पनि बताउनुभयो। कुनै बेला वैदिश नामको नगरमा चन्द्रवंशी चित्ररथ नामका एक राजा थिए। राज्यमा सबै धर्मपरायण थिए र कोही पनि दुःखी थिएनन्। सबैले एकादशीको विधिपूर्वक व्रत–उपासना गर्दथे। एकादशीमा स्नान गरी भगवानको पूजा, कथा श्रवण एवं हरिकीर्तन गरेरै बिताउँथे।

आमलकीको विशेष महिमा जानेका चित्ररथ राजाले आमलकी एकादशीका दिन सबै प्रजाजनलाई साथमा लिएर नदीमा गई संकल्पपूर्वक स्नान गरे। र, देवालयमा आएर कलशस्थापना गरी त्यसमाथि परशुरामको प्रतिमा विधिवत् स्थापना गरी पूजा गर्न लागे। भगवानलाई छाता, जुत्ता आदि चढाएर दीपावली गरी अमलाको पनि पूजा गरे। राजा र सबै प्रजाजनले त्यसै गरी परशुराम र अमलाको पूजा गरेर प्रार्थना गरे—

जामदग्न्य नमस्तेšस्तु रेणुकानन्दवर्धन।
आमलकी कृतच्छाय मुक्ति–भुक्ति–वरप्रद।।
प्रार्थनापछि प्रतिमा र अमलामा यस मन्त्रले अघ्र्य दिए—
धात्रि धातृसमुद्भूते सर्वपातकनाशिनि।
आमलकि नमस्तुभ्यं गृहाणार्घ्योदकं मम।।
धात्रि ब्रह्मस्वरूपासि त्वं तु रामेण पूजिता।
प्रदक्षिणाविधानेन सर्वपापहरा भव।।

यसरी पूजा, प्रार्थना एवं अर्घ्यदान गरी रात्रि जाग्राम बसिरहेका बेलामा भोक–प्यासले व्याकुल भएको एउटा व्याधा त्यहाँ आइपुग्यो। यहाँ गरेको पूजा, जागरण, भगवानको प्रतिमा आदि देखेपछि ऊ विस्मयमा पर्यो र भक्तजनको प्रेरणाले ऊ पनि त्यसैगरी जाग्राम बस्यो। बिहान उज्याले भएपछि सबैले नित्यकर्म गरी स्थापित देवताहरूको पूजा गरेर विसर्जन गरिसकेर आ–आफ्ना घरतिर लागे। व्याधाले पनि घर गएर भोजन गरी आराम गर्यो। केही दिनमा व्याधाको मृत्यु भयो। भोकप्यास सहेर अनजानमै आमलकी एकादशीको व्रत एवं संगतले रात्रि जागरण गरेको प्रभावले जयन्ती नगरको राजकुलमा व्याधाको पुनर्जन्म भई विदूरथ नामका महारथी राजा भए।

एकादश्याः प्रभावेण रात्रौ जागरणेन च ।
राज्यं प्रपेदे सुमहच्चतुरङ्गबलान्वितम्।।

यसरी एक व्याधा आमलकी एकादशी व्रतका प्रभावले पराक्रमी राजा भए। ती राजाका पुत्र वसुरथ पनि त्यस्तै पराक्रमी राजा भए। वसुरथ भगवान् विष्णुका अनन्य भक्त र गुणवान् थिए। उनले अनेकौं यज्ञहरू समेत गरेका थिए। उनै वसुरथ राजा एक दिन जंगलमा सिकार खेल्न गएका बेला बाटो बिराएर अलपत्र परे। त्यसबेला उनको पहाडी म्लेच्छहरूसँग वैरता थियो। यसर्थ उनीहरू राजा वसुरथसँग बदला लिने मौका पर्खिइरहेका थिए। अलपत्र अवस्थामा भोक–प्यासले छटपटाएका राजालाई एक्लो पाउँदा उनीहरूले घेरा हालेर आक्रमण गरे। अनेक भाला, त्रिशूललगायत शस्त्रास्त्र प्रहार गर्न थाले। तर राजालाई ती शस्त्रास्त्रले स्पर्श मात्र गरेर भुईंमा खसे, राजालाई केही गर्न सकेनन्। म्लेच्छहरूको हतियार सकिँदै गयो। उनीहरूले गरेको प्रयास विफल भएपछि म्लेच्छहरू नै भयभीत भए।

सर्वाणि शास्त्राणि समापतन्ति न वै शरीरे प्रविशन्ति तस्य।
ते चापि सर्वे हतशस्त्रसंघा म्लेच्छा बभूवुर्गतजीवदेहाः।।

डराएका म्लेच्छले राजालाई हेरेका मात्र के थिए, राजाका शरीरबाट अत्यन्त सुन्दरी एक नारी उत्पन्न भइन्। र, ती देवी म्लेच्छगणमाथि जाइलागिन् र क्षणभरमै तिनलाई विनाश गरिन्। केही क्षणअघि शत्रुको व्यूहमा फसेका राजा अहिले शत्रुहरू नै विनाश भएको लीला देखेर स्वयं आश्चर्यचकित भए। यही बेला आकाशवाणी सुनियो– केशवबाहेक अर्को शरणागतवत्सल कोही छैन। अतः वहाँको शरण नै सबैको कल्याणदायक स्थान हो।

शरणं केशवादन्यो नास्ति कोšपि द्वितीयकः।
इति श्रुत्वाकाशवाणिं विस्मयोत्फुल्ललोचनः।।

यो आकाशवाणी सुनेपछि वसुरथ आश्चर्यमा परे। उनी लामो समयसम्म राजमहलको सुखका साथ जीवित रहे।

यसरी राजा मान्धातालाई वशिष्ठ ऋषिले सुनाउनुभएको कथामृत श्रवण गरी जसले निष्काम भावले आमलकी एकादशीको व्रत गर्दछन् तिनका सम्पूर्ण भय नास भई परलोकपश्चात् वैकुण्ठलोकमा भगवानको आश्रय प्राप्त गर्दछन्। यो आमलकी एकादशीलाई रंगभरी एकादशी पनि भन्दछन्। यो होलीपर्व भन्दा ३–४ दिनअघि पर्दछ। यस एकादशीमा होली खेल्ने रङ विभिन्न देवी–देवताहरूलाई चढाएर बाँकी रहेको रङ होलीमा खेल्ने गरिन्छ। विधिपूर्वक रङको पर्व प्रारम्भ हुने भएकाले यस एकादशीलाई रंगभरी एकादशी पनि भनिएको हो।


Related Posts

Comments

    Prem Budha

    Nepali baglung

    वासुदेव सेन ठकुरी

    all is well

    शम्भु घिमिरे

    धन्यवाद गुरु पौराणिक कथा उजागर गरिएको मा आगामी दिनमा पनि यस्तै मन छुने कधा को उपेक्षा

    sanu thapa

    thanks


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!