अन्तर्राष्ट्रिय पृथ्वी दिवस
By
Nepali Patro
हरेक वर्ष अप्रिल २२मा विश्वभर अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइन्छ। यो एक विश्वव्यापी अभियान हो, जसको उद्देश्य हाम्रो वातावरणको रक्षा गर्नु र दिगो विकासलाई प्रवर्द्धन गर्नु हो। सन् २०२५ को पृथ्वी दिवसको मुख्य विषयवस्तु “हाम्रो शक्ति, हाम्रो ग्रह” रहेको छ, जसले जलवायु परिवर्तन नियन्त्रण गर्न र भविष्यलाई दिगो बनाउन नविकरणीय ऊर्जाको महत्त्वलाई उजागर गर्छ।
अन्तर्राष्ट्रिय पृथ्वी दिवसको इतिहास र यसको महत्त्व
सन् १९७० मा अमेरिकी सिनेटर गेलोर्ड नेल्सनले वातावरणीय समस्याहरूप्रति जनचेतना जगाउने उद्देश्यले अन्तर्राष्ट्रिय पृथ्वी दिवसको सुरुवात गरेका थिए। प्रारम्भमा यो एक सानो अभियानका रूपमा सुरु भए पनि आज विश्वव्यापी पहल भइसकेको छ। यस अभियानले नीति निर्माणमा प्रभाव पार्ने, वातावरणीय सचेतना बढाउने र दिगो जीवनशैली अपनाउन प्रेरित गर्ने कार्य गरिरहेको छ।
जलवायु परिवर्तन र वातावरणीय संकट: तत्कालै ध्यान दिनुपर्ने आवश्यकता
आजको समयमा विश्वले जलवायु परिवर्तन, वन विनाश, प्रदूषण र जैविक विविधताको क्षति जस्ता गम्भीर वातावरणीय समस्याहरूको सामना गरिरहेको छ। नेपाल भौगोलिक रूपमा विविधतायुक्त देश भएकाले जलवायु परिवर्तन र प्राकृतिक प्रकोपहरूको असर बढी हुन्छ। हालका वर्षहरूमा नेपालमा माटो कटान, पहिरो, बाढी, जस्ता समस्याहरू तीव्र रूपमा बढिरहेका छन्, जसले गर्दा लाखौँ नेपालीको जीवन र जीविकोपार्जनलाई गम्भीर असर पुर्याइरहेको छ।
यस चुनौतीको समाधान गर्न सरकार, संघसंस्था र आम नागरिक सबैले मिलेर कार्बन उत्सर्जन घटाउने, प्राकृतिक स्रोतसाधनको संरक्षण गर्ने, र वातावरणमैत्री उपायहरू लागू गर्ने आवश्यक छ।
हरेक दिन वातावरणका लागि प्रतिबद्धता
हामीलाई वातावरण जोगाउने जिम्मेवारी सम्झाउने एउटा महत्त्वपूर्ण अवसर पृथ्वी दिवस हो। तर, दिगो भविष्यका लागि हरेक दिन सचेत भई सानो-सानो परिवर्तन ल्याउनु जरुरी छ। ऊर्जा बचत गर्ने, वातावरणमैत्री उत्पादनहरू प्रयोग गर्ने, र वातावरण संरक्षण’bout जनचेतना फैलाउने जस्ता निरन्तर प्रयासहरूले दीर्घकालीन रूपमा ठूलो प्रभाव पार्न सक्छ।
यस वर्षको पृथ्वी दिवसमा, हामी सबैले भविष्यका पुस्ताहरूका लागि हाम्रो ग्रहलाई जोगाउने, सुधार्ने र दिगो बनाउने संकल्प गरौँ।