
अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस
By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in अन्तराष्ट्रिय दिवस .अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस: भ्रष्टाचार भन्ने बित्तिकै साधारण व्यक्ति हरूको विचार र नजरमा नकारात्मक ऊर्जाको सृजना हुने गर्दछ किनकि भ्रष्टाचारले आर्थिक उन्नतिलाई धराशायी बनाउँछ र शासन व्यवस्थालाई कमजोर तुल्याउँदछ । भ्रष्टाचार भनेको कुनै पनि सरकारी निकाय वा निजी कार्यालयहरूमा सेवा प्राप्त गर्न कानुन र नियम अनुसार सेवाको किसिम प्रकार अनुसार तिर्नुपर्ने दस्तुर तिरेर पनि सेवा प्रदायकले गैर कानुनी रूपमा सेवाग्राही सँग काम गरिदिए बापत अनैतिक रूपमा रकम लिने कार्य नै भ्रष्ट्राचारको एक उदाहरण को रूपमा लिन सकिन्छ। भ्रष्टाचार चाहे सानो रकम लिने कार्य होस् वा धेरै ठुलो रकम लिने कार्य होस् जुनसुकै भए पनि नियम बाहिर गएर अनैतिक रूपमा रकम असुल्ने कार्य दण्डनीय नै हुन्छ।
अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस हरेक वर्षको डिसेम्बर ९ मा संसारभरि भ्रष्टाचारको विरुद्ध चेतना विकास गर्न र त्यसको विरुद्ध को आवाजलाई सबै सामु पुर्याउन यो दिवस मनाउने गरिन्छ । सन् २००५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आजको दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको थियो त्यसपछि हरेक वर्ष यस दिन अन्तरास्ट्रिय रूपमै भ्रष्टाचार विरुद्ध दिवस मनाउने गरिन्छ ।
अहिलेको समयमा भ्रष्ट्राचार संसारभरि एक विकराल तथा साझा समस्याको रूपमा प्रस्तुत भइरहेको कुरा सबै लाई थाहा भएकै कुरा हो। यो एउटा ठुलो सामाजिक चुनौती हो र यसको प्रभावले समाजमा आर्थिक, राजनैतिक तथा वैचारिक पृष्ठभूमिलाई नकारात्मक असर पार्दै गइरहेको कुरालाई नकार्न सकिँदैन । अहिलेको समयमा मानिसहरूमा बढी भन्दा बढी, र आफ्नो आवश्यकता भन्दा पनि बढी धन, द्रव्य कमाउने लालसा, विलासिताको जीवन जिउने चाहाना, मानवमा हुनुपर्ने नैतिकताको कमी, छिटो र छोटो तर गैर कानुनी बाटाहरू अपनाएर धनी बन्ने चाहना जुन केही समय अघि देखि एक चलनको रूपमा विकास भएको छ त्यसले गर्दा भ्रष्टाचारले संसारभरि जरा गाडिसकेको छ ।
आजको दिन संसारभरि अन्तरास्ट्रिय स्तरमै सबै क्षेत्रमा सेवा प्रदान गर्ने व्यक्तिका साथै हरेक सेवा प्रदायक हरू तथा सामान्य व्यक्ति हरूलाई समेत भ्रष्टाचारको विरुद्ध चेतना वृद्धि गर्ने र त्यसको विरुद्ध जागरण बढाउने कार्यमा केन्द्रित रहेर यो दिन मनाउने गरिन्छ । भ्रष्ट्राचारलाई सम्पूर्ण रूपमा निर्मूल गर्न समय लाग्ने भए पनि मानिसहरूमा नैतिकता, मानवता, तथा लोभ, लालसा बिनाको साधारण जीवनशैली तर उच्च बिचार को विशेषताको महत्त्व जगाउन सकेको खण्डमा अवश्य पनि भ्रष्टाचार जस्तो कुरीतिमा कमी ल्याउन सकिने कुरामा दुई मत छैन। भ्रष्ट्राचार कम गर्नको लागी चेतनाको विकाशको साथै भ्रष्टाचारीहरूलाई कडा भन्दा कडा कारबाही गरेर हरेक व्यक्ति लाई भ्रष्ट्राचार गर्नु दण्डनीय अपराध हो भन्ने सन्देश दिन सकेको खण्डमा आगामी दिनहरूमा भ्रष्टाचारलाई न्यून गर्दै समूल विकासको बाटो तर्फ अघि बढ्न अवश्य पनि सकिन्छ । नेपालको सन्दर्भमा कुनै पनि संस्था वा राज्यका विभिन्न ओहदामा रहेका व्यक्तिहरूले आफ्नो अधिकारको दुरुपयोग गरेको खण्डमा त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्न संवैधानिक निकायको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन पनि गरिएको छ । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस
विभिन्न देशका सरकारहरू, निजी क्षेत्र, गैर-सरकारी सङ्गठनहरू, मिडिया र विश्वभरिका नागरिकहरू समेत यो अपराध विरुद्ध लड्न हातेमालो गर्दै भ्रष्ट्राचार विरुद्धको लडाइँमा सामेल भइरहेका छन्। संयुक्त राष्ट्र सङ्घको विकास कार्यक्रम (युएनडिपी) र लागू औषधि तथा अपराध सम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्यालय (यूएनओडीसी) यी प्रयासहरूको अग्रणी स्थानमा रहेको छ।
हरेक व्यक्ति दिवा स्वप्न, ठुला ठुला सपना, पैसा सुख सयलबाट ग्रसित नभईकन सुखी र आफ्नो मेहनतको पसिना बाट सक्दो इमानदारीको कमाई बाट जीवन बाच्न हामी हरेक व्यक्तिले सिक्न जरुरी छ। राज्यको हरेक व्यक्तिले आफूले इमानदारीका साथ कमाएको सम्पत्तिको कर सरकारलाई तिर्ने र त्यसको पैरवी गर्ने पनि हामी हरेक नागरिकको अधिकार मात्रै नभएर हाम्रो दायित्व पनि हुन् आउँछ । भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउनु छिटो र छोटो उन्नतिको बाटो त हो, तर यसरी कमाएको सम्पत्तिले मानसिकका साथै शारीरिक सुख अवश्य पनि दिँदैन। त्यसरी कमाएको वा भनौँ लुटेको सम्पत्तिले आफूलाई मात्र नभई परिवार र सन्तानलाई समेत पनि अवश्य नै पिरोल्छ।
हो, हामीले आफैले दुख गरेर आर्जेको कमाएको सम्पत्तिको कर तिरेर, सरकारमा चुनेर पठाएका व्यक्तिहरू र सरकारी संयन्त्रहरू हाम्रै पसिनाको तलब खाने कर्मचारीहरूले नै सहज काम कारबाही का लागि समेत पनि घुमाई फिराई दुःख दिने गर्दा, राज्यप्रति र साथ साथै आफूले तिरेको कर किन के का लागी तिरेछु भनी दिक्क लाग्नू स्वाभाविक पनि छ। जब पारदर्शिता र सुशासनको प्रत्याभूतिमा कमी आउँछ तब प्रजातन्त्रप्रतिको विश्वासको धरातल पनि धमिलिन्छ । हामी आफैले चुनाव जिताएर पठाएका जन प्रतिनिधि हरू नै राज्य कोषको र व्यक्तिगत सुविधाको चरम दुरुपयोग गर्ने देखि लिएर भ्रष्टाचार गर्छन् तब हामी आम व्यक्ति जनताहरूको चुनाव, राज्य र संसदीय व्यवस्थाप्रति अविश्वास र वितृष्णा बढ्दै जानेछ । तसर्थ सबै नागरिक सचेत भएर घुस दिने अथवा लिने जस्ता कार्य हरू नगरी भ्रष्टाचार लाई निर्मूल गर्ने सोच र काम कारबाही गर्नु नै आजको आवश्यकता हो। अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस
ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गरेको भ्रष्टाचार धारणा सूचकाङ्क विश्वभरको भ्रष्टाचारको उत्कृष्ट तथ्यांक मध्ये को एक हो। यस प्रतिवेदनमा, सार्वजनिक क्षेत्रको भ्रष्टाचारको कथित स्तरको आधारमा १८० देशहरूलाई क्रमबद्ध गरिएको थियो र १०० अंकहरू मध्ये बाट १ -१ अंक दिइएको थियो। सबैभन्दा बढी अंक ल्याउने राष्ट्रलाई सबैभन्दा कम भ्रष्ट मानिएको छ। यस लेखमा उल्लेख गरिएको अंकहरू ति देशहरुको २०२० अङ्क वा रैंकिंग हो। सूचीको शीर्षमा न्युजिल्यान्ड र डेनमार्क छन्, जसमा दुवै देशले १०० मध्ये ८८ अंक पाएका छन्। फिनल्यान्ड, स्विट्जरल्याण्ड, स्विडेन र सिंगापुरले ८५ अंक पाएका छन्। सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा नर्वे,नेदरल्याण्ड,लक्जमबर्ग र जर्मनी रहेका छन्। यी डाटा https://worldpopulationreview.com बाट लिइएको हो।
१९९५ को सुरुमा सुरु भएको, CPI ले भ्रष्टाचारलाई "निजी लाभको लागि सार्वजनिक शक्तिको दुरुपयोग" भनेर परिभाषित गरेको छ। २०२० सीपीआई (भ्रष्टाचार धारणा सूचांक) ले जनवरी २०२१ मा एक प्रतिवेदन जारी गर्यो। उक्त प्रतिवेदन अनुसार १८० देशहरू ० देखि १०० सम्मको मापनमा परेका छन्। जति कम अंक प्राप्त हुन्छ, त्यो देश उति धेरै भ्रष्ट देश मानिन्छ। विश्वका शीर्ष १० भ्रष्ट देशहरू यस प्रकार छन्: सोमालिया, दक्षिण सुडान, सिरिया, भेनेजुएला, यमन, इक्वेटोरियल गिनी, सुडान, लिबिया र डेमोक्रेटिक गणतन्त्र कंगो। सबै तथ्याँक हरू https://worldpopulationreview.com बाट लिइएको हो।
गणतन्त्र नेपालको संविधान २०७२ को भाग २१ अन्तर्गत धारा २३८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन सम्बन्धी व्यवस्था गरिएको छ साथै धारा २३९ मा उक्त आयोगको काम, कर्तव्य र अधिकार’bout प्रस्ट रूपमा व्याख्या एवम् व्यवस्था गरिएको छ । उक्त व्यवस्था अनुसार कुनै पनि सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको खण्डमा अख्तियारको दुरुपयोग आयोगमा उजुरी परेको खण्डमा, उक्त व्यक्ति माथि अनुसन्धान हुने र दोषी भेटिएमा आयोगले कानुन बमोजिम अनुसन्धान गर्न र गराउन सक्नेछ जुन भ्रष्टाचार उन्मुलन गरी सुशासन को बाटोमा अग्रसर गर्ने राम्रो कार्य हो ।
भ्रष्टाचार उन्मुलन गरी सुशासनको बाटोमा कानुनमा उल्लेखित प्रावधान भित्र रहेर हामी सबै भ्रष्टाचारविरुद्धको लडाइँमा अग्रसर हुनु आजको आवश्यकता हो। मान्छेलाई उसको गुण, बिचार, नैतिकता तथा शिक्षा जस्ता अन्तर्निहित गुणको आधारमा मूल्याङ्कन गर्ने न कि व्यक्ति विशेषको घर, गाडी इत्यादि को आधारमा मूल्याङ्कन गर्ने बानी हामी सबैले विकास गर्नु जरुरी छ । हामी सबै भ्रष्टाचार विरुद्धको अभियानमा लाग्नु आजको आवश्यकता हो भने त्यस विरुद्ध मा लागेका अभियन्ताहरू तथा सङ्घ संस्था हरूलाई भ्रष्ट्राचार विरुद्ध जरैदेखि उखेल्न हामी सबै अघि बढौँ हातेमालो गरौँ र घूस खोरी, भ्रष्टाचार जस्ता कुरीति लाई जरैदेखि उखेली नयाँ पुस्ताका लागी उज्ज्वल भविष्य र स्वछ देश बनाउने प्रण गरौँ । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस
नेपाली पात्रो भ्रष्टाचार विरुद्ध आवाज उठाउदै नेपाल लगायत अन्तराष्ट्रिय स्तर मै भ्रष्टाचार पूर्ण रूपमा उन्मुलन भई जताततै सुशासनको सासन लागु होस् भन्दै सम्पुर्ण संसारलाई भ्रष्टाचार विरुद्ध लाग्न अनुरोध गर्दै सत्कर्म गर्ने प्रेरणा दिन चाहन्छौ । धर्मो रक्षति रक्षित|||
साभार : इन्टरनेटमा रहेका विभिन्न वेब पत्रिका हरू बाट तथ्याँग्क तथा केही जानकारी उधारो लिई तयार गरिएको।
जनवरी 1, 2022 8 महिनाहरु
Assam